तारको थेगिनसक्नु भार : यो काठमाडौं कि तारमाडौं

 जेठ ३१, २०७५ बिहिबार १५:३६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौं उपत्यकामा धेरै कुरा भद्रगोल छन् जसले शहर कुरुप बनाएको छ ।

शहरलाई कुरुप बनाइरहेका धेरै कुरा मध्येको एक हो जथाभावी टाँङिएका तार । जतासुकै लत्रिएका र गुजुल्टिएका तारले काठमाडौलाई कुरुप बनाइरहेका छन् । कुरुप मात्र होइन, दुर्घटनाको जोखिम पनि बढाइरहेका छन् । कथाहरुमा बर्णन गरिएका शिवजीका जटाझैं बेरिएका तारका गुजुल्टाले काठमाडौं तारमाडौं जस्तो बनेको छ ।

मन्दिरका गजुर, आँखिझ्याल र टुँडाल मात्र होइन घरकै भित्ता र झ्यालढोका पनि तारले ढाकिएका वा छेकिएका छन् । रङरोगन लगाएर चिटिक्क पारेका घरलाई पनि असरल्ल तारले गिज्याइरहेको जस्तो लाग्छ । कतै टेलिफोनका त कतै इन्टरनेट र केवल टीभी प्रदायकका तार माकुराको जालो जस्तै हुँदा पनि यसको व्यवस्थापन गर्न भने कसैले चासो देखाएको पाइँदैन ।

कुपण्डोलमा रहेको कानदेवताको तामाको मन्दिर र छेवैमा बिजुलीको ट्रान्समिटर पनि छ । मन्दिरको छत र ट्रान्सिमिटर छुनै लागेको छ । तामाको पाता रहेको छानो कै छेउबाट तार लैजाँदा र ट्रान्सफर्मर बनाउँदा त्यसले बढाउने जोखिमबारे विद्युत प्राधिकरणका कर्मचारीले वेवास्ता गरेको सजिलै देख्न सकिन्छ ।

 

यतिमात्र नभएर कुरुप तारहरुको संरचनाले उपत्यका घुम्न आउने पर्यटकमा पनि खिन्नता पैदा गर्ने गरेको छ । विगत दश वर्षदेखि उपत्यका क्षेत्रमा पथ पदर्शकको काम गर्दै आएका पर्यटन ब्यवसायी कुमार लामाका अनुसार पर्यटकले काठमाडौमा विभिन्न मन्दिरलगायत संरचनाको फोटो खिच्दा तारको गुजुल्टोका कारण दिक्क मान्ने गरेका छन् ।

केही समय पहिला काठमाडौंकै कालोपुल क्षेत्रमा बिजुलीको खम्बामा ठोकिएर यात्रुवाहक बस दुर्घटना भएको थियो । बेला बेलामा तार छोइएर आगो लाग्ने गरेको पनि छ । यसरी, बिजुलीका खम्बा अव्यवस्थित हुदा र बिच सडकमा लत्रेका तारका कारण गाडी दुर्घटना हुने जोखिम बढीरहेको छ तर यसबारे काठमाडौँ महानगरपालिका तथा ट्राफिक प्रहरीमा तारमा अल्झेर नै दुर्घटना भएकोबारे यकिन तथ्यांक भने छैन ।

कुन उपभोक्ताको तार कुन हो भनेर ठम्याउन समेत धौधौ पर्ने गरी तानिएका खुल्ला र गञ्जागोल तारमा अल्झेर चरा त मर्ने गरेका छन्, भने तार मर्मत गर्न जाने विद्युत तथा टेलिकमका कर्मचारीलाई पनि जोखिम हुने गरेको छ । 

व्यवस्थापनबारे के हुँदैछ 

काठमाडौ महानगरपालिकाले जथाभावी टाँगिएका तार व्यवस्थापन गर्न काम भइरहेको बताउने गरेको छ । गएको एक वर्षमा इन्टरनेटका काटिएका ४० ट्रक तार व्यवस्थापन गरेको काठमाडौं महानगरपालिकाका वातावरणीय विभाग प्रमुख हरिबहादुर कुवँरले बताउनुभयो ।

फाइबरका तारहरुको लिलाम बिक्री नहुँदा व्यवस्थापनमा अझै समस्या भएको उहाँले बताउनुभयो । बेलाबेला बाटोमा लत्रेका तारहरु काटेर  सरकारको ध्यानाकर्षण गर्ने गरेको पनि उहाँको भनाई छ ।

तार सञ्जालमा ल्याइएका जम्मा तारमध्ये टेलिकमको तार २० प्रतिशत रहेको र त्यसलाई पनि बिजुलीकै खम्बमा टाँगेर तार व्यवस्थापनमा केही भएपनि योगदान गर्ने योजना रहोको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो तार भूमिगत गर्ने योजना अन्तर्गत अहिले त्रिपुरेश्वरदेखि कलंकीसम्म काम भइरहेको र विस्तारै सरकारको योजना अनुरुप चरणबद्ध काम हुने उहाँले बताउनुभयो ।

 

तार व्यवस्थापनका लागि विद्युत, भौतिक प्राधिकरण, नेपाल दूरसञ्चार आदि सबैको सहकार्यको जरुरत पर्ने भए पनि त्यसो हुन सकेको छैन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सहायक प्रवक्ता संगिता ओझाले पनि सडक व्यवस्थापन नभएसम्म तार व्यवस्थापनको काम गाह्रो हुने बताउनुभयो । तत्कालका लागि इन्टरनेट, केवल, विद्युत के को तार हो तार चिन्न लोगो राख्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

शहरी विकास व्यवस्थापनका जानकार भूषण तुलाधर भने आफ्नै घरबाट तार व्यवस्थापन गर्न सकिने बताउनुहुन्छ । चाहिने भन्दा बढी तार घर तथा खम्बामा नराख्ने तथा राख्न पनि नदिने गरेमा यस्तो भद्रगोल कम हुने उहाँको भनाई छ ।

‘देश विस्तारै प्रविधिमा अघि बढ्दै छ, इन्टरनेटका फाइबर तारलाई वायरलेस प्रविधिले विस्थापन गरेपछि तारको यस्तो भद्रगोल अवस्था देखिँदैन कि ?’ उहाँको आशा छ । 

भिडियाे हेर्नुहाेस् :

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया