मेघालयको कोइला खानीमा बाढी पस्यो : १३ जना मजदुर बेपत्ता, सबैको ज्यान गएको आशंका

 मंसिर २८, २०७५ शुक्रबार १४:३१:५५ | एजेन्सी

भारतको उत्तरपूर्वी राज्य मेघालयमा रहेको एक अवैध कोइला खानीमा बाढी पस्दा झण्डै १३ जना कामदार बेपत्ता भएका छन् ।

पूर्वी जैनतिया पहाडको लुमथारी गाउँमा अवैध रुपमा संचालन हुँदै आएको खानीको साँघुरो सुरुङमा बाढी पसेको र खानीभित्र रहेका कामदारहरु भित्रै थुनिएकोले सबैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ । 

खानी बाहिर रहेका अरु कामदारहरुले पानी फाल्ने प्रयास गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खानीमा बेपत्ता भएकाहरुको खोजी र उद्धार जारी रहेको स्थानीय प्रहरी अधिकारी लेथिन्द्रा सङ्गमाले जानकारी दिनुभयो । 

कोइला खानीमा फसिरहेका १३ जनाकै परिचय खुलेको छ । १३ जनामध्ये चार जना आसामका नागरिक रहेका छन् । ६ जना वेस्ट गारो हिल्स डिस्ट्रिक्टका छन् भने तीन जना स्थानीय नागरिक रहेका छन् । 

मेघालयका विभिन्न कोइला खानीमा नेपाली मजदुरसमेत काम गर्ने गरेका छन् । कोइला खानीको काम निकै जोखिमपूर्ण समेत हुने गरेको छ । 

भारतको एक अदालतले सन् २०१४ पछि यो इलाकामा कोइला खानी खोल्न प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाइएपनि अवैध रुपमा अव्यवस्थित कोइला खानी सञ्चालन हुने क्रम नरोकिएको  सरकारी अधिकारीहरुले बताएका छन् ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया