अन्तर्राष्ट्रिय महोत्सवमा भाग लिएको नाटक ‘उपियाँको निबन्ध’ मण्डलामा

 मंसिर २८, २०७५ शुक्रबार १५:२:२७ | उज्यालो सहकर्मी

काठमाडौं – हालसालै भारतको कोलकाता अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी भएर आएको नाटक ‘उपियाँको निबन्ध’ मण्डला नाटकघर अनामनगरमा मञ्चन भइरहेको छ । 

केदार श्रेष्ठको लेखन, परिकल्पना रहेको नाटक मंसिर २५ बाट मञ्चन भइरहेको हो । यसपटक यस नाटकले ४१ औँ मञ्चनबाट मण्डलामा सुरु भएको नाटक पुस ३ सम्म हरेक दिन १२ बजे र ५ बजे मञ्चन हुनेछ । कोलकाता महोत्सवसँगै राष्ट्रिय बालनाटक महोत्सव, बालनाटक मेला र दुई वर्षअघि थिएटर मलमा नियमित मञ्च गरी ४० पटक मञ्चन भइसकेको हो । 

स्कुलको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धको कथा हो नाटक ‘उपियाँको निबन्ध’ । नाटकलाई हास्यव्यङ्ग्य शैलीमा तयार पारिएको छ । 

परम्परागत शिक्षकको दबाब, आक्रोश र त्रासकाबीच एक बालकले अवोध रुपमा गरेको चतुर्याईंलाई बालमनोविज्ञानको ऐनामार्फत देख्ने प्रयत्न नाटकमा हेर्न सकिन्छ । यस नाटकको मूल समस्या र समाधान भनेकै बालकको निर्दोष चतुर्यार्इँपछि शिक्षकको प्रतिक्रिया हो ।

कुनै एक निश्चित स्कुल र परिवेश, निश्चित पात्रमाथि नभई समग्रताको प्रतिनिधित्व गर्दै नाटकले समग्रताको कथा बोलेको छ ।  गम्भीर र जटिल विषयवस्तुमाथि सहज प्रस्तुतिमा ढाल्दै नाटकले हसाउँछ तर हसाउँदा हसाउँदै र हाँस्दाहाँस्दै विषयको गम्भीरतामा सोच्न बाध्य बनाउँछ ।

दिनमा दुई शो भइरहेको नाटक दिउँसोको शोहरु स्कुलले बुकिङ गरिरहेको र बेलुकी ५ अन्य दर्शकको लागि नियमित मञ्चन भइरहेको छ । प्रेरणा विद्याश्रम हरिसिद्धिले थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको सहकार्यमा यस नाटक प्रस्तुत गरेको हो ।

नाटकमा प्रस्तुतकर्ता प्रेरणा विद्याश्रम हरिसिद्धि ललितपुरका विद्यार्थीहरु योगेश महर्जन, निर्देश केसी, आयुश महर्जन, एलेक्स महर्जन, दिया महर्जन, कीर्ति महर्जन, सर्जिला महर्जन, अदिन महर्जन, लुमन्ति महर्जन, जब्बु महर्जन, कृष्णा महर्जन, रोनिक महर्जन र जल्लु लिम्बुले अभिनय गरेका छन् ।


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया