विद्यालयमा स्यानिटरी प्याडको व्यवस्था, महिनावारी हुँदा अब किशाेरीहरु गयल हुँदैनन्

 मंसिर २८, २०७५ शुक्रबार १७:१८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – ‘महिनावारी हुँदा विद्यालयमा प्राय पढाइ छुट्थ्यो । अहिले विद्यालयले स्यानिटरी प्याडको व्यवस्थापनपछि धेरै सहज भएको छ,’ वीरेन्द्रनगर नगरपालिका–१२, को अमर ज्योति नमुना माध्यमिक विद्यालयमा कक्षा–९, मा पढ्ने सावित्रा पौडेललले भनिन्, ‘अहिले महिनावारी भएपनि पढाइलाई निरन्तरता दिएको छु ।’ 

विद्यालयमा स्यानिटरी प्याडको व्यवस्थापनपछि उनीजस्तै धेरै बालिकाहरुलाई सहज भएको छ । महिनावारी हुँदा छात्राहरु विद्यालय नआउने भएपछि केही विद्यालयले यसैगरी सेनेटरी प्याडको व्यवस्था गर्ने गरेका छन्  । 

यसबाट बालिकाहरुलाई महिनावारी हुँदा कक्षा छोडेर घर जानुपर्ने बाध्यता हटेको छ । सुर्खेतका प्राय विद्यालयहरुले छात्राहरुका लागि सेनिटरी प्याडको व्यवस्थापन गर्ने गरेका छन् । 

स्यानिटरी प्याडको व्यवस्थापनपछि बीचमै कक्षा छोडेर घर जानुपर्ने बाध्यता हटेको बताउँहुन्छ, वीरेन्द्रनगर–६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने किरण थापा ।

‘विद्यालयले स्यानिटरी प्याडको व्यवस्थापन गरेका छ । पहिला महिनावारी हुँदा कपडामा लाग्ने, बेन्चमा लाग्ने हुन्थ्यो’ उनले भनिन्, ‘अहिले घर जाँदैनौँ । शिक्षकसँग मागेपछि दिनुहुन्छ । घर जानुपर्दैन ।’ 

कर्णालीका केही ठाउँमा अझै छाउपडी प्रथा कायमै छ । बालिकाहरु महिनावारी हुँदा विद्यालय समेत जाँदैनन्  । तर पछिल्लो समय सुर्खेतमा विद्यालयहरुले महिनावारी हुँदा प्रयोेग गरिने सेनटरी प्याडको व्यवस्था, औषधि र आराम कक्षको व्यवस्था गरेका छन् । जसले गर्दा छात्राहरु महिनावारी हुँदा विद्यालय नियमित आउने गरेका छन् ।  

वीरेन्द्रनगर–११ मा रहेको शिव माध्यमिक विद्यालयमा पनि स्यानिटरी प्याडको व्यवस्था हुन थालेपछि छात्राहरुले कक्षा छोड्नुपर्ने बाध्यता हटेको छ । विद्यालयमा महिनावारी स्वच्छतासम्बन्धी जानकारी, घरेलु प्याड बनाउने तरिका  सिकाउने गर्नाले छात्राहरुले महिनावारीलाई समान्य रुपमा लिन थालेका छन् । 
शिव माविमा विद्यार्थीहरुलाई आवश्यक परेको समयमा विश्राम गर्ने ठाउँको  व्यवस्था, छुट्टै शौचालयको व्यवस्था र कपडा फेर्ने कोठाको समेत व्यवस्था छ ।  धुलियाबिटमा विद्यार्थी आफैले नै खाजा खाने पैसा बचाएर प्याडको व्यवस्थापन गर्न थालेका छन् । 

‘केही स्यानिटरी प्याड विद्यालयले पनि व्यवस्था गर्छ ।  हामीले पनि दशबीस रुपैयाँ उठाएर प्याडको व्यवस्थापन गर्ने गरेका छौं। घरेलु प्याड बनाउने पनि सिकेका छाैं, कक्षा १० मा अध्ययनत छात्रा एलिना साहीले भनिन्, ‘पहिला पढ्दापढ्दै पढाई छोडेर जानुपथ्र्यो । अहिले सहज भएको छ । 

पहिला केटा साथीहरुले महिनावारी भएपछि जिस्काउने गर्थे । त्यो पनि कम भएको छ । उनीहरुलाई पनि महिनावारीको विषयमा जानकारी दिएपछि जिस्काउन छोडे ।’ 

‘महिनावारी भए भनेर घर जान्छु भन्दै दिनमा दुईतीन जनासम्म जान्थे । महिनावारी भएकै कारण छात्राहरु नआउन थालेपछि  प्याडको व्यवस्था गरेका हौं’ अमरज्योति माविका शिक्षक पौडेलले भन्नभयो, ‘अहिले महिनावारी भएर कक्षा छोड्ने अवस्था छैन । छात्राहरु खुलेर महिनावारी भएका बेलामा कुरा गर्ने गर्छन् ।’  

कर्णाली प्रदेशमा अझै पनि ७७ प्रतिशत किशोरीहरु छाउगोठमा बस्ने गरेका छन् । एक्सन वर्कस नेपालले सार्वजनिक गरेको अध्ययनमा छाउगोठमा बस्ने किशोरीहरुमा कक्षा ६ देखि १२ कक्षासम्म पढ्ने किशोरीहरु रहेका छन् । 

तीमध्ये २८  प्रतिशत किशोरीहरु महिनावारी भएपछि कहिल्यै पनि स्कुुल जाँदैनन् । यस्तो समस्या हटाउन सरकारी तथा गैरसरकारी संघसंस्थाहरु र  विद्यालयहरुले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिरहेका छन् । 

जिल्ला शिक्षा इकाई समिति सुर्खेतका सूचना अधिकारी भोजप्रसाद लम्सालले अहिले सुर्खेतका धेरै जसो सामुदायिक विद्यालय  र संस्थागत विद्यालयहरुमा स्यानिटरी प्याडको व्यवस्थापन गर्ने गरेको बताउनुभयो । 

‘बालिकाहरुले स्यानिटरी प्याडको व्यवस्थापन, उनीहरुलाई घरेलु समाग्री प्रयोग गरेर प्याड बनाउन सिकाउने र महिनावारी स्वच्छतासम्बन्धी जानकारी दिँदा बालिकाहरुलाई सहज भएको छ । छात्राहरु विद्यालयमा आउने गरेका छन्’ उहाँले भन्नुभयो, ‘यसका लागि विद्यालयहरुमा महिला शिक्षकहरुलाई फोकल पर्सनका रुपमा तोकिएको छ ।’


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया