सरकारी कर्मचारी र जनप्रतिनिधिकै डेरामा जिप्रका : ठूलो परिमाणमा किर्ते नागरिकता र राहदानी भेटियो

 मंसिर २८, २०७५ शुक्रबार १८:६:३९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा –  डेरामा नै जिल्ला प्रशासन कार्यालय सञ्चालन गरेर नक्कली नागरिकता, राहदानीलगायत कागजात बनाइदिने गिरोहलाई ठूलो परिमाणमा कागजातसहित प्रहरीले पक्राउ गरेको छ ।

डेरामा नागरिकता–राहदानी बनाउन जिल्ला प्रशासनकै कर्मचारी संलग्न रहेको भेटिएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय धनुषाका एक कर्मचारीलाई समेत पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका ४ बस्ने तथा जिल्ला प्रशासन कार्याय धनुषाका कार्यालय सहयोगी ४२ वर्षका महावीर मण्डल, जनकपुर उपमहानगरपालिका देउरा रुपैठा बस्ने ३१ वर्षका रोशनकुमार चौधरी, रौतहटको दुर्गाभगवती गाउँपालिका ४ घर भई जनकपुर उपमहानगरपालिका ४ बस्ने हेमन्तकुमार पाण्डे र धनुषाको औरही गाउँपालिका ५ का वडा सदस्य समेत रहेका ४९ वर्षका गंगा साह रहेकाछन् ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार पत्रकार सम्मेलन गरी सप्रमाण सार्वजनिक गरेको छ । बिहीबार दिउँसो ४ बजे जनकपुर उपमहानगरपालिका २० देउरा रुपैठाका रोशन चौधरीले डेरा लिएर बसेको कोठामा सुराकीको आधारमा खानतलासी गर्दा नक्कली नागरिकता, राहदानी, विवाह दर्ता, मृत्यु दर्ता, बसाइसराईको कागज, जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने सबै स्टाम्प, लेटरप्याड, विभिन्न व्यक्तिको तयार गरेको नागरिकता, फोटो, नागरिकता अनुसूचीको फारमलगायत बरामद भएको धनुषाका प्रहरी नायव उपरीक्षक दिपेन्द्र साहीले बताउनुभयो ।

सम्पूर्ण कागजातसहित नगद १ लाख ५३ हजार रुपैयाँ समेत उनीहरुको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि शुक्रबार जिल्ला अदालत धनुषामा सरकारी दस्तखत छाप किर्ते र नागरिकता मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

पत्रकार सम्मेलनमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले नक्कली नागरिकता, राहदानी लगायतको कागजात तयार गराउने व्यक्तिहरु समेत कारबाहीको दायरामा आउने बताउनुभयो ।

अनुसन्धानको क्रममा यस कार्यमा संलग्न जिल्ला प्रशासन कार्यालयका कर्मचारी र अन्य व्यक्तिहरु समेत पाइए कडा कारबाहीको भागिदार हुने प्रमुख जिल्ला अधिकारी कँडेलको भनाई छ ।

 

अन्तिम अपडेट: चैत १, २०८०

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया