हातमा डिग्री पासको प्रमाणपत्र, गाईभैंसी पालनमा खटिन्छन् अहोरात्र

 मंसिर २८, २०७५ शुक्रबार १९:४८:४० | श्यामशितल परियार

लमजुङ – भरिलो, हँसिलो मुहार । खाइलाग्दो ज्यान । कलकलाउँदो जोवन । सरल स्वभाव । उसैगरी जोसजाँगरले भरिएको मन । लमजुङको मध्यनेपाल नगरपालिका–७, लक्ष्मीबजारका दिव्यचन्द्र सोतीको हातमा छ, डिग्री पासको प्रमाणपत्र ।       

उहाँले अङ्ग्रेजी विषयमा स्नातकोत्तरसम्मको पढाई पूरा गर्नुभएको छ । १० वर्ष शिक्षण पेशा गरेको अनुभव छ, दिव्यसँग । उहाँ स्थानीय पश्चिम भूमि आवासीय माविमा ५ वर्ष प्रिन्सिपलको रुपमा रही काम गर्नुभयो । जनमन्दिर माविमा पनि ५ वर्ष पढाउनुभयो ।

अहिले उहाँ शिक्षण पेशा छोडेर गोठ स्याहार्दै हुनुहुन्छ । उहाँ व्यावसायिक रुपमै गाईभैँसी पालनमा होमिनुभएको छ । ‘देशमै बसी आफ्नै केही उद्यम गर्नुपर्छ’, भन्ने सोचले नै आफू व्यावसायिक कृषि कर्ममा लागेको उहाँ बताउनुहुन्छ । उहाँले २०७२ सालबाट गाईभैँसी पालनसुरु गर्नुभएको हो । 

‘१० वर्ष शिक्षण पेशा गरेँ । अहिले शिक्षण पेशा छोडेर कृषि कर्ममा लागेको छु । कृषिमा रम्न पाउँदा औधी खुशी छु,’ गाईभैँसीलाई मेशिनले काटेको पराल हाल्दै, मन्द मुस्कुराउँदै उहाँले भन्नुभयो ।  

दैनिक ६५ लिटर दूध उत्पादन: उत्पादन स्थानीय बजारमै खपत    

 

उहाँको फार्ममा अहिले १२ वटा उन्नत जातका गाई रहेका छन् । फर्ममा होलेस्टेन र जर्सी जातका गाई छन् । अहिले ८ वटा गाईले नियमित दूध दिन्छन् । फर्ममै स्थानीय जातका ४ वटा दुहुनो भैँसी पनि छन् । फर्मबाट गाईभैँसीको गरी दैनिक ६५ लिटर दूध उत्पादन हुन्छ । उत्पादित दूध स्थानीय रामबजारमै खपत हुन्छ ।       
उहाँले गाईको दूध प्रतिलिटर ८० रुपैयाँमा बेच्नुहुन्छ । भैँसीको दूध प्रतिलिटर १ सय १० रुपैयाँमा बेच्नुहुन्छ । कुनैबेला दूध बिक्री नहुँदाको समयमा उहाँले दूध संकलन गरी ‘क्रिम’ बनाउनुहुन्छ । ‘क्रिम’ प्रतिलिटर ११ सय रुपैयाँमा बिक्री हुन्छ ।      

‘कुनैबेला दूध बिकेन भने ‘क्रिम’ बनाउँछौँ । एक लिटर ‘क्रिम’ बन्न झण्डै १५ लिटर दूध आवश्यक पर्छ’, उहाँले भन्नुभयो । दूध, तरकारी बिक्रीबाट वार्षिक २ लाख बढी आम्दानी हुँदै आएको उहाँ बताउनुहुन्छ ।  

तरकारी खेती साथमा माछापालन

उहाँले ४ जनालाई पूर्ण रोजगारी दिनुभएको छ । उहाँ कामदारसंगै गाईभैँसीको स्याहारसुसारमा पनि जुट्नुहुन्छ । गाईभैँसी पालनमा मात्रै उहाँ सीमित हुनुहुन्न । उहाँले तरकारी खेती र माछापालन समेत गर्नुभएको छ । उहाँले नजिकै ७० रोपनी जग्गा भाडामा लिनुभएको छ । भाडामा लिएको जग्गामा गाईभैँसीपालन, माछापालन र तरकारी खेती विस्तार गर्ने उहाँको योजना छ । 

उहाँले १० लाखको लगानीमा यसै वर्षबाट माछापालन सुरु गर्नुभएको हो । ५ रोपनी जग्गामा ५ वटा माछा पोखरी बनाउनुभएको छ ।      
४ वटा पोखरीमा माछाका भुरा हुर्कँदै छन् । उहाँको माछापोखरीमा बिग हेड, नैनी, रहु जातका माछा रहेका छन् । उहाँले उत्पादित माछा प्रतिकेजी ५ सय रुपैयाँमा बिक्री गर्दै आउनुभएको छ ।  

एक करोड बढी लगानी गर्ने सोच  

आफ्नो कृषि व्यवसायमा हालसम्म ६० लाख बढी लगानी भइसकेको उहाँ बताउनुहुन्छ । ‘आफ्नो योजना अनुसार कृषि व्यवसाय विस्तार गर्दा झण्डै १ करोड ५ लाख खर्च हुने अनुमान छ’, २८ वर्षीय दिव्यले उज्यालो मुहार बनाउँदै भन्नुभयो, ‘वार्षिक १५ लाख आम्दानी हुने तवरले कृषिमा लगानी गरी व्यवसाय व्यवस्थित रुपमा विस्तार गर्ने लक्ष्य लिएको छु ।’        

उनै दिव्यले पोखराको चिप्लेढुंगामा ‘वेस्टर्न सप्लयार’ फेन्सी पसल समेत चलाउनुभएको छ । पढे–लेखेको भखरको ठिटो देशमै बसी कृषिमा रमेको देख्दा स्थानीय दिव्यको उद्यमको खुलेरै प्रशंसा गर्छन् । ‘दिव्यको उद्यमशीलता अरु युवाले पनि सिको गरी देशकै माटोमा उद्यम गर्न सके राम्रो हुन्थ्यो,’ उनीहरु भन्छन् ।                
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया