तेह्रथुममा प्रदेशस्तरीय कवि गोष्ठी

 मंसिर २९, २०७५ शनिबार ८:२८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तेह्रथुम – म्याङलुङ बजारमा शुक्रबार साँझ प्रदेशस्तरीय कविता साँझ तथा कवि गोष्ठी भएको छ । नेपाल लिटरेरी ग्रुप र तेह्रथुम साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भएको कविता साँझ तथा कवि गोष्ठीमा तेह्रथुम, धनकुटा, सुनसरी, मोरङ र झापाका ३० जना बढी कविहरुले कविता सुनाए । 

कार्यक्रममा धरानका कवि प्रदीप मेन्याङ्बो, दमकका कवि विराट किराँती र तेह्रथुमका कवि दीपक कट्टेलको छुट्टा–छुट्टै एकल कविता वाचन भएको थियो । कवि मेन्याङ्बो, किराँती र कट्टेलले ५–५ वटा कविता बाचन गर्नुभएको थियो । 

त्यसबाहेक खुला कवि गोष्ठीमा कवि कृष्ण बराल, मुनाराज शेर्मा, रसिक संगति, अभागी थेगुवा, सुष्मा दाहाल, प्रेम शंकर, बाटोघरे कान्छा, लक्ष्मी मिश्र, अशोक बस्नेत, प्रकाश धौलाकोटी, नारायण लुईटेल लगायतले कविता, गजल लगायत सिर्जना बाचन गरेर सुनाउनुभएको थियो । 

तेह्रथुमको म्याङलुङ नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा बोल्दै उपन्यासकार श्याम सिंगकले जिल्लाको साहित्य विकासकालागि तेह्रथुम साहित्य प्रतिष्ठानले भूमिका खेल्नुपर्ने भन्दै शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष दीपक कट्टेलको अध्यक्षतामा सम्पन्न भएको थियो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया