नुवाकोट दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २० पुग्यो

 मंसिर २९, २०७५ शनिबार ८:४५:३६ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।  दुप्चेश्वर गाउँपालिकाको शिखरवेसीको सिम्टाङबाट घ्याङफेदीको सिसिपु जाँदै गरेको बा ३ ख ३९१३ नम्बरको मिनिट्रक दुप्चेश्वर –१ घ्याङडाडामा दुर्घटना हुँदा २० जनाको ज्यान गएको हो । 

घटनास्थलमा नै १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा एक र उपचारका क्रममा थप एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार घटनामा तीन महिला र १७ जना पुरुषको मृत्यु भएको हो । 

मृतकमध्ये घटनास्थलमा ज्यान गुमाएका घ्याङफेदीका रिभल तामाङ, आइते तामाङ र शिखरवेशीका रितेश पण्डितको पहिचान भइसकेको छ । यसैगरी उपचारका लागि अस्पताल लैजाने क्रममा रामतीमा केनम तामाङको र उपचारका क्रममा शिक्षण अस्पताल काठमाडौंमा शुकराम तामाङको मृत्यु भएको दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

मिनिट्रक सडकदेखि करिब ५ सय मिटर तल तादीखोलामा खसेको प्रहरीले जनाएको छ । शिखरवेसीको सिम्टाङमा मृत्यु भएकाको आफन्तको घेवामा सहभागी भएकाहरुलाई लिएर जाँदै गरेको मिनिट्रक दुर्घटनामा परेको हो । 
    

अन्तिम अपडेट: बैशाख ४, २०८१

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया