लगानी प्रवर्द्धन सम्मेलन इलाममा आगामी पुस २० मा हुने

 मंसिर २९, २०७५ शनिबार १०:५६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम – गएको कार्तिक २५ गते गर्ने भनिएको लगानी प्रवर्द्धन सम्मेलन इलाममा आउँदो पुष २० मा आयोजना गरिने भएको छ । सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा गरिने इलाम नगरपालिकाले जनाएको छ । 

मंसिर २७ गते इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँका अनुसार, सम्मेलनको अवसरमा प्रधानमन्त्री ओलीलाई इलाम नगरपालिका र नागरिकहरुकोतर्फबाट उहाँले राष्ट्रका लागि पुर्‍याउनु भएको योगदानको उच्च कदर र सम्मान गर्दै नागरिक अभिनन्दन गर्ने निर्णय भएको छ । सम्मेलनको उद्घाटन कार्यक्रम इलामको ठूलो टुँडिखेलमा हुनेछ भने छलफल कार्यक्रम गौतम बुद्ध सभाहलमा हुनेछ ।

इलामका उत्पादन मुलक क्षेत्रमा लगानी गर्न देशका ठूला लगानीकर्ता उद्योगी एवम् व्यवसायीहरुको लगानी रहनेछ । देशभरका ४४ जना औद्योगिक घरानाका व्यवसायी एवम् नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय पदाधिकारीहरुले इलाममा व्यावसायिक लगानी गर्ने बताइएको छ  । जिल्लाका व्यवसायको क्षेत्रमा लगानी बढाउनका लागि यो सम्मेलन केन्द्रित रहनेछ ।

यसैगरी इलाम नगरपालिकाले वडा नम्बर ७ अन्तर्गत सेतीदेवी जाने बाटोदेखि पश्चिम, गोरेटोबाटो उत्तर र नगरपालिका कार्यालय भवनमाथि रहेको चौतारादेखि पूर्वक्षेत्र भित्रकोे नेपाल सरकारको नाममा रहेको इलाम चिया बगानको जग्गामा व्यवस्थित रङ्गशाला बनाउनका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारमा अनुरोध गर्ने निर्णय पनि गरेको छ । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया