तपाईँलाई कसैले पछ्याइरहेको छ ? यसो गर्नुहोस्

 मंसिर २९, २०७५ शनिबार १३:१८:२१ | पूजा गुरुङ
unn.prixa.net

बाटोमा हिँड्दा वा गाडीमा बस्दा दायाँबायाँ कतै नहेरी एकोहोरो भएर हिँड्ने गर्नुहुन्छ ? मोबाइलमा गीत पो सुन्दै हिँड्नुहुन्छ कि वा साथीसँग गफमा रम्दै हिँड्नुहुन्छ ? यताउति के हुँदैछ भन्ने बारे कत्तिको ख्याल गर्नुहुन्छ ? आ, अरुको के ख्याल गर्नु मस्ती गर्ने हो भन्ने पनि लाग्न सक्छ । 

तर बाटो हिँड्दा होस् वा कतै बस्दा के भैरहेको भन्ने थाहा पाउनुपर्छ । आफ्नो वरिपरि के भैरहेको छ भन्ने थाहा नहुँदा दुर्घटनामा पर्ने संभावना रहन्छ । त्यो गाडी दुर्घटना पनि हुन सक्छ, अरु हिंसा सम्बन्धी दुर्घटना पनि हुन सक्छ । त्यसैले हिँड्दा ख्याल गर्नुहोस्, कोही व्यक्ति तपाईको पछि लागेको त छैन ? साना कुरामा ख्याल नगर्दा पछि पछुताउनुपर्ने हुन सक्छ ।

हामी जागरुक छैनौं भने अरुले फाइदा उठाउन सक्छन् । बाटोमा हिँड्दा होस् वा गाडीमा चढ्दा वा कतै बस्दा मोबाइल वा अरु सामान चलाएर हिँड्नु हुँदैन । के भैरहेको छ भन्ने कुरा ख्याल गर्नुपर्छ । कहिलेकाहीँ बाटोमा एक्लै हिँड्दा कसैले पछ्याएको जस्तो पनि लाग्छ । तर त्यो भ्रम हो कि सत्य भनेर हामीले थाहा पाउनु आवश्यक छ । किनभने सानो कुरामा ख्याल नगर्दा लुटपाटदेखि बलात्कारसम्मका घटना हुने गरेका छन् ।

सबैभन्दा पहिला कतै बस्दा वा हिँड्दा कसैले पिछा गरेको जस्तो लाग्यो भने त्यसलाई पुष्टि गर्नुहोस् । त्यसको लागि तपाईँ छिटोछिटो हिँड्नुपर्छ । तपाईँ छिटो हिँड्दा त्यो शंका लागेको व्यक्ति पनि छिटो हिँड्यो भने तपाईँले आफ्नो बाटो बदल्न सक्नुहुन्छ । यति गर्दा उसले पनि बाटो बदल्यो भने केही हुन सक्छ । त्यसपछि आफ्नो परिवारका सदस्यसँग फोनमा म यहाँ छु वा यहाँ आउनुस् भनेर गफ गर्दा पनि तपाईँको पिछा गरिरहेको मान्छे हच्किन सक्छ । 

तर यति गर्दागर्दै पनि त्यो मान्छेले तपाईँलाई पछ्याइरह्यो भने तपाईँ दोस्रो चरणमा प्रवेश गरिहाल्नुपर्छ । दोस्रो चरणमा फनक्क फर्केर उसको मुख हेर्ने अनि ठूलो स्वरमा आँखा तरेर, रोक, स्टप, छेउमा नआइज जस्ता शब्द उच्चारण गर्ने त्यो पनि आँखा तरेर ।

हामी बाटोमा हिँड्दा होस् वा कतै बस्दा वरिपरिको ५ फिटको दूरी हाम्रो हो । त्यसैले त्यो ५ फिटमै उनीहरुलाई रोक्न सक्नुपर्छ । यसरी फनक्क फर्किएर प्रतिक्रिया जनाउँदा उसले हामीलाई पछ्याइरहेको थाहा पाइसकेँ मैले र म डराएकी छैन भन्ने कुरा थाहा हुन्छ । सँगै उसको पहिचान पनि हुन्छ । आफ्नो पहिचान खुल्ने डरले पनि त्यो व्यक्ति हिंसामा उत्रन डराउँछ । वा यति गर्दागर्दै पनि उ पछि हटेन भने हामी प्रतिकारमा उत्रनुपर्छ ।

प्रतिकारमा उत्रँदा उनीहरुको संवेदनशील अंग पहिचान गरेर हिर्काउनुपर्छ । उनीहरुको कमजोर अंगमा आक्रमण गर्न सकिन्छ । यस्तै उनीहरुको मुखमा हान्दा हत्केलाले हान्ने, मुठ्ठी बटारेर हान्दा भित्तामा लाग्यो भने घाइते बनाउन सकिन्छ ।

यस्तै मौन प्रतिकार र मौखिक आत्मरक्षाभन्दा बाहिर गएर हिंसा नै हुन लाग्यो भने हामीले दैनिक रुपमा बोक्ने गरेको सामानलाई प्रतिरक्षाको लागि प्रयोग गर्न पनि सक्छाँै । साँचो, कलम, छाता, पत्रिका आदिको प्रयोगले आफूलाई बचाउन सकिन्छ ।

यस्तै गाडीमा यात्रा गर्दा पनि हुने सम्भावित हिंसाका घटनाबाट हामी जोगिन सक्छौँ । पहिले त माथि भनिएजस्तै आफ्नो वरिपरि के भैरहेको छ भन्ने थाहा पाउनुपर्छ । सार्वजनिक गाडीमा हुने हिंसाबाट जोगिन हामी उभिँदा आफ्नो हात अलिकति खुम्चाएर बसको माथिको डण्डी समाउनुपर्छ । प्रायः हामीले सिधा हात गरेर डण्डी समाउँछौँ, तर खुम्चाएर समाउँदा अलिकति भए पनि दायरा बनाउन हामी सफल हुन्छाैँ । अर्को हात कम्मरमा राख्ने कुहिना चुच्चो हुने गरी । 

यसले हाम्रो छेउमा उभिएको व्यक्तिसँग दूरी बनाउन सहयोग गर्छ । माथिको डण्डी समाउन नसक्नेले बसको सिटमा समाउन सकिन्छ । एउटा हातले आफू पनि थामिने गरी सिटमा समाउने अर्को हात कम्मरमा राख्ने, जसकारण आफूसँगै रहेको व्यक्तिसँग दूरी बढोस् । साइड ब्याग बोक्नु राम्रो । विशेषगरी महिलाले बोल्ने झोला एउटा कुममा हुन्छ, तर एउटा कुमबाट अर्को पट्टिको कम्मरमा पुगे, त्यो राम्रो हुन्छ । 

यति गर्दा उसले हाम्रो भाव बुझेर हट्न सक्छ । तर उ पछि हटेन भने दोस्रो चरणमा जानुपर्छ । मौखिक आत्मरक्षा भनेको मौखिक रुपमा आफ्नो रक्षा गर्नु हो । बोलीको माध्यमबाट तपाईँले आफ्नो बचाउ गर्दा आक्रमक नहुने बरु हक्कीपन हुनु जरुरी छ । आक्रामक हुँदा आफैलाई घाटा हुन्छ । हक्कीपन हुँदा स्पष्ट कुरा गर्न सकिन्छ । ८० प्रतिशत कुराकानी हाउभाउकै आधारमा हुने भएकाले हाम्रो आफ्नो कुरा हाउभाउबाट राख्न सकिन्छ । आक्रामक भन्दा पनि शान्तिपूर्ण समाधान गर्ने । त्यसको लागि उसको अपमान नगर्ने, चुनौती नदिने, धम्की नदिने, थाहा नपाएजस्तो नगर्ने अनि धेरै बेइज्जत नगरी उसलाई बहिर्गमनको अवस्था सिर्जना गर्ने ।

तर जब्बरे मान्छे छ भने यति गर्दा पनि नमान्न सक्छ । अझै पनि उ पछि हटेन हिंसा हुने नै भयो भने चुप लागेर बस्नु हुँदैन ।  हामी प्रतिकार मै उत्रनु पर्छ ।सबैभन्दा पहिला त यो अवस्था आउन नदिन हामी आफैं सजक भएर हिँड्नुपर्छ । सजक हुँदाहुँदै तपाईंमाथि हिंसा हुन लाग्यो भने यी कुरा अपनाउन सकिन्छ ।

आत्मरक्षा तालिम दिने पूजा गुरुङसँग सजना तिमल्सिनाले गरेकाे कुराकानीमा आधारित । 

अन्तिम अपडेट: जेठ ३०, २०७६

तपाईको प्रतिक्रिया