एकताको सन्देश दिएर कांग्रेसले आशा जगाउनपर्छ : डाक्टर महत

 मंसिर २९, २०७५ शनिबार १४:४३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतले महासमिति बैठकले एकताको सन्देश दिन सक्नुपर्ने बताउनुभएको छ । 

शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे केन्द्रीय सदस्य महतले बिना पूर्वाग्रह आन्तरिक समीक्षा गर्दै सबैमा आशा जगाउने गरी महासमिति बैठकले एकताको संदेशसहित ठोस रणनीति बनाउन सक्नुपर्ने बताउनुभएको हो । 

प्रतिपक्षी दलको भूमिकामा पनि विगतको तुलनामा कांग्रेस निकै कमजोर अवस्थामा आइपुगेको भन्दै आत्मसमीक्षासहित विगतको गल्ती सच्याएर पार्टीलाई एकढिक्का बनाएर लैजान सक्नुपर्ने बताउनुभयो । पद र व्यक्ति तथा गुटभन्दा माथि उठेर पार्टीलाई अघि बढाउन सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

वर्तमान सरकारबाट निरास बनेकालाई आशा जगाउने गरी महासमिति बैठकले रणनीति बनाउनुपर्ने तर्क पनि उहाँले गर्नुभयो । उहाँले पुनः सत्ताको नेतृत्वमा पार्टीलाई पुर्‍याएर देशलाई सम्मुन्नत विकासको बाटोमा लैजानका लागि पार्टी भित्र पुनर्जागरणको अभियान चलाई सुदृढ र शक्तिशाली बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

गम्भीर छलफल र विचार विमर्श गरी नीतिगत निर्णय लिने सवालमा महासमिति बैठक महत्वपूर्ण फोरम भएकाले सबै देशबासीलाई आशा जगाउने अवसरको रुपमा यसको प्रयोग गरिनुपर्ने उहाँले उल्लेख गर्नुभयो  ।
 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया