अलैँची खेतीबारे बुझ्न लमजुङका किसान झापाको बिर्तामोडमा

 मंसिर २९, २०७५ शनिबार १५:७:५५ | श्यामशितल परियार
unn.prixa.net

झापा  – लमजुङ र झापाका अलैंची कृषक, व्यवसायी र कृषि प्राविधिकका बीच झापाको विर्तामोडमा अलैंचीखेती र व्यवसायका बारेमा अन्तरक्रिया भएको छ ।

अलैैँची खेती र व्यवसायमा अनियमित रुपमा भइरहेको मूल्यको उतारचढाव, उत्पादन परिमाण, बालीको गुणस्तरीयता जस्ता विषयमा सरोकारावालाबीच झापाको अन्तरक्रिया भएको हो ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैँची जोन लमजुङको वार्षिक कार्यक्रमअन्तर्गत अलैँचीका विविध पक्षको अध्ययन भ्रमणका क्रममा अन्तरक्रिया गरिएको हो । 

कार्यक्रममा सहभागीहरुले पछिल्लो समय अलैँचीको भाउ घट्दै गएको र भविष्यमा पनि बजारको स्थायित्व र मूल्यवृद्धिमा अन्यौलता देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।  अलैँचीको मूल्य उत्पादन गर्न क्षेत्र विस्तार हुँदै गएपनि गुणस्तर र ठुलो परिमाणमा उत्पादन हुन नसक्दा बजार कव्जा गर्न नसकिएको महासंघका संस्थापक अध्यक्ष राजेन्द्र घिमिरेले उल्लेख गर्नुभयो । 

‘नेपालको उत्पादन हिमाली हावापानीमा उत्पादन भएको हो । यहाँ उत्पादित अलैँची मसला मात्रै नभई आयुर्वेदिक औषधी पनि हो भन्ने सन्देशसहितको ‘ब्राण्डिङ’ गर्न नसकेकै कारण नेपालको अलैँचीको बजार पछि पर्दै गएको छ’, उहाँले भन्नुभयो ।

स्तरीय उत्पादन, ग्रेडिङ, भण्डारणदेखि बजारीकरणसम्मका प्रक्रियालाई थप व्यवस्थित बनाउन सकियो भने मात्रै पूर्वदेखि पश्चिमी पहाडसम्मका मुहार फेरिने उहाँको भनाई छ । कृषकहरुको मनोबल उकास्ने प्रयास नहुँदासम्म अलैँचीलगायतका कुनै पनि खेतीमा युवाहरु नलाग्ने र विदेसिने अवस्था रहिरहने उहाँले बताउनुभयो ।

देशका विभिन्न जिल्लाबाट अलैँची बिर्तामोडमा संकलन हुँदै गरेको तर उचित मूल्य पाउन नसक्दा बिक्री गर्न नसिकएको बिर्तामोडका महासंघका पदाधिकारी एवं निर्यातकर्ताहरुले बताए । 

अलैैँचीको बजार माथि उठ्ने नउठ्ने सवालमा निर्धारण गर्नै नसकिने अवस्था रहेको महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताउनुभयो । ‘विगतमा विभिन्न हल्ला र भ्रम फैलाएर हाम्रो अलैँचीको भाउ घटाउने र बजारमा नबिक्नेसम्मको अवस्था बन्यो’, उहाँले थप्नुभयो, ‘अझै पनि मूल्य बढ्छ भन्नै नसक्ने अवस्था छ ।’ अलैँचीको व्यापार नीति निर्माण गरेर लागु हुन नसक्दा अहिलेको अवस्थाको सामना गर्नु परेको उहाँको भनाई छ ।

त्यस अवसरमा महासंघ लमजुङका अध्यक्ष अजय तामाङले अलैँचीको बजारमा खस्किएको र विभिन्न प्राविधिक समस्याका कारण कृषकहरुबाट आलोचना खेप्नु परेको बताउनुभयो ।

कृषकले उचित मूल्य नपाउँदा विचौलियाको आरोप व्यवसायीमाथि लागेको र वास्तवमा उत्पादक कृषक र व्यवसायी दुवै पक्ष मर्कामा परेको उहाँले बताउनुभयो । ‘विगतमा धेरै मूल्यबाट एक्कासि मूल्य घट्यो, २२-२५ सयदेखि ६-७ सय रुपैयाँमा आइपुग्यो’, तामाङले भन्नुभयो, ‘तर कृषकहरुलाई किन मूल्य घट्यो, अलैैैँची किन बिक्री भएन भन्नेजस्ता विषयको जानकारी पाएनन् र उनीहरु दुःखी भए ।’ 

कार्यक्रममा अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भट्टराई, संस्थापक अध्यक्ष घिमिरे, केन्द्रीय सल्लाहकार पवनकुमार अग्रवाल, महासंघका केन्द्रीय कोषाध्यक्ष सुभाष भट्टराई, सदस्य भरत चौधरी, निमेष मित्तल, महासंघका कार्यकारी अधिकृत अनिल ढुंगाना, लमजुङका व्यवसायी, कृषक प्रतिनिधि एवं अध्यक्ष अजय तामाङ, अलैँची जोनका कृषि अधिकृत हरि मिजार, प्राविधिक सहायक सूर्यप्रसाद सेढाईं, हेमराज ढुंगानालगायतले अलैँची खेती, यसको बजारलगायतका विषयमा चर्चा गर्नुभयो । 

त्यसै क्रममा जिल्लाबाट झापा पुगेका अलैँची कृषक, व्यवसायी र कृषि प्राविधिकहरुले बिर्तामोडस्थित ठूला निर्यातकर्ताहरु निर्मल भट्टराई, ओम विमली, भरत चौधरी लगायतका अलैंची गोदामको अवलोकन पनि गरेका छन् ।

समूहले पूर्वी भेगका इलाम, पाँचथर, ताप्लेजुङ हुँदै दार्जीलिङ, सिलिगुढी, सिक्किमलगायतका भारतीय बजारको अलैँची खेती र बजारको अवस्थाबारे अध्ययन गर्ने महासंघका जिल्ला सचिव ईश्वर गुरुङले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया