सहमहामन्त्री महतले कार्यकर्तालाई भने : कम्युनिष्टबाट प्रचार गर्ने शैली सिक्नुहोस्

 मंसिर २९, २०७५ शनिबार १६:५०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले पार्टी भित्रको आपसी शत्रुतालाई अन्त्य गर्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

शनिबारदेखि काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले आ–आफूलाई शत्रु देख्ने प्रवृत्तिले कांग्रेसले पराजय भोग्नु परेको भन्दै यस्तो प्रवृतिको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो ।

एक अर्कालाई शत्रु देख्ने प्रवृतिको अन्त्य भएपछि कांग्रेस ठूलो पार्टीको रुपमा बाहिर आउने र सरकारको नेतृत्व गर्ने दाबी पनि उहाँले गर्नुभयो । एक अर्काको आलोचनामा नभई सम्पूर्ण उर्जा सरकारको खिलापमा लगाउन पनि उहाँले आब्हान गर्नुभयो ।

उहाँले कम्युनिष्टबाट प्रचार गर्न र नागरिकको बीचमा जाने शैली सिक्न कार्यकर्तालाई अनुरोध गर्नुभयो । कांग्रेसले गरेको कामको जस सत्तारुढ दलले लिने गरेको भन्दै उहाँले पार्टीको विचार र कामको जानकारी नागरिकमाझ पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

निषेध र नियन्त्रण गर्ने सरकारको शैलीविरुद्ध अर्जुन दृष्टिका साथ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । द एसिया प्यासेफिक समिटमा सरकारको सहभागिताको प्रशंग उल्लेख गर्दै उहाँले सरकारका क्रियाकलापले नेपालीहरुको सम्पूर्ण संस्कृतिक विविधताको पहिचान समाप्त हुने अवस्था श्रृजना भएको दाबी गर्नुभयो ।

सहमहामन्त्री महतले सभापति शेरबहादुर देउवाको बचाउ गर्दै देउवा नभएको भए अरु कसैले पनि निर्वाचन गराउन नसक्ने दाबी गर्नुभयो । नेताहरुले नेतृत्व नीतिअनुसार नचलेको भन्दै चर्को आलोचना गरेपछि सहमहामन्त्रीले सभापतिको क्रियाकलापको बचाउ गर्नुभएको हो ।

संविधान नै बन्न सक्दैन भन्दै गर्दा शुशिल कोइरालाको नेतृत्वमा संविधान जारी भएको र संविधान कार्यान्वयनका लागि निर्वाचन गराउने काम सभापति देउवाले गराउनु भएको भन्दै उहाँले सम्पूर्ण श्रेय कांग्रेसमा रहेको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया