पूरा भएन अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने शक्तिको सपना, ईपीएलबाटै खेलाडी करियरको अन्त्य

 मंसिर २९, २०७५ शनिबार १७:३४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले आफ्नो खेलाडी करियरबाट बिदा लिएका छन् । उनको करियरको अन्तिम प्रतियोगिता सुखद नभए पनि शक्तिले पूर्व घोषणा गरेअनुसार नै ईपीएललाइै आफ्नो करियरको अन्तिम प्रतियोगिता बनाए ।

ईपीएलमा उनको टिम पोखरा राइनोज लिग चरणबाट नै बाहिरिएपछि उनको अन्तिम प्रतियोगिता जित्ने धोको पूरा हुन सकेन । झण्डै १८ वर्षको क्रिकेट करियरमा शक्तिले नेपाललाई डिभिजन फाइभदेखि डिभिजन टूसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेले । 

नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृखंला करियरको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता बनाएका शक्तिले नेपालमा नै कुनै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने योजना बनाएका थिए । तर नेपालमा तत्काल कुनै अन्तर्राष्ट्रिय खेल हुने नदेखिएपछि शक्तिले ईपीएललाई नै अन्तिम प्रतियोगिता बनाउने निर्णय गरेका हुन् ।

सन् २००१ देखि अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने पहिलो खेलाडी पनि हुन । 

टी–२० वरीयतामा हाल ७७ औं स्थानमा रहेका शक्ति अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पनि प्रहार गरेका छन् । विश्वकप छनोटमा इटालीविरुद्धको खेलमा २००५ मा उनले एक सय ३ बलमा १०६ रन बनाएका थिए ।

सन् २००१ मा यू–१७ बाट क्रिकेट करियर सुरु गरेका शक्तिले बंगलादेशविरुद्धको एसिया कपबाट सुरुवात गरेका थिए । सन् २००२ मा उनले न्यूजिल्याण्डमा अन्डर नाइन्टिन विश्वकप खेलेका थिए । त्यसै वर्ष सिंगापुरमा भएको एसीसी ट्रफीमा उनले राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

नेपाल डिभिजन ५ देखि टी–२० विश्वकप खेल्दा र एकदिवसीय मान्यता पाउँदासम्मका सारथी शक्तिले राष्ट्रिय टिमका लागि सबै प्रेरणादायी प्रदर्शन गर्दै आएका थिए । उनले क्रिकेटमा सधैँ रहिरहने प्रण पनि गरेका छन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया