सुरक्षागार्ड ट्रान्सर्फमरमा मृत फेला

 पुस १, २०७५ आइतबार १३:५३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–७, लालपुरमा रहेको विद्युत प्राधिकरणको प्रसारण केन्द्रको ट्रान्सर्फमरमा एकजना मृत अवस्थामा फेला परेका छन् ।

नेपाल विद्युत प्राधिकरण प्रसारण ग्रिड सञ्चालन विभाग लालपुर स्टेशनमा सुरक्षा गार्डको रुपमा कार्यरत भिमदत्त नगरपालिका १९ बागफाँटाका चन्द्रदेव भट्ट ट्रान्सर्फमरमा मृत अवस्थामा फेला परेका हुन् ।

आइतबार बिहान ५ बजे कार्यालयका कर्मचारी तिलक स्वारसँगै चिया खाएर फर्किएका भट्ट केहीबेर पछि ट्रान्सर्फमरमा मृत अवस्थामा फेला परेको मालिकार्जन होटलका सञ्चालक नरेन्द्र साउदले बताउनुभयो ।

‘उनी निकै सोझा र सरल व्यक्ति थिए’, साउदले भन्नुभयो, ‘सधै बिहान ५ बजेपछि मेरो पसलमा आएर आफैँ चिया पकाएर खाएर जान्थे । आज पनि हाकिमसँगै आएर चिया खाएर गएपछि यस्तो घटना सुनियो ।’

मृतकका आफन्तले भने नियोजित रुपमा उनको हत्या गरेर ट्रान्सर्फमरमा राखेको आरोप लगाएका छन् । उनीहरुका अनुसार मृतक भट्टलाई केही दिनअघि कर्मचारीबाट मार्ने धम्की आएको थियो । 

‘उसले चारपाँच दिनअघि अफिसकै कर्मचारीले आफूलाई मार्ने षड्यन्त्रण गरेका छन् भनेको थिए’, आफूलाई मृतककी दिदी बताउने एक महिलाले भन्नुभयो, ‘हामीले त्यस्तो डर भए किन त्यही काम गर्नुपर्यो ? काम छोडे हुन्छ भनेका थियौं ।’

उहाँका अनुसार भट्टले शनिबार काम गरेपछि त्यहाँबाट छोड्ने मनस्थिति बनाएका थिए । ‘आजबाट अर्को महिना सुरु हुने भएकाले उसले काम छोड्छ भन्ने थाहा पाएपछि कर्मचारीले नै उसलाई मारेर ट्रान्सर्फमरमा राखेका हुन्’, उनले भनिन्, ‘होइन भने गेटमा चौकिदारी गर्ने मान्छे कसरी र किन ट्रान्सर्फमरमा गयो ?’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायतले आइतबार बिहान एकजना कर्मचारी विद्युतको ट्रान्सर्फमरमा मृत फेला परेको खबर पाउनासाथ अनुसन्धान सुरु गरेको बताउनुभयो ।

उहाँले मृतकका आफन्तबाट उनी सो ठाँउमा जान नसक्ने भएकाले भट्टलाई मारिएको हुन सक्ने भन्ने जानकारी दिएकाले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको समेत प्रयोग गर्ने भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया