डमरुलार्इ कसैले आक्रमण गर्याे भने बघिनी प्रतिकारमा उत्रन्छे : प्रम ओली

 पुस १, २०७५ आइतबार १५:३८:२ | उज्यालो सहकर्मी

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही बाटोमा हिँडिरहेको बताउनुभएको छ । 

पूर्व नेकपा (एमाले) निकट प्रगतिशील तथा पेशागत कानुन व्यावसायी महासंघ (पीपीएलए) र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक तथा प्रगतिशील कानुन व्यवसायी संघ(आरपीएलए)को एकीकरणलाई आइतबार पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

दुई संगठनको एकीकरणबाट नेपाल कानुन व्यावसायी संगठन (एनएलए) को गठन गरिएको छ । संगठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणि पोख्रेलसहित ४५ सदस्यीय समिति  चयन  भएको छ । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले सफलतातर्फ अघि बढिरहेको सरकारका विरुद्ध अनेक किसिमका दुस्प्रचार गरिएको बताउनुभएको छ । ‘हामी अहिले असाधारण सफलताको बिन्दुमा छौं,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘तर यो सफलताको विरुद्ध भयानक प्रचार युद्ध सञ्चालनमा छ । त्यसलाई परास्त गर्नुपर्दछ ।’

कम्युनिष्ट पार्टीले बहुमत जनताको अभिमतबाट, बहुमत प्रतिनिधिले अनुमोदन गरेर बनाएको सरकारलाई केही केहीलाई प्रिय नलाग्ने भए पनि यसले आम जनताको हितमा नै काम गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । 

‘प्रचार युद्धमा गणतन्त्रका धरोहरहरुलाई आक्रमण गरिएको छ । राष्ट्रपतिका विषयमा अनावश्यक दुस्प्रचार छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘यो कुनै व्यक्ति विशेष नभएर गणतन्त्रलाई नै धराशायी बनाउने योजनामा केन्द्रित छ ।’

गणतन्त्रविरुद्धको दुष्प्रचारविरुद्ध बोल्नु आफ्नो कर्तव्य भएको प्रधानमन्त्री ओलीको भनाइ छ । 

‘जबसम्म डमरुलाई कसैले आक्रमण गर्दैन तबसम्म बघिनी चुप लागेर बस्छे, तर जब डमरुलाई कसैले आक्रमण गर्छ बघिनी जतिसुकै ठूलो भीड भए पनि प्रतिकारमा उत्रन्छे । यो उसको धर्म नै हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘कम्युनिष्ट आन्दोलन, नेकपा र सरकारकाविरुद्ध हमला गर्नेहरुले यो कुरा हेक्का राख्नु पर्दछ ।’

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया