घरभाडा वापत आएको सबै रकम कट्टा गर्न मैले अनुरोध गरिसकेको छु : सा‌ंसद भुसाल

 पुस १, २०७५ आइतबार १८:५३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेकपा प्रतिनिधिसभा सदस्य पम्फा भुसालले पनि घरभाडावापत आफूलाई आएको रकम कट्टा गर्न अनुरोध गरिसकेको बताउनुभएको छ ।

काठमाडौंमै घर भएर पनि संसद सचिवालयबाट घरभाडा लिइरहेको सूचीमा सांसद भुसालको पनि नाम रहेको प्रचार भएपछि उहाँले घरभाडा कट्टा गर्न अनुरोध गरेको प्रेस विज्ञप्ति जारी गर्दै जानकारी दिनुभएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘काठमाडौं उपत्यकामा घर भएर भाडा लिएका सांसद्को सूचीमा मेरो समेत नाम आएकोमा म आश्चर्यमा परेको छु । संसद् सचिवालयमा मेरो घर भएको उल्लेख गरेको हुँ । संसद् सचिवालयले एकमुष्ट तलबभत्ता बैंकमा राखिदिने र त्यसको विवरण नभएका कारणले घरभाडा त्यसमा राखिएको भन्ने मलाई जानकारी पनि भएन । जानकारी पाएपछि संसद् सचिवालयमा गएर सांसद् हुँदा घरभाडा वापत आएको सबै रकम कट्टा गर्न मैले अनुरोध गरिसकेको छु ।

उहाँले आफूले घरभाडावापत भत्ता लिइरहेको आफैलाई जानकारी नभएको बताउनुभएको छ । उहाँले आफू आर्थिक रुपमा पारदर्शि भएको पनि विज्ञप्तिमार्फत स्पष्ट पार्नुभएको छ । यसअघि नेकपाका सांसद योगेश भट्टराईले पनि आफूले घरभाडावापत लिएको रकम फिर्ता गर्न अनुरोध गरेको भन्दै प्रेस विज्ञप्ति जारी गर्नुभएको थियो ।

काठमाडौंमै घर भएका सांसदले पनि संसद सचिवालयबाट घरभाडा लिइरहेको समाचार प्रकाशन भएपछि सांसदहरुको चौतर्फी विरोध भएको थियो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया