नगरवासीका गुनासो सुन्न मेयर गाउँ–गाउँमा

 पुस २, २०७५ सोमबार ७:४७:२८ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – म्याङलुङ नगरपालिकामा ‘नगरवासीसँग मेयर कार्यक्रम–२०७५’ सुरु भएको छ । नागरिकका गुनासा, समस्या र सुझाव संकलन गर्न नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फेसहितको टोली नगरपालिकाका टोल–टोलसम्म पुग्न थालेको हो । नगरपालिकाले आइतबार वडा नं. १ को कार्यालयमा वडाबासीहरुसँग छलफल गरेको छ । 

नगरवासीसँग मेयर कार्यक्रम अन्तर्गत वडा नम्बर १ ले सार्वजनिक सुनुवाई समेत गरेको छ । नगरवासीका गुनासा, जिज्ञासा र सुझाव संकलन गर्न नगरका सबै वडा र टोलस्तरसम्म पुग्न थालेको नगरप्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताउनुभयो । उहाँले नगरवासीसँग मेयर कार्यक्रम अन्तर्गत नै सबै वडामा गुनासो सुन्ने तथा सार्वजनिक सुनुवाई गर्ने कार्यक्रमसमेत आयोजना गरिएको बताउनुभयो ।

आफू र वडाका जनप्रतिनिधिलाईसमेत उपभोक्ताका अघि राखेर भएका काम, समस्या र सम्भावनाहरुका विषयमा छलफल गर्न थालिएको नगर प्रमुख तुम्बाहाम्फेको भनाइ छ । नगरको विकासका लागि नगरवासीको सहभागिता सुनिश्चित गर्न यो कार्यक्रमले सहयोग पुर्‍याउने उहाँले दाबी गर्नुभयो । 

नगरपालिकाका १० वटै वडाहरुमा एक–एक दिने सार्वजनिक सुनुवाई तथा गुनासो सुन्ने कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ । ‘जनताका चाहना असीमित छन्, ती सबै एकै पटक पुरा गर्न सकिन्न,’ उहाँले भन्नुभयोे, ‘त्यसैले नागरिकको सहभागितामा पहिले गर्नुपर्ने कामलाई प्राथमिकता दिन ‘नगरवासीसँग मेयर’ कार्यक्रम थालेको हुँ ।’ उहाँले नगरलाई भ्रष्टाचारमुक्त बनाई नमुना नगरपालिका बनाउने बताउनुभयो । सबै नागरिकलाई नगरपालिकाका गतिविधि र जनप्रतिनिधिले गरेका कामका बारेमा थाहा पाउने अधिकार छ । त्यो अधिकार यस्तै कार्यक्रमले पूरा गर्छन् । 

नगरपालिकाले थालेको नगरवासीसँग मेयर कार्यक्रमबाट आफूहरुका गुनासो राख्न सहज भएको म्याङलुङ नगरपालिका–१ का चन्द्र जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नगरको विकासका लागि हाम्रा पनि केही अवधारणा थिए, जुन खुलेर राख्न पाइयो, यो कार्यक्रमले  नगरविकासमा सर्वसाधारणको समेत सहभागिता सुनिश्चित गर्दछ ।’ 

नगरपालिकाले पुस १ गतेबाट २१ गतेसम्म वडा र टोलस्तरमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । त्यसबाहेक नगरवासीसँग प्रत्यक्ष सम्पर्कमा रहेर नगर विकासमा जनसहभागिता बढाउन कार्यक्रमले सहयोग पुर्‍याउने उद्धेश्य रहेको छ । 

८० वर्ष माथिका वृद्धवृद्धालाई आर्थिक सहायता

म्याङलुङ नगरपालिकाले ‘नगरबासीसँग मेयर’ कार्यक्रम अन्तर्गत नगर क्षेत्रका ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई चालु आर्थिक वर्षमा थप आर्थिक सहायता उपलब्ध गराएको छ । नगर क्षेत्रका ज्येष्ठ नागरिकको स्वास्थ्योपचारमा सहयोग पुर्‍याउने हेतुले ८० नाघेका ज्येष्ठ नागरिकलाई दुई हजार पाँच सय रुपैयाँका दरले थप आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको प्रमुख प्रशाशकीय अधिकृत रामप्रसाद वाग्लेले बताउनुभयो । 

नगरपालिकाले आइतबार वडा नं. १ का ४० जना ८० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई सम्मानसहित दुई हजार पाँच सय रुपैयाँ सहयोग रकम उपलब्ध गराएको छ । वडा कार्यालयमार्फत तथ्यांक संकलन गरी नगर क्षेत्रका सबै ज्येष्ठ नागरिकहरुलाई आर्थिक सहायता गर्न लागिएको नगरपालिकाका उपप्रमुख पार्वतीसानु डाँगीले बताउनुभयो । नगरपालिकाले वडा र टोलस्तरमा हुने कार्यक्रममार्फत सबै ज्येष्ठ नागरिकहरुलाई रकम वितरण गर्ने उहाँको भनाइ छ । 

यही अवसरमा ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण समेत गरिएको छ । नगरबासीसँग मेयर कार्यक्रम अन्तर्गत हुने कार्यक्रमको अवसरमा वडा र टोलस्तरमै दक्ष चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण र सहायता रकम उपलब्ध गराउन थालिएको नगरपालिकाका प्रेस सल्लाहकार भगिश्वर लिम्बुले बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया