यो पाराले कसरी होला छाउप्रथाको अन्त्य ?

 पुस २, २०७५ सोमबार १०:४४:४८ | इन्द्रसरा खड्का
unn.prixa.net

छाउप्रथाको अन्त्य गर्ने भन्दै काम गर्ने संघ संस्थाको नेपालमा कमी छैन । सुदूर र मध्यपश्चिममा रहेका छाउगोठ र त्यहाँको छाउपडीका कुरा बिकाउँदै पैसा बटुल्नेहरु प्रशस्त छन् । 

दूरका ग्रामीण अवस्थामा रहेको चलनलाई अन्त्य गर्ने भन्दै छलफल कार्यक्रम वा गोष्ठी काठमाडौंका तारे होटेलमा हुने गर्छन् । के यस्ता गतिविधिले ग्रामीण स्तरमा रहेको चलन वा प्रथाको अन्त्य होला त ? अहँ मलाई पटक्कै लाग्दैन यस्ता कार्यक्रमले छाउप्रथाको अन्त्य हुन्छ ।

समस्या भोग्ने महिला एकातिर राखेर अर्कोतिर सचेतनाका कार्यक्रम सञ्चालन गर्नाले समाधान हैन शंंकाको रुपले हेरिन्छ । कतै सुदूर र मध्यपश्चिमको छाउप्रथाको नाममा डलर पचाउने खेल त हैन ? नभए किन हजारौं संघसस्थालाई जम्मा गर्दै काठमाडौंमा यस्ता कार्यक्रम केन्द्रित हुन्छन् त ? एक पटक हैन पटक पटक यस्तै कार्यक्रम भएको देख्न र सुन्न सकिन्छ । 

हुन त अछाम, बझाङ ,बाजुरा, डोटीलगायत दूरका जिल्लामा पनि थुप्रै संघ संस्थाले काम गरिरहेका छन् । तर, परिणाम अहिलेसम्म उस्तै छ । किन वर्षौंसम्म पनि काम गर्दा यो चलनको अन्त्य हुन सकेन त ? यो विषयमा स्थानीयस्तरमै काम गर्ने संघसँस्थाले पनि केही बोल्ने आँट गर्दैन । समस्या एकातिर काम गर्ने तरिका अर्कोतिर भएर पो हो कि ?

६ जनाको परिवार बस्न २ कोठाको घर हुन्छ ।  उनीहरुलाई आफैं घरमा बस्न समस्या भइरहेको बेला महिनावारी भएकी चेलीलाई कहाँ राख्ने ? कुन घरको कुनामा राख्ने ? यो समस्या पनि बुझनुपर्ने हो कि यो क्षेत्रमा काम गर्नेहरुले । 

अर्को कुरा, छाउ भएको बेला खाना पकाउँदा, मन्दिरमा जाँदा, पूजा गर्दा केही फरक पर्दैन । भगवानका लक्ष्मीहरु के छाउ हुँदैनन् त भनेर महिला अधिकारकर्मीले सिकाउनु कत्तिको जायज कुरा हो ? कतै हामी यही सानो सानो कुरा नै बुझाउन सकिरहेका त छैनौं ?

म धेरै टाढाको कुरा गर्दिन मेरै गाउँमा पहिले घरमै बस्ने महिला हिजोआज बाहिर बस्ने गरेका छन्, किन ? साविकको षोडशादेवी गाविसको वडानम्बर ८ जो की छाउपडीगोठ मुक्त घोषणा भइसकेको छ । गाउँमा भएका छाउगोठ धमाधम भत्काउँदै गएपछि सानो घर हुनेहरु अहिले पनि छाउ हुँदा पाँल टागेर चिसा रातहरु बिताइरहेका छन् । यस्ता महिलाहरु किन पर्दैनन् यस्ता संघसंस्थाका आँखामा ?

कहाँनेर चुक्दैछन यो क्षेत्रमा काम गर्नेहरु ? मलाई राम्रोसँग थाहा छ सुदूरपश्चिमका ९ वटै जिल्लाको छाउप्रथाबारे मैलै आफैँले भोगेको कुरा पनि हो । म ठोकुवाको साथ भन्छु जुन तरिकाले अहिले छाउप्रथा विरुद्धका कार्यक्रमहरु भैरहेका छन्, यस्ता गतिविधिले यो प्रथाको अन्त्य हुँदैन ।

कुन कारणले यो प्रथाले ज्वरो गाडेको छ । यसको कारण नखोजी अर्बौं रुपैयाँ लगानी गरे पनि यसको अन्त्य हुँदैन । यो क्षेत्रमा अहिलेसम्म मात्र सुदूरपश्चिममा मात्रै कति रकम खर्च गरियो होला अनुमान गर्न पनि गाह्रो होला तर, समस्या जिउँको तिउँ नै ।

किन भयो यस्तो ? कहाँनेर चुकेका छन् यो क्षेत्रमा काम गर्ने महिला अधिकारकर्मी र संघसँस्था ? यो क्षेत्रमा कार्यक्रम गर्नेहरुले कतै केन्द्रको राजधानी, प्रदेको राजधानी र जिल्लाको सदरमुकाममा मात्रै यस्ता कार्यक्रम सीमित त गरेनन् ?

वास्तवमा यस्ता कुराहरु कसलाई सिकाउन आवश्यक छ, कसलाई बुझाउन आवश्यक छ, यतातिर पनि सोच्ने हो कि ? 

हालै काठमाडौंमा भएको एक कार्यक्रममा म पनि सहभागी थिएँ । काठमाडौंको दरबारमार्ग स्थित पाँचतारे होटेल याक एण्ड एतिमा महिनावारी सवास्थ्य व्यावस्थापनसम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन भयो । 

सम्मेलनका क्रममा होटेलको दोस्रो तलामा छाउगोठ राखिएको थियो । छाउगोठ हेर्दै फोटो खिच्नेको लहरै लागेको थियो । किन यस्तो गरिएको होला भन्ने मनमा अनेक कुराहरु दिनभरी खेलिरहे । मैले यो कुरा मनमा राख्न सकिन र सँगै बसेकोलाई सोधें किन छाउगोठ राखिएको हो बाहिर ?

उनी पनि कुनै संस्थामा आबद्ध नै हुन सायद । पश्चिमतिर यति सानो गोठमा महिला महिनावारी भएको बेला बस्छन् भनेर विदेशीहरुलाई देखाउनको लागि राखिएको हो ? उनले भनिन् ।

यदि विदेशीहरुलाई यही छाउगोठ हेर्ने धोको भए किन जाँदैनन् त छाउगोठ भएकै ठाउँमा ? रहरै भएका र साँच्चिकै महिलाको पीडा हेर्न मन छ भने जाउन् न ती विदेशीहरु पनि सुदूरपश्चिममा । देखुन् न आफ्नै आँखाले पीडा । जो किउनीहरुलाई पनि देखेरै महसुस होस् पीडाको । 

२, ४ जना विदेशीलाई अंग्रेजी ठुटाउँदै ग्रामिणस्तरको पीडा देखाएर पैसा कमाउने उदेश्य नै हो मेरो भन्नु केही छैन । यदि साँच्चै यो चलनले यहाँका छोरीचेली पीडामा छन् भन्ने भित्रदेखि नै महसुस छ भने पाँचतारे होटेलमा अंग्रेजी बोल्नुको आवश्यकता छैन । 

महिला हिंसाको अर्को रुप मानिंदै आएको छाउप्रथाबारे हाम्रै नेपाल सरकारले नीति बनाएको छ । त्यही नीति कार्यन्यवनका लागि नेपाल सरकारसँगै हातेमालो गरेर अघि बढ्यो भने मात्रै पनि यो चलन सहजै तरिकाले अन्त्य हुन्छ । 
 

अन्तिम अपडेट: असार १३, २०७६

1 Comments

  • Surender Sarki

    Dec. 22, 2018, 6:40 a.m.

    I am strongly agree with you. Many organizations or so called leaders talk about that issue but we do not find any positive alternation against discrimination with the women or other backward community. Thanks

  •  0 Reply

तपाईको प्रतिक्रिया