किन धुम्मियो आकाश ?

मौसमविद् भन्छन् – ‘ हल्का वर्षाको सम्भावना छ’

 पुस २, २०७५ सोमबार ११:५४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पुसको महिना यसै पनि जाडो । बिहानैदेखि आकाश धुम्मियो । एकछिन घाम लाग्लाजस्तो भए पनि फेरि बादलले ढाकिहाल्छ । पुसको जाडोमा घाममा बस्न खोज्नेहरु आकाशतिर हेर्दै, विरक्तिन थालेका छन् । 

मौसममा बदली भएर घामले लुकामारी गर्न थालेपछि हामीले जल तथा मौसम पूर्वानुमान महाशाखामा सोध्यौँ ‘किन आज आकाश धुम्मियो ?’

महाशाखाका मौसमविद् वरुण पौडेलले भन्नुभयो ‘बंगालको खाडी हुँदै उत्तर पश्चिमतिर फैलिरहेको सामुद्रिक आँधीको प्रभावले नेपालको मौसममा पनि प्रभाव पारेको छ । यसैको प्रभावले आज घाम लागेको छैन । पेथाई नाम दिइएको यो आँधीको प्रभावले आज बिहानैदेखि उपत्यकासहित देशका पूर्वी भागको आकाश धुम्मिएको छ ।’ मौसमविद् पौडेलका अनुसार सोमबार र मंगलबार यसको प्रभाव रहन्छ । 

सोमबार बिहान काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । सोमबार यो वर्षकै कम तापक्रम मापन गरिएको हो । आइतबार काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस थियो ।

मौसमविद् पौडेलका अनुसार सोमबार र मंगलबार दिउँसो काठमाडौंसहित देशका पहाडी भेगमा आंशिक बदली हुने सम्भावना छ ।

‘यो सामुद्रिक आँधीको अप्रत्यक्ष असर हो । अप्रत्यक्ष असर भएका कारण यसको प्रभाव धेरै रहँदैन । माैसमविद् पाैडेलले भन्नुभयाे पूर्वी पहाडी भेगमा हल्का वर्षा हुने देखिएको छ तर ठूलो पानी पर्ने सम्भावना छैन ।’ पूर्वका उच्च पहाडी र मध्यको उच्च पहाडी भेगमा भने हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया