किर्ते नागरिकता बनाइदिने तीन कर्मचारी पक्राउ, हजारौँ गैरनेपालीलाई नागरिकता बाँडेको आशंका

 पुस २, २०७५ सोमबार १३:३८:१७ | शैलेन्द्र महतो

धनुषा – धनुषामा नक्कली नागरिकता, राहदानीलगायतको किर्ते काम गर्नेमा जिल्ला प्रशासन कार्यालय धनुषाकै कर्मचारीहरुको संलग्नता भएको रहस्य खुलेको छ ।  

जनकपुर उपमहानगरपालिका –२०, रुपैठा बस्ने ३१ वर्षीय रोशन चौधरीको डेरामा गएको बिहीबार प्रहरीले खानतलासी गर्दा ठूलो परिमाणमा नक्कली नागरिकता, राहदानी, मृत्यु दर्ता, बसाइसराई प्रमाणपत्र तथा जिल्ला प्रशासनको छापसमेत बरामद गरेको थियो ।

त्यसलगत्तै रोशन चौधरी, जिल्ला प्रशासन कार्यालय धनुषाका कार्यालय सहायक जनकपुर उपमहानगरपालिका–४, बस्ने ४२ वर्षका महावीर मण्डल, रौतहटको दुर्गाभगवती गाउँपालिका –४, घर भै हाल जनकपुर उपमहानगरपालिका –४, बस्ने हेमन्तकुमार पाण्डे र धनुषाको औरही गाउँपालिका –५। का वडा सदस्य समेत रहेका ४९ वर्षका गंगा साहलाई पक्राउ गरेको गरेर गएको शुक्रबार सार्वजनिक गरेको थियो ।

उनीहरुलाई सार्वजनिक गरेको एकसाता नबित्दै त्यसै गिरोहका र नक्कली नागरिकता राहदानीलगायत बनाउनमा संलग्न रहेको आशंकामा जिल्ला प्रशासन कार्यालय धनुषाकै तीनजना कर्मचारी पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा भोला मण्डल, कार्यालय सहयोगी अरुणकुमार यादव र कार्यालय सहयोगी विरेन्द्र चौधरीलाई आइतबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी कँडेलले भन्नुभयो, ‘तीनै जना २०६३ र २०७० को नागरिकता बनाउने टोलीमा खटेका जिल्ला प्रशासन कार्यालयका कर्मचारी हुन् । नक्कली नागरिकता बनाउने घटनामा तीनैजनाको संलग्नता हुन सक्ने आशंकाको आधारमा अनुसन्धानको लागि पक्राउ गरिएको हो । ’

उहाँले यस घटनामाा सयौँ पक्राउ पर्ने समेत बताउनुभयो । नक्कली नागरिकतालगायतको किर्ते काममा संलग्न घटनाको विषयमा अनुसन्धान जारी रहेको बताउँदै उहाँले यसमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

नक्कली नागरिकता, राहदानी बनाउने गलत धन्दामा जिल्ला प्रशासन कार्यालय धनुषाकै कर्मचारीहरु धमाधम पक्राउ पर्न थालेपछि हजारौँ गैरनेपाली नागरिकलाई रकमको चलखेलमा नक्कली नागरिकता बाँडेको हुन सक्ने आशंका जन्माएको छ ।
 
२०६३ सालदेखि गैरनेपालीलाई नागरिकता बनाइदिने मास्टरमाइण्ड रोशन
 
गएको बिहीबार डेराबाट ठूलो परिमाणमा नक्कली नागरिकता, राहदानीलगायत जिल्ला प्रशासन कार्यालयको छाप, अनुसूची, नागरिकताको कपीसहित पक्राउ परेका जनकपुर उपमहानगरपालिका –२०, रुपैठाका ३१ वर्षीय रोशन चौधरी २०६३ सालदेखि नै त्यस धन्दामा संलग्न रहेको उनकै छरछिमेकहरु बताउँछन् ।

राेशन चाैधरीस्थानीयवासीका अनुसार मोटो रकम लिएर भारतीय नागरिकलाई नागरिकता बनाउनुको साथै कतै पनि वैध तरिकाले हुन नसकेको काम नागरिकता, राहदानी, सिफारिस, बसाइसराई, मृत्युदर्ता, जन्मदर्तालागायतको नक्कली काम गर्ने चौधरी प्रमुख व्यक्ति हुन् ।

चौधरीको अवैध कार्यको चलखेलमा जिल्ला प्रशासन कार्यालय धनुषाका कर्मचारीहरु समेत लामो समयदेखि संलग्न रहेको श्रोतको दावी छ । त्यसैले उनकै डेरामै जिल्ला प्रशासन कार्यालयबाट हुने अधिकांश कामकाजको कागजात र छापहरु राख्ने गरेका थिए ।  
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया