अर्थमन्त्री खतिवडाको राजीनामा माग्दै शेयर लगानीकर्ताले थाले आमरण अनसन

 पुस २, २०७५ सोमबार १५:२:३३ | उज्यालो सहकर्मी

काठमाडौं – शेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन् ।

शेयर बजार सुधार र विस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाइ नगरेपछि काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्च कार्यालयको मूल गेटमै सोमबारबाट शेयर लगानीकर्ता दबाब समूहको तर्फबाट आमरण अनसन सुरु गरिएको हो । 

शेयर लगानीकर्ताको तर्फबाट आमरण अनसन सुरु गर्नु भएका सेयर लगानीकर्ताद्वय हरि ढकाल र तिलक कोइरालाले आफूहरुको माग सम्बोधन नगरेको भन्दै अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्नु भएको छ । आफूहरुको माग सम्बोधनका लागि अर्थ मन्त्रालयद्धारा गठित उच्चस्तरीय अध्ययन समितिको कामै नभएको भन्दै ढकाल र कोइरालाले आपत्तिसमेत जनाएका छन्।

मुद्रा र पूँजी बजारमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयद्धारा गठित उच्च स्तरीय अध्ययन समितिले यसै साता प्रतिवेदन पेस गर्ने तयारी गरेको छ । तर शेयर लगानीकर्ताहरुलेसमितिले पेश गर्ने प्रतिवेदनले आफूहरुको समस्या समाधान गर्न नसक्ने दावी पनि गरेका छन ।

शेयर लगानीकर्ताहरुबाट कर असुलीमा समेत वृद्धि गरेपछि लगानीकर्ताहरु सरकारसँग आक्रोशित भएका हुन् । उनीहरुले आफूहरुको लगानीको सुरक्षा गर्न माग गर्दै सरकारलाई दवाव दिन यसअघि पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्नासहितका विरोध प्रर्दशनको कार्यक्रम गर्दै आएका छन । तर त्यसको पनि सुनुवाइ सरकारले नगरेपछि आमरण अनसनमा बस्नु परेको सेयरलगानीकर्ता कोइरालाको भनाई छ । 

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सेयर लगानीकर्ता दबाब समूहले सुरु गरेको आमरण अनसनसहितको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । 

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेता ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरुले भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको मूल गेटमै आमरण अनसन सुरु गरेका ढकाल र कोइरालासँग भेट गरी शेयर लगानीकर्ताहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउनु भएको हो । त्यस अवसरमा बोल्दै कांग्रेस नेता एवम् पूर्व अर्थमन्त्री कार्कीले वर्तमान सरकार बनेयता ओरालो लागेको शेयर बजारमा तत्काल सुधार गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले अस्थिर नीतिका कारण शेयर बजार ओरालो लागेको गम्भीर आरोप समेत लगाउनु भयो ।

कम्युनिष्ट नेतृत्वको सरकार गठन भएयता पूँजी बजार ओरालो लागेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको आरोप छ । कांगे्रस नेता कार्कीले सेयर लगानीकर्ताको माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराउनुभयो 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया