उज्यालोको समाचार प्रभाव : दुवईमा दलालले पासपोर्ट फिर्ता गरे

 पुस २, २०७५ सोमबार १८:२५:५३ | उमाकान्त पाण्डे

युएई – युएईमा नेपालीलाई जागिर लगाइदिने भन्दै पासपोर्ट कब्जा गरेर अलपत्र पार्ने दलालले एक नेपालीको राहदानी फिर्ता गरेका छन् ।

भिजिट भिसा मार्फत मानव तस्करी गर्ने गिरोहले युएई ल्याएर कुटपीट गरी दलाल भागेको खबर उज्यालोमा प्रकाशित भएपछि दलालले पासपोर्ट फिर्ता गरेको हो । 
भिसा लगाए बापत पैसा दिनुपर्ने भन्दै पासपोर्ट कब्जा गरेर राखेका सारजाहमा कार्यरत दलाल गोरखाका मिस्टर बाबु सुर्खेतीले पीडित ठाकुरप्रसाद ढकालको पास्पोर्ट आबुधाबीमा रहेको नेपाली दूतावासमा बुझाएका हुन् ।

ढकालको पास्पोर्ट डेढ महिनादेखि सुर्खेतीले कब्जा गरेर एक लाख ३० हजार रुपैयाँ दिए मात्रै फिर्ता गर्ने भन्दै आएका थिए । पासपोर्ट फिर्ता गर्न दूतावासले आग्रह गर्दा पनि सुर्खेतीले मानेका थिएनन् ।

उनलाई कारबाही गरी राहदानी फिर्ता गराउन दूतावासले सारजाह प्रशासनलाई पत्राचार गरेको र अनुसन्धान पछि कारबाही हुने खबर उज्यालोमा प्रकाशित भएपछि सुर्खेती आइतबार आफैं दूतावासमा पुगेर पासपोर्ट बुझाएका हुन् । उनले आफ्नो बारे समाचार किन लेखेको भन्दै रिस पोखेको दूतावासका कर्मचारीको भनाई छ । 

जवाफमा दूतावासले उनलाई कानुनी समस्या आउन सक्नेमा सचेत गराएको छ । सुर्खेतीलाई  आउँदा दिनमा यस्तो काम नगर्ने शर्तमा कागज गराएर छोडिएको कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलले बताउनुभयो ।      

दलालले फिर्ता गरेको राहदानी दूतावासले ठाकुरप्रसाद ढकाललाई बुझाएको छ । पासपोर्ट नहुँदा नेपाल जान समेत नपाएपछि ढकालले अलऐन अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो । मंगलबार सोही मुद्दाको सुनुवाई हुँदैछ । 

अन्तिम अपडेट: चैत २९, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया