अछामका जनप्रतिनिधिले गाडी किन्न पाएको पैसा विकास निर्माणमा खर्च गर्ने

 पुस २, २०७५ सोमबार १८:२८:४१ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछामका २ स्थानीय तह (रामारोशन र तुर्माखाँद गाउँपालिका) मा जनप्रतिनिधिले आफूहरुको यातायात सुविधाका लागि छुट्याइएको बजेट विकास निर्माणमा खर्च गर्ने भएका छन ।

जनप्रतिनिधिलाई यातायात सुविधाका लागि छुट्याइएको बजेट रामारोशन गाउँपालिकाले पर्यटन र लघुजलविद्युत तथा तुर्माखाँद गाउँपालिकाले सडक निर्माणमा खर्च गरिने भएको हो ।

रामारोशन गाउँपालिकाको दोस्रो गाउँसभाबाट सवारीसाधन खरिदका लागि विनियोजित १ करोड २५ लाख रकम रामारोशन पर्यटन क्षेत्रको विकास र पूर्वाधार निर्माणमा खर्च गर्ने भएको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउद (भास्कर) ले बताउनुभयो ।

उहाँका अनुसार १ करोड २५ लाखमध्ये ७० लाख रामारोशन पर्यटन विकासका लागि खर्च गरिने छ । अध्यक्ष साउदले भन्नुभयो, ‘पर्यटन विकासका लागि पर्यटक घर निर्माण, आधुनिक डुंगा खरिद, पर्यटकका लागि घोडा खरिद, रामारोशनका तालतलैया र मैदान तथा अन्य पर्यटन क्षेत्रको प्रचारप्रसारका कार्यक्रम गरिने छ ।’

अन्य रकम विद्युत बिस्तार हुन नसकेको वडा नम्बर २ चाफामाडौंका लागि लघुजलविद्युत निर्माण र अन्य पूर्वाधार विकासमा खर्च गरिने अध्यक्ष साउदले बताउनुभयो । आफू गाडी चढेर सुविधाभोगी हुनुभन्दा उक्त रकम जनहितका लागि विकास निर्माणमा खर्च गर्ने र गाउँपालिकालाई पर्यटकीय र नमूना बनाउने उहाँको योजना छ ।

अछामको तुर्माखाँद गाउँपालिकाले पनि सवारी साधन खरिदका लागि छुट्याइएको ६० लाख रुपैयाँ विकास निर्माणमा खर्च गर्ने भएको छ । गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले सडकको पहुँच नपुगेको वडा नम्बर १ र २ मा सडक पुर्याउनका लागि ६० लाख बजेट खर्च गरिने बताउनुभयो ।

आफूले सम्बन्धित वडामै पुगेर सबै वडामा गाडी पुग्ने नभइकन आफू गाडी नकिन्ने र छुट्याइएको रकम सडक निर्माणमा खर्च गर्ने घोषणा गरेको शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाको सबै वडामा सडक पुगेको छैन, नागरिकले विकासको अनुभूति गर्न पाएका छैनन्, म मात्रै किन करोडौंको गाडीमा चढ्ने ?’

जुनसुकै हालतमा पनि नयाँ वर्षमा वडा नम्बर १ र २ (रहफ र भुलु) मा सडक पुर्याई छाड्ने र सबै वडामा सडक पुगेपछि मात्रै गाडी खरिद गर्ने शर्माले बताउनुभयो ।
गाउँपालिका वासीलाई सडक, शिक्षा, सञ्चार र खानेपानीको सहज पहुंचमा पुर्याउनका लागि आफू निरन्तर खटिरहेको उहाँको भनाई छ ।

स्थानीय तहका जनप्रतिनिधि र सरकारका मन्त्रीहरुले करोडौंको गाडी किन्दै सुविधामुखी बनेको आरोप लागिरहेको बेला रामारोशन गाउँपालिकाका अध्यक्ष झकर साउद र तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले सवारी साधनका लागि बिनियोजित बजेट नागरिकको हितका लागि खर्च गर्ने घोषणा गरेसँगै स्थानीयवासीले उनीहरुको कामको प्रशंसा गरेका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया