भिसा ‘क्यान्सिल’ गरेर नेपाल फर्किन लागेकी डोल्माको यूएईमा उपचारको क्रममा मृत्यु

 पुस ३, २०७५ मंगलबार १४:७:५८ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – यूएईमा एक नेपाली महिलाको ज्यान गएको छ । पाँच वर्ष पहिलेदेखि आबुधाबीमा रहेको इम्कोर फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत देउराली ३ दमरा, काभ्रेकी डोल्मा तामाङको उपचारका क्रममा सोमबार निधन भएको हो ।

पत्थरीको समस्या भएर औषधी खाइरहेकी डोल्मा दुई साता अघि अस्पातल भर्ना हुनुभएको थियो । आबुधाबिक क्लिभलेन्ड क्लिनिक अस्पतालमा भर्ना भएकी डोल्माको मस्तिष्कमा समस्या देखिएपछि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।

अस्पताल भर्ना भएको दुई दिनपछि अर्ध चेत अवस्थामा रहेकी डोल्माको मस्तिष्क पक्षघात भई ज्यान गएको अस्पतालले जनाएको छ । डोल्माले कम्पनीको भिसा रद्द गरेर सधैँका लागि नेपाल फर्किन कम्पनीमा निवेदन समेत दिनुभएको कम्पनीले जनाएको छ ।

कम्पनीले बिरामीको रेखदेख गर्न नेपाली दूतावासको समन्वयमा नेपालबाट डोल्माका श्रीमान पञ्च तामाङ तथा कान्छो बुवाको छोरा सेवार तामाङलाई यूएई झिकाएर उपचार गराइरहेको थियो । श्रीमान र भाइले डोल्माको स्याहारसुसार गरिरहनु भएको थियो । मृतक डोल्माको १२ वर्षका छोरा छन । 

उपचाररत डोल्माको मृत्युड भएपछि कम्पनीले दिनुपर्ने सम्पूर्ण क्षतिपूर्तिसहित शव नेपाल पठाउन दूतावाससँग समन्वय गरिरहेको यूएईका लागि कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले बताउनुभयो । 

शव पोष्टमार्टमका लागि लगिएको छ भने मृतकका श्रीमान र भाइलाई कम्पनीले नै बस्ने खाने व्यवस्था गरेर राखिरहेको डोल्माको दाजु फुर्वा योञ्जनले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएको परिवारमा मृतकको शव नेपाल लैजान समस्या भए काभ्रे समाज र तामाङ समाज यूएईले सहयोग गर्ने समाजका प्रवक्त्ता सुनिल लामाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया