अलैँची खेतीबारे बुझ्न लमजुङका किसान पुगे पूर्वी नेपालका विभिन्न जिल्ला

 पुस ३, २०७५ मंगलबार १५:१४:२१ | श्यामशितल परियार

लमजुङ – लमजुङका व्यावसायिक अलैँची उत्पादक किसान र व्यवसायीहरु पूर्वी नेपालमा रहेका विभिन्न जिल्लाको अवलोकन भ्रमणमा निस्केका छन् । 

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, अलैंची जोन लमजुङको वार्षिक कार्यक्रम अन्र्तगत अलैंचीका विविध पक्षको अध्ययन भ्रमणका क्रममा लमजुङका किसान र व्यवसायीको एक टोली अलैँची खेती हुने पूर्वी नेपालको इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाको अवलोकन भ्रमणमा निस्केको हो । 

टोलीले आइतबार इलाम र पाँचथर पुगेर जिल्लामा रहेका अलैँची किसान र व्यवसायीहरुसँग अलैँची खेतीबारे अन्तरक्रिया गरेको छ । आइतबार बिहान इलाम अलैँची व्यवसायी महासंघको समन्वयमा लमजुङबाट गएको अवलोकन भ्रमण टोलीले अलैँची खेतीको समग्र पक्षको विषयमा केन्द्रित रही अन्तरक्रिया गरेको हो । 

अन्तरक्रियामा किसानहरुले अलैँची खेतीमा लाग्ने रोग तथा घट्दो मूल्यका विषयमा छलफल गरेका थिए । 

इलामका व्यावसायिक अलैँची उत्पादक किसान मोहन विष्टले किसानहरुले अझै परम्परागत रुपमा खेती गर्दै आएको उल्लेख गर्नुभयो । 

विष्टले आफूले झण्डै ५ रोपनी जग्गामा लगाएको अलैँची खेतीमा जुरजुरे रोगले सताएको बताउनुभयो । ‘अहिलेसम्म आफ्नै तवरबाट किसानहरुले खेती गर्दै आएका छन्,’ उहाँले भन्नुभयो, ‘लगाइएको अलैँचीमा विभिन्न रोगले सताउने गरेको छ । किसानहरुले पर्याप्त रुपमा प्राविधिक सेवा पाउन सकेका छैनन् ।’
लमजुङका अलैँची उत्पादक किसान केशलाल तामाङले पनि अलैँची उत्पादक किसानहरुले विज्ञ सहितको प्राविधिक सेवा पाउन नसकेको गुनासो गर्नुभयो ।

इलामकै व्यवसायी एवं अलैँची व्यवसायी महासंघ इलामका महासचिव कृष्ण पौडेलले किसानहरुले अलैँची उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । 
उच्च परिमाणमा गुणस्तरीय अलैँची उत्पादन गरी निर्यात गर्न सकेमा देशको आर्थिक समृद्धिका साथै अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउन सकिने सरोकारवालाहरुले तर्क राखेका थिए । 

यसैगरी, इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार शाहले देशमा उत्पादित अलैँचीलाई मसला बालीको रुपमा मात्र नभई औषधीजन्य पदार्थ बनाई बाहिर निर्यात गर्न सकेको खण्डमा अलैँचीले बजार पाउन सक्ने धारणा राख्नुभएको थियो । 

यसैगरी, टोलीले आइतबार दिउँसो नै पाँचथरको फिदिम पुगी यहाँका किसान तथा व्यवसायीहरुसंग पनि छलफल गरेको छ । छलफलका क्रममा किसानहरुले पछिल्लो समय अलैँचीले राम्रो बजार पाउन नसकेको गुनासो पोखेका थिए ।   

नेपालमा उत्पादित अलैँची भारतको बजारमा मात्रै सीमित भएका कारणले किसानले सोचेअनुसार अलैँचीको सकेका छैनन् ।

राज्यले उचित नीति निर्माण गरी ‘टे«डमार्क’ गरी बाह्य मुलुक निर्यात गर्न सके नेपालका किसानहरुले अलैँचीको राम्रो मूल्य पाउन सक्ने बताउनुभएको छ । 
अलैंची व्यवसायी महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक नेपालले अलैंची किसानको मनोबल उच्च हुने काम नेपाल सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अलैँची  किसानले हतोत्साहित नभई काम गर्नुपर्छ । अलैंची व्यावसायी महासंघले किसानलाई पुलको काम गरिरहेको छ ।’

टोलीले ताप्लेजुङका साथै दार्जिलिङ, सिलिगुढी, सिक्किम लगायतका भारतीय बजारको अलैंची खेती र बजारको अवस्था बारे अध्ययन गर्ने नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले जनाएको छ ।    
   
 

अन्तिम अपडेट: चैत २२, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया