काठमाडौंमाथि एक विकेटको रोमाञ्चक जित हात पार्दै ललितपुर ईपीएलको फाइनलमा

 पुस ३, २०७५ मंगलबार १७:०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौं किंग्समाथि एक विकेटको रोमाञ्चक जित निकाल्दै ललितपुर प्याट्रियट्स एभरेष्ट प्रिमियर लिगको फाइनलमा पुगेको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा ललितपुरले टस जितेर ब्याटिङको निम्तो पाएको काठमाडौं १९ ओभर ५ बलमा एक सय आठ रनमा अलआउट भयो । 

८५ रनमा ६ विकेट खेर फालेको काठमाडौका लागि ओपनर अमित श्रेष्ठ ९, रोहन मुस्तफा ३२, केभिन ओब्राइन मात्र एक रनमा आउट भए भने नरेश बुढाऐर पनि एक रनमा नै बाहिरिए । काठमाडौंका राजु रिजालले खाता खोल्न सकेनन् भने सिद्धान्त लोहनी १६ रनमा आउट भए । सागर पुन पनि २९ रनमा आउट भए । बलिङतर्फ ललितपुरका लागि पवन सराफले तीन विकेट लिए भने सन्नी पटेल र योगेन्द्रसिंह काकीले दुई दुई र ललित राजवंशीले एक विकेट हात पारे ।

जवाफमा ललितपुरले नौ विकेट गुमाउँदै २०औँ ओभरको अन्तिम बलमा लक्ष्य पूरा गर्‍याे। ललितपुरले ३४ रन जोड्दा ५ विकेट गुमाएको थियो । ललितपुरका ओपनर गौरव तमोर एक रनमा आउट भए भने जयकिशन कोल्सावाला सात रनमा पेभेलियन फर्किए । 

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ले २१ तथा पवन सराफ १९ रनमा आउट भए । लगत्तै सन्दीप जोरा खाता खोल्न नपाउँदै बाहिरिए । सातौँ विकेटका लागि योगेन्द्रसिंह कार्की र कुशल भुर्तेलबीच ३७ रनको साझेदारी गरे । तर कुशल २९ रनमा आउट भए । 

अन्तिममा योगेन्द्रसिंह कार्कीले साहसिक ब्याटिङ गर्दै टिमलाई फाइनलमा पुर्‍याए । उनले अविजित २८ रन बनाए । 

काठमाडौंका लागि प्रदिप साहु र केभिन ओब्राइन र रोहन मुस्तफाले दुई–दुई विकेट लिए पनि टिमलाई हारबाट बचाउन सकेनन् । अब काठमाडौंले फाइनल प्रवेशका लागि भैरहवा र चितवनबीचको विजेतासँग खेल्नेछ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया