अन्तरप्रदेश परिषदको दोस्रो बैठकले अनुमाेदन गर्याे अन्तर प्रदेश सहजीकरणसम्बन्धी प्रतिवेदन

 पुस ३, २०७५ मंगलबार १८:११:१४ | उज्यालो सहकर्मी

काठमाडाैं - अन्तरप्रदेश परिषदको दोस्रो बैठकले अन्तर प्रदेश सहजीकरणसम्बन्धी प्रतिवेदन  अनुमोदन गरेको छ । 

प्रदेशको समस्या समाधानका लागि सुझावसहित गृहमन्त्री रामबहादुर थापा नेतृत्वको कार्यदलले पेश गरेको अन्तरप्रदेश सहजीकरणसम्बन्धी प्रतिवेदन मंगलबार बसेको परिषदको दोस्रो बैठकले अनुमोदन गरेको हो ।

प्रतिवेदनमा संघ र प्रदेश सरकारबीच देखिएको समस्या समाधानका लागि कार्यतालिकासहितको योजना समावेश गरिएको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिनु भयो ।

प्रतिवेदनमा पुस मसान्तभित्र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गरी सक्नुपर्ने सीमा तोकिएको छ । त्यसैगरी संघीय सरकारले माघभित्र प्रदेशमा आवश्यक कर्मचारी व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिएको छ । चैत्रभित्र प्रदेशका लागि आवश्यक सबै कानुन पनि संघीय सरकारले बनाइसक्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको मुख्यमन्त्री राउतले बताउनु भयो ।

प्रधानमन्त्री केपी ओली अध्यक्ष रहनु भएको परिषदको पहिलो बैठकले प्रदेशका समस्या समाधानका लागि आवश्यक सुझावसहितको प्रतिवेदन तयार पार्न गृहमन्त्री थापा नेतृत्वको कार्यदल गठन गरेको थियो । कार्य दलले तयार पारेको सोही प्रतिवेदन आज परिषद बैठकले अनुमोदन गरेको हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया