प्राकृतिक कारणबाट गैँडा मर्दै : कालगतिले १९ गैँडा मरे

 पुस ४, २०७५ बुधबार ६:३७:१७ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज विभागले अध्ययनका लागि गठन गरेको कार्यदलले स्थलगत अध्ययन गरेको छ । 

विभागले अध्ययनका लागि पर्यावरणविद् हरिभद्र आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलका विज्ञसहितको समूह सोमबार निकुञ्जको अध्ययन गरी मंगलबार फर्किएको छ । संयोजक आचार्यका अनुसार निकुञ्जभित्रका घाँसेमैदान, पानीका स्रोत र दलदल भएका ठाउँ, गैँडाको राम्रो वासस्थान रहेका क्षेत्रलगायतको स्थलगत अध्ययन गरिएको छ । 

सोसँगै गैँडासँग सम्बन्धित सम्पूर्ण तथ्याङ्क पठाउन निकुञ्ज कार्यालयलाई आग्रह गरिएको उहाँले बताउनुभयो । कार्यदलले समग्र निकुञ्जको भूभागमध्ये गैँडाको वासस्थानको अवस्थाका बारेमा पनि कार्यालयसँग जानकारी लिएको छ । निकुञ्जबाट सबै विवरण प्राप्त भएपछि विज्ञ बसेर विस्तृत अध्ययन गरिने उहाँले बताउनुभयो । 

निकुञ्जको विस्तृत रूपमा स्थलगत अध्ययन गरेर विभागलाई प्रतिवेदन बुझाइने बताइएको छ । आगामी मार्चसम्ममा प्रतिवेदन बुझाउने गरी काम शुरु गरिएको संयोजक आचार्यले बताउनुभयो । कार्यदलमा वन तथा भूसंरक्षण मन्त्रालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जुलोजिकल सोसाइटी अफ लण्डनका विज्ञ र चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सदस्य छन् । 

सन् २०१५ को गणनानुसार निकुञ्जमा ६०५ गैँडा छन् । प्राकृतिक कारणबाट गत आवमा २६ गैँडा मरेका थिए । चालु आवको हालसम्म १९ गैँडा कालगतिले मरेका छन् । निकुञ्जको तथ्याङ्कानुसार सन् २०१४ मा आठ, सन् २०१५ मा १५, सन् २०१६ मा १४ र सन् २०१७ मा २४ गैंँडा कालगतिले मरेका थिए । यसअघि चोरी शिकारबाट सबैभन्दा बढी सन् २००२ मा ३६, सन् २००३ मा ३०, सन् २००५ मा १६ र सन् २००० मा १५ गैँडा मारिएका थिए । 

विसं २०७३ चैत २५ गतेपछि चोरी शिकारबाट भने गैँडा मर्न पाएका छैनन् । चोरी शिकारबाट गैँडा नमरे पनि प्राकृतिक कारणबाट मर्ने सङ्ख्या बढेपछि चिन्ता व्यक्त गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले धेरैजसो गैँडा जुधेर मरेको पाइएको बताउनुभयो । दलदलमा फसेर, पानीले बगाएर, बाघले बच्चा खाएर र बूढो भएर पनि गैँडा मर्ने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया