प्रदीप र जसिताको ‘लभ स्टेशन’ चैत १ मा

 पुस ४, २०७५ बुधबार १४:३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रदीप खड्का अभिनित चलचित्र ‘रोज’ असफल भएपछि यतिबेला अभिनेता प्रदीप खड्का चलचित्र ‘लभ स्टेशन’को काममा व्यस्त छन् । यो चलचित्रमा प्रदीप खड्कासँगै गुडिया उपनाम पाउने गरेकी अभिनेत्री जसिता गुरुङको अभिनय रहेको छ ।

चलचित्रमा प्रदीप खड्काको पनि लगानी रहेको बताइएको छ । चलचित्र ‘रोज’ असफल भएपछि निरास बनेका प्रदीपलाई चलचित्र‘लभ स्टेशन’ सफल भए निकै राहत मिल्ने छ । यसैबीच चलचित्र‘लभ स्टेशन’को प्रदर्शन मिति घोषणा गरिएको छ । चैत ६ र ७ गते पर्ने फागु पूर्णिमाको सार्वजनिक बिदालाई मध्यनजर गर्दै चलचित्र चैत १ गतेबाट नेपालभर प्रदर्शनमा आउने तय भएको निर्माता गोविन्द शाहीले बताए । 

यसअघि चलचित्र ‘लिलिबिली’ मा पनि प्रदीप र जसिताको जोडी नै प्रस्तुत भएकाे थियाे । त्यस चलचित्रमा यो जोडीलाई दर्शकले सकारात्मक टिप्पणी गरेका थिए । चलचित्र ‘लिलिबिली’ यतिबेला युट्यूबमा रिलिज भइसकेको छ । युट्यूबमा पनि यो जोडी अभिनित चलचित्रलाई दर्शकले मन पराएका छन् । युट्यूबमा रिलिज भएको ५ दिनमै चलचित्रले झण्डै ३५ लाख भ्यूज पाएको छ । निकै रुचाइएको जोडी प्रदीप र जसिताको चलचित्र ‘लभ स्टेशन’दोस्रो सहकार्य हो । दार्जीलिङ, कालिम्पोङ, खार्साङ, मिरिक, इमाल र काठमाडौंमा चलचित्रको छायांकन गरिएको छ । चलचित्रको निर्देशन निर्देशक उज्जवल घिमिरेले गरेका हुन् ।

चलचित्रमा आलोक शुक्लाको छायांकन, शम्भूजितबाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको छ । सांगीतिक प्रेमकथामा आधारित चलचित्र‘लभ स्टेशन’मा अभिनेता प्रदीप खड्का गायकको भूमिकामा प्रस्तुत भएका छन् । प्रदीप र जसिताको अलावा चलचित्रमा रमेश बुढाथोकी, प्रकाशशाह, रेशु भट्टराई, विनोदकुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोललगायतको अभिनय रहेको छ । 

–उज्यालाे र गफगाफ डटकमको सहकार्य 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया