करण जोहरको फिल्म ‘शुद्धि’ बाट प्रभासले गर्लान् त बलिउडमा डेब्यू ?

 पुस ४, २०७५ बुधबार १८:२२:५६ | एजेन्सी
unn.prixa.net

बलिउड निर्देशक तथा निर्माता करण जोहर लामो समयदेखि साउथ इन्डियन सुपरस्टार प्रभासलाई बलिउडमा डेब्यू गराउने प्रयासमा लागेका छन् । तर यसअघि प्रभासले करण जोहरको बलिउडको प्रस्तावलाई अस्वीकार गरिदिएका थिए । 

तर करण जोहरले अझै पनि हार मानेका छैनन् । करण जोहर यति बेला फिल्म ‘शुद्धि’ बनाउने तयारी गरिरहेको चर्चा चलिरहेको छ । यस फिल्मको लिड अभिनेताको खोजीमा रहेका करणले यसपटक फेरि प्रभासलाई प्रस्ताव राखेका छन् । 

हिन्दी  भाषामा समेत प्रदर्शित फिल्म ‘बाहुबली’ सिरीजबाट बलिउडमा समेत पहिचान बनाइसकेका प्रभास अहिले फिल्म ‘साहो’ मार्फत दर्शकमाझ आउने तयारी गरिरहेका छन् । यो फिल्म हिन्दी भाषामा समेत प्रदर्शन हुनेछ । 

फिल्म ‘शुद्धि’ का लागि करण जोहरले झण्डै ३-४ वर्ष देखि काम गरिरहेका छन् । तर फिल्मको विषयबस्तु अन्य फिल्मभन्दा फरक र गम्भीर भएकै कारण बलिउडका स्टार अभिनेताले फिल्ममा कामका लागि आँट गर्न नसकेर पछि सरेका छन् । 

यस फिल्मका लागि पहिले अभिनेता ऋतिक रोशनको नाम आएको थियो र पछि सलमान खानको नाम जोडियो । र पछि वरुण धवनको पनि चर्चा भयो तर यीमध्ये कसैले पनि यस फिल्मका लागि हिम्मत देखाउन सकेनन् । 

करण जोहरको धर्मा प्रोडक्सन कम्पनीले सन् २०१९ वा २० मा यस फिल्मको निर्माण गर्ने योजना बनाएको छ । जोहरले यस फिल्मका लागि बाहुबली स्टार प्रभासका साथ कुराकानी अगाडि बढाएका छन् ।

हालै करण जोहरको चर्चित सेलिब्रेटी च्याट शो ‘कफी विथ करण’ का लागि मुम्बई आएका प्रभासलाई जोहरले यस फिल्मका लागि मनाउने प्रयास गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार प्रभासले यस फिल्मका लागि केही समय मागेका छन् ।  


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया