पूर्व प्रधानमन्त्री डा. गिरीको अन्त्येष्टि

 पुस ४, २०७५ बुधबार १८:२५:१६ | रासस
unn.prixa.net

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

डा. गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह गिरीले जानकारी दिनुभयो । ‘साधारण नागरिकका रुपमा बिदाइ हुने उहाँको अन्तिम इच्छा थियो, नागरिकको पदलाई उच्च बनाउन उहाँले यस्तो इच्छा राख्नुभएको हो’, श्रीमती गिरीले भन्नुभयो ।

पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँको अन्त्येष्टिमा पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्व मन्त्री सुनीलबहादुर थापा, टङ्क ढकाललगायत नेता पशुपति पुग्नुभएको थियो ।

विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने पहिलो पूर्वप्रधानमन्त्री डा गिरी बन्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गर्ने भनिए पनि उहाँका परिवारले मानेका थिएनन् ।

मङ्गलबार बिहान ९३ वर्षको उमेरमा उहाँको निधन भएको थियो । महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहको शासनकालमा डा. गिरी प्रधानमन्त्री र मन्त्रिपरिषद्को उपाध्यक्ष बन्नुभएको थियो ।

नेपाली काङ्ग्रेसबाट राजनीति शुरु गर्नुभएका गिरी २०१७ पुस १ गतेको शाही कदमपछि पञ्चायतमा सक्रिय हुनुभएको थियो ।

विद्युतीयमा नौ हजार शव जलाइए

विद्युतीय शवदाहगृहमा पूर्वमन्त्री एवं न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा र नेपाली नागरिकता लिनुभएकी बारबरा एडम्सलगायतको अन्त्येष्टि भएको थियो । विद्युतीय शवदाह गृहमा अहिलेसम्म नौ हजार २ सय ५१ को शव जलाइएको कोषका प्रशासकीय अधिकृत कुमार थापामगरले जानकारी दिनुभयो ।

विसं २०७२ माघ १० गतेदेखि विद्युतीय शवदाह गृह सञ्चालनमा आएको हो । तीन वटा चेम्बर भए पनि अहिले दुई वटामात्र चलिरहेको कोषले जनाएको छ ।
दुई वटा चल्दा पनि आलोपालो गर्नुपर्छ । अर्को चेम्बर चलाउन टेण्डर आह्वान गर्ने प्रक्रिया शुरु भएको छ ।

विद्युतीय शवदाह गृहमा आकर्षण बढे पनि पालो कुर्नुपर्ने समस्या रहेको जनाइएको छ । विद्युतीय यन्त्रबाट एक घण्टामै दाह संस्कार सकिन्छ । दाउराबाट संस्कार गर्दा चार घण्टा लाग्छ । विद्युतीय शवदाह गृह वातावरणमैत्री हुन्छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया