‘जबसम्म देउवा र पौडेलको खोर भत्काएर विद्रोह हुँदैन, तबसम्म कांग्रेस यस्तै रहन्छ’

 पुस ४, २०७५ बुधबार २२:१५:२५ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसको महासमिति बैठक पाचौँ दिनसम्म आइपुग्दा पनि संशोधित विधानको मस्यौदा पेस हुन नसक्दा बैठकमा सहभागीहरुको आक्रोश बढेको छ । 

बैठकका सहभागीहरुले जतिसक्दो छिटो विधान पेस गरेर छलफल गर्ने वातावरण बनाउन माग गरिरहेका छन् । तर पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको जुङ्गाको लडाईँले अझैसम्म बैठकमा प्रस्तुत हुन विधान सकेको छैन । बैठकमा बुधबारसम्म झण्डै १ सय ६५ जना महासमिति सदस्यले आफ्नो धारणा राखेका छन् ।

अधिकांश सदस्यले अहिलेको नेतृत्वले कांग्रेसलाई सही दिशा दिन नसक्ने धारणा राखेका छन् । 

बुधबार आफ्नो धारणा राख्दै कांग्रेसका महासमिति सदस्य एवं दोलखा जिल्लाका पूर्व सभापति ताराबहादुर कोइरालाले अहिलेको नेतृत्वबाट कांग्रेस बाँच्न नसक्ने दावी नै गर्नुभयो । ‘महासमिति बैठकमा पार्टी एक हुनुपर्यो, नेताहरु मिल्नुपर्यो’, महासमिति सदस्यहरुले उठएको आवाजप्रति आफू असहमत रहेको भन्दै कोइरालाले त्यसका लागि पहिला गुटगत राजनीतिको अन्त्य हुनु पर्नेमा जोड दिनुभयो ।   

‘जबसम्म हामीले शेरबहादुर देउवाको खोर भत्काएर विद्रोह गर्दैनौँ, अनि रामचन्द्र पौडेलको खोर फुटाएर विद्रोह गर्दैनौँ र पार्टी अफिस जाँदैनौँ त्यति बेलासम्म उहाँहरु मिल्नुहुन्न’, कोइरालाले भन्नुभयो ।

मिल्दा दुवैलाई घाटा हुने भएकाले आफ्ना स्वार्थका लागि पनि उनीहरु नमिलेको कोइरालाले बताउनुभयो । ‘उहाँहरु मिल्नुभो भने उहाँहरूलाई नै घाटा छ’, कोइरालाले थप्नुभयो, ‘त्यसैले उहाँहरु कहिल्यै मिल्नुहुन्न । यस्तै काम गरिरहनुहुन्छ । होइन भने के कुरामा असहमति छ र ?’ उहाँले प्रश्न गर्नुभयो ।

कोइराला पार्टीको बेथीतिका बारे व्यङ्ग्य गर्दै भन्नुहुन्छ, ‘पार्टीमा सानो हिस्सा रामचन्द्र दाइले पाकै हुनुहुन्छ । ठूलो हिस्सा शेरबहादुर दाइले लिनुभएकै छ । शशांक दाइले अलिअलि लेकै होला । प्रकाशमान बेला–बेला मुड्की उचाल्नुहुन्छ, उहाँले पनि कहिलेकाहीँ हिस्सा पाउनुभएकै छ । पार्टी के छ र ? जसो तसो चलेकै छ ।‘ 

‘नुवाकोटका  दाजुभाइहरु महारथी, दुइटै आर्थिक महारथी । रामचन्द्रको महारथी एउटा, शेरबहादुर देउवाको महारथी एउटा । उनीहरूले पनि भाग पाकै छन्’, कोइरालाले भन्नुभयो, ‘सबै त भागबण्डैमा चलेका छन् ।’

‘अर्जुननरसिंह केसी दाइ एकदम स्थायी प्रतिपक्ष । गिरिजाप्रसाद कोइरालाको पालादेखि नै । गिरिजालाइ नै हैरान पारेको । सुशील कोइरालाको पालामा पनि हैरानै बनाको । अब अहिले पालो शेरबहादुर देउवाको आछ । भोलि सभापति हुने हो भने स्वयम् केसी दाइ के गर्नु हुन्छ होला ?’, कांग्रेस नेता केसीको भूमिकाबारे उहाँ प्रश्न गर्नुहुन्छ । 

सबै आ–आफ्नै स्वार्थबाट चलेकाले उनीहरुबाट अब कांग्रेस नबँच्ने कोइरालाको दावी छ । ‘कांग्रेस बचाउने हो भने महासमितिले बचाउनुपर्यो’, कोइरालाले भन्नुभयो, ‘त्यसका लागि महासमितिका सदस्यहरुले प्रण गर्नु जरूरी छ । अबदेखि शेरबहादुर देउवाले देखाको हरियो गाँठ तिर नजाने ।’ रामचन्द्रले देखाको ‘हरियो गाँठ’तिर पनि नगई आफ्नो स्वभिमान बचाउनेतर्फ लागे मात्रै पनि कांग्रेस बाँच्ने उहाँको ठहर छ । 

यस्तै विधान नआएर बैठक लम्बिएको जस्तो बाहिरी रुपमा देखिए पनि भित्री कुरो भने पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच भागबण्डामा कुरा नमिल्दा बैठक लम्बिएको अर्का महासमिति सदस्य लोकेश सिंहले बताउनुभयो । 

‘दुई नेताबीच कुरा मिल्नेबित्तिकै बैठक सकिन्छ’, उहाँले भन्नुभयो, ‘अहिले जति पनि खेल भइरहेको छ दुवै नेताको स्वार्थका लागि हो, कार्यकर्ताका लागि हुँदै होइन ।’

महासमिति बैठक भनेर देशभरबाट २ हजारभन्दा बढीलाइ बोलाएर मेला लगाएको भए पनि यसमा दुई नेताले गर्ने सहमतिमा ताली ठोक्नुबाहेक कुनै उपलब्धि आफूले नदेखेको सिंहको दावी छ । 

महासमिति बैठकलाई कांग्रेसले सबैभन्दा ठूलो बैठकको रुपमा लिन्छ । तर यो बैठकले २–४ जनाको पद बढाउने र केही व्यक्तिले आफ्नो स्वार्थ पूर्ति गर्नेबाहेक अन्य ठूलो उथलपुथल ल्याउला भनेर विश्वास गर्न सकिने अवस्था नरहेको सिंहले बताउनुभयो । 

‘अहिले पनि कांग्रेस भगवानभरोसै चलिरहेको छ, यो बैठकपछि केही सुधारिन्छ कि भन्ने आशा थियो‘, सिंहले निरास हुँदै भन्नुभयो,  ‘यहाँको अवस्था हेर्दा यो बैठकपछि पनि पार्टी भगवान भरोसामै चल्ने छाँट देखियो ।’ 

फर्कन थाले प्रतिनिधि

चार दिनमै सकिने बैठकको कार्यतालिका रहेको भए पनि अनिश्चित कालसम्मका लागि बैठक लम्बिने देखेपछि कतिपय प्रतिनिधिहरु घर फर्कन थालेका छन् । 
‘चार दिनका लागि मात्रै भनेर खर्च लिएर आइयो । यहाँ बैठक लम्बिएको लम्बियै छ’, सुर्खेतबाट आएका एक प्रतिनिधि भन्छन, ‘यो काठमाडौंको महंगीमा यसै बस्ने कुरा आएन आफूले ल्याएको खर्च सकिन लाग्यो त्यसैले आज घर फर्कँदै छु ।’

बैठकमा सहभागी हुने महासमिति सदस्य, पर्यवेक्षक तथा प्रतिनिधिहरुलाई खानाको व्यवस्था पार्टीले गरेको भए पनि आउन–जान र बस्ने व्यवस्था भने स्वम्ं आफैले गर्नु पर्नेछ ।

होटलमा बस्दा बस्दै खर्च सकिन लागेकाले बैठक छाडेर फर्कनु परेको ती प्रतिनिधिको भनाई थियो । 

पाचौँ दिनसम्म पनि बैठकमा संशोधित विधानको मस्यौदा पेस हुन सकेको छैन । विधान नै बैठकमा पेस नभएकाले बैठक अझै २ दिन लम्बिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । 

बैठक अब पार्टी कार्यालयमै

महासमिति बैठकको स्थान भोलि बिहीबारदेखि भने परिवर्तन हुने भएको छ ।

महासमिति बैठक गएको शनिबारदेखि बुधबारसम्म रामशाह पथमा रहेको एक पार्टी प्यालेसमा चल्यो । तर बिहीबारबाट भने सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा नै महासमिति बैठक बस्ने प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

पार्टी कार्यालयमा नै खानपिनको व्यवस्थासहित बैठक बस्ने प्रवक्ता शर्माले बताउनुभयो ।


 

अन्तिम अपडेट: चैत २९, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया