सलमानको ‘भारत’ बाट प्रियंकाले लिइन् दीपिका बराबरको पारिश्रमिक

 असार १, २०७५ शुक्रबार ११:४:२ | एजेन्सी
unn.prixa.net

यस अघि फिल्म ‘पद्मावत’ बाट अभिनेताहरुको भन्दा धेरै पारिश्रमिक लिएर अभिनेत्री दीपिका पादुकोण बलिउडकी सबैभन्दा महंगी अभिनेत्री बनेकी थिइन् । दीपिकाको उक्त रेकर्डलाई अहिले अभिनेत्री प्रियंका चोपडाले पछ्याएकी  छिन् ।

हलिउडमार्फत ग्लोबल आइकनको पहिचान बनाउन सफल अभिनेत्री प्रियंकाले बलिउडमा सलमान खानको फिल्म ‘भारत’मार्फत धेरै पारिश्रमिक लिएर दीपिका पछि धेरै पारिश्रमिक लिने अभिनेत्री बनेकी छिन् ।  

बलिउडमा अभिनेत्री दीपिका पादुकोण, प्रियंका चोपडा र कंगना रनावतले अभिनेत्रीहरुले पनि अभिनेता बराबरको पारिश्रमिक पाउनु पर्ने कुरामा आवाज उठाइरहेका छन् । उनीहरुले फिल्ममा महिला र पुरुष कालाकारले समान मेहनत गर्ने भएकाले पारिश्रमिकमा पनि समानता हुनुपर्ने कुरामा आवाज उठाइरहेका छन् ।

पछिल्ला महिला प्रधान फिल्महरु दीपिका पादुकोणको ‘पद्मावत, आलिया भट्टको राजी, रानी मुखर्जीको हिचकी, करिना तथा सोनम कपूर अभिनित वीरे दी वेडीङ’ ले दर्शकको मन जित्दै बक्स अफिसमा सफल सावित भइसकेका छन् ।

यस्तै यस अघि बिद्या वालनको ‘तुम्हारी सुलु’, कंगना रणवतको ‘तनु वेड्स मनु र तनु वेड्स मनु रिटनर्स, श्रीदेवीको फिल्म ‘मम’ पनि सफल सावित भइसकेका छन् । तसर्थ समय परिवर्तनसँगै फिल्मलाई सफल बनाउने जिम्मेवारी पुरुष अभिनेताको काँधमा मात्रै नभइ महिलाले समेत यो जिम्मेवारी पूरा गर्न सक्ने कुरा अहिले बलिउडका अभिनेत्रीहरुले उठाइरहेका छन् ।
 
यसैबीच अहिले सार्वजनिक भएको खबर अनुसार अभिनेत्री प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’ का लागि १२ करोड रुपैयाँ पारिश्रमिक लिएकी छिन् । यस फिल्मका लागि उनले १४ करोडको माग गरेकी थिइन् । तर फिल्म निर्माताहरुबीचको छलफल पछि उनी १२ करोडमा काम गर्न राजी भएकी हुन् । यस अघि अभिनेत्री दीपिका पादुकोणले फिल्म ‘पद्मावत’बाट १२ करोड रुपैयाँ लिएकी थिइन् । जुन फिल्मबाट अभिनेता साहिद कपूर र रणबीर सिंहलाई उनको तुलनामा कम पारिश्रमिक दिइएको थियो ।

अहिलेसम्म अभिनेत्री दीपिका पादुकोण बलिउडमा बढी पारिश्रमिक लिने अभिनेत्री थिइन् भने प्रियंकाले समेत लिष्टमा आफ्नो स्थान बनाएकी छिन् ।  

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया