विदेशबाट फर्किएर सीप परीक्षण गर्नुभयो ? सरकारले नै जागिर खोज्न सघाउँछ

 पुस ५, २०७५ बिहिबार ११:३७:५९ | मोहन पौडेल

काठमाडौं – वैदेशिक रोजगारीमा गएर फर्किएका युवाले विदेशमा वर्षौं काम गर्दा पनि अनुभवको कुनै प्रमाण नपाउने भएपछि सरकारले त्यस्ता युवाको सीप परीक्षण र प्रमाणिकरण गर्न थालेको छ । 

वैदेशिक रोजगारीबाट फर्किँदा कामको प्रमाणपत्र नहुने र देश फर्किएर केही काम नपाएको भन्दै फेरि पनि विदेश नै जानुपर्ने अवस्थाको अन्त्य गर्न भन्दै सरकारले पहिलो पटक सीप परीक्षण गरेर प्रमाणपत्र दिन लागेको हो । त्यसका लागि सरकारले गएको मंसिर ११ गतेदेखि आवेदन लिइरहेको छ । 

सरकारले पुसको ११ गतेसम्म निवेदन दिन वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई आह्वान गरेको छ । विदेशबाट जहिले फर्किएको भए पनि आवेदन दिन सक्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । 

सीप परीक्षण गराउन पैसा तिर्नु पर्दैन । नेपाली नागरिकताको प्रतिलिपि, विदेशबाट फर्किंदा अध्यागमनबाट छाप लागेको पासपोर्टको पानाको प्रतिलिपि, वैदेशिक रोजगारीमा गएको प्रमाणित हुने कागजपत्र र हालसालै खिचिएका दुई वटा फोटो आवश्यक पर्ने बोर्डले जनाएको छ । 

औपचारिक शिक्षा नलिएकालाई पनि नासु, खरिदार सरहको प्रमाण

अहिलेसम्म वर्षौं विदेशमा बसेर काम गरेर फर्किंदा पनि नेपाली कामदारले त्यो कामको अनुभवको प्रमाणपत्र पाएका छैनन् । जसले गर्दा नेपाल फर्किएपछि कुनै काम पाउन सजिलो छैन । न त अनुभवका आधारमा स्वरोजगार बन्न नै सहज छ । 

यो अवस्थाको अन्त्य गर्न सरकारले सीप परीक्षण र प्रमाणिकरणको प्रक्रिया थालेको हो । सीप परीक्षण र प्रमाणिकरण गरेर गरेपछि त्यसमा उत्तीर्ण भएका कामदारले लोकसेवाको परीक्षा पास गरेकै सरहको मान्यता पाउनेछन् । 

काम गर्न जानेका तर औपचारिक शिक्षा नलिएका व्यक्तिहरुले लेभल एकको तालिम लिएपछि मुखिया, लेभल दुईले खरिदार र लेभल तीनले सुब्बा सरहको मान्यता पाउनेछन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, सीप परीक्षण समितिका कार्यकारी निर्देशक दामोदर देवकोटाका अनुसार यो सरकारबाट मान्यता दिइएको प्रमाणपत्र भएकाले कामदार त्यो तहको कामका लागि प्रतिस्पर्धा गर्न योग्य हुनेछन् ।

सीप परीक्षणका फाइदा त्यति मात्रै छैनन् । सीप परीक्षण गर्ने कामदारले आफूले सिकेका सीप प्रयोग गरी स्वरोजगार पनि बन्न सक्नेछन् । स्वरोजगार बन्न ऋण लिनु परेमा पनि यो प्रमाणपत्रले सघाउने देवकोटाको भनाई छ । 

सरकारले पनि जागिर खोज्न सहयोग गर्ने 

सीप परीक्षणमा सहभागी भएर उत्तीर्ण हुने कामदारलाई जागिर खोज्न पनि सरकारले सघाउने छ । विभिन्न उद्योग तथा प्रतिष्ठानहरुसँग समन्वय गरी उनीहरुलाई चाहिएका जनशक्ति र कामदारका बीचमा समन्वय पनि गरिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालय अन्तर्गत प्रशिक्षण तथा अध्ययन अनुसन्धान शाखाका प्रमुख ऋषिराम भुसालले बताउनुभयो । 

के के कामको सीप परीक्षण गरिन्छ ?

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि यो वर्ष २० वटा कामको सीप परीक्षण र प्रमाणिकरण गरी प्रमाणपत्र दिने भएको छ । पहिलो पटक सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको सरकारले यो वर्षका लागि विल्डिङ पेन्टर, स्कापफोल्डर, बिल्डिङ इलेक्ट्रिसियन, असिष्टेण्ट वेटर, हाउसकिपिङ क्लिनर, रेफ्रिजेनेटर एण्ड एअर कन्डिसन जुनियर मेकानिक्स, टेलरिङ र फर्निचर मेकरको सीप परीक्षण गर्ने बताएको छ ।

यस्तै सटरिङ कापेन्ट्री, इन्डस्ट्रियल इलेक्ट्रिसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन (डकर्मी), असिष्टेन्ट ब्यूटिसियन, कमी तेस्रो, आल्मुनियम फेब्रिकेटर, सेक्युरिटी गार्ड र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण र प्रमाणिकरण गरिने बोर्डले जनाएको छ । यी काममध्ये एक व्यक्तिले एउटा कामको मात्रै सीप परीक्षण गर्न पाउनेछन् । 

यी सबै कामको परीक्षण प्रयोगात्मक (प्य्राक्टिकल) हुने सीप परीक्षण केन्द्रका सीप परीक्षण समितिका कार्यकारी निर्देशक दामोदर देवकोटाले बताउनुभयो । 

फारम कहाँबाट कसरी भर्ने ?

सीप परीक्षणको आवदेन दिन सरकारले सात प्रदेशका १९ वटा जिल्लामा १९ वटै केन्द्र तोकेको छ । प्रदेश १ को झापाका लागि दमकको दमक टेक्निकल एजुकेशन फाउण्डेसन प्रालि र सुनसरीको पाथिभरा हिमालयन पोलिटेक्निकल प्रालिलाई फारम सङ्कलन केन्द्र तोकिएको छ ।

यस्तै प्रदेश २ का लागि सिरहाको लाहान प्राविधिक शिक्षालय, धनुषाको विपी मेमोरियल पोलिटेक्निकल इन्ष्टिच्युट र पर्साको वीरगंज इन्ष्टिच्युट अफ टेक्नोलोजी, प्रदेश तीनका लागि मकवानपुरको नेपाल भारत मैत्री पोलिटेक्निकल इन्ष्टिच्युट, चितवनको नारायणी पोलिटेक्निकल इन्ष्टिच्युट, भक्तपुरको राष्ट्रिय सीप परीक्षण समिति सानोठिमी र काठमाडौंका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयमा फारम बुझाउन सकिने बोर्डले जनाएको छ । 

गण्डकी प्रदेशका लागि कास्कीको पोखरा प्राविधिक शिक्षालय र बाग्लुङको धौलागिरी पोलिटेक्निकल इन्ष्टिच्युट, प्रदेश ५ का लागि रुपन्देहीको कोरिया नेपाल इन्ष्टिच्युट अफ टेक्नोलोजी, दाङको राप्ती प्राविधिक शिक्षालय नेपालगञ्ज, कर्णाली प्रदेशका लागि सुर्खेतको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय र जुम्लामा कर्णाली प्राविधिक शिक्षालयमा आवेदन फारम बुझाउन सकिने बोर्डले जनाएको छ । 

यस्तै सुदुरपश्चिम प्रदेशका लागि कैलालीको धनगढी कलेज अफ इन्फरमेशन टेक्नोलोजी प्रालि, कञ्चनपुरको व्यवसायिक तथा सीप विकास तालिम केन्द्र महेन्द्रनगर र डोटीको सेती प्राविधिक शिक्षालयमा आवेदन दिन सक्ने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । 

अन्तिम अपडेट: चैत ६, २०८०

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

2 Comments

  • Ram Kumar shrestha

    Oct. 7, 2020, 11:15 a.m.

    मलेसियामा ९ वर्ष होटेल सेफमा काम गरेको, अहिले कोभिदले गर्दा होटेल बन्द भएर घर आएको छु / मेरो घर तनहुँ दमौली ..

  •  0 Reply
  • Ram Kumar shrestha

    Oct. 7, 2020, 11:09 a.m.

    म मलेसिायमा ९ वर्ष होटल म chef को कम गरेको थिए र covid ले गर्दा होटल बन्द भएर घर आएको छू म काम गर्न चाहन्छु यदि नेपालमै मिल्छ भने please help thanks u

  •  0 Reply

तपाईको प्रतिक्रिया