युएईमा रक्सी खाँदा १ सय ५५ जेलमा, २ सय ७ जना जेल जीवन बिताउँदै

 पुस ५, २०७५ बिहिबार १३:५३:२९ | उमाकान्त पाण्डे

युएई – युएईका जेलमा २ सय ७ जना नेपाली जेल जीवन बिताइरहेका छन ।  नेपाली दूतावासले जेल भ्रमण गरी तयार पारेको प्रतिवेदनमा १ सय ९९ जना पुरुष र ८ जना महिला जेलमा रहेको उल्लेख छ । 

युएईको दुवई, सारजाह, आबुधाबी, रसअलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनमा रहेका ८ वटा जेलमा पुगेर दूतावासका प्रतिनिधीले नेपाली कामदारको अवस्था र मुद्दाको अध्ययन गरेको थियो ।

यस्तै स्थानीय प्रशासनका अधिकारीहरुसँग पनि छलफल गरेको दूतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी बिष्णुकुमारी अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । 

भेटमा नेपाली कामदारलाई परेको मुद्दा र त्यस विषयमा गर्न सकिने समन्वयका लागि दूतावासले चासो देखाएको थियो । यहाँ रहेका सम्पूर्ण जेलमा दूतावासका प्रतिनिधी पुगेको यो पाचौं पटक हो । दूतावासले वर्षको दुई पटक सबै जेलमा पुगेर त्यहाँ रहेका नेपालीको अवस्था बुझ्ने योजना बनाएको छ । 

जेल भ्रमणपछि तयार पारिएको प्रतिवेदन सरकारलाई पठाउने कार्यबहाक राजदूत सागरप्रसाद फुयाँलले बताउनुभयो । 

कुन जेलमा कति नेपाली ? 

युएईको राजधानी आबुधाबीको अल आत्वा जेलमा सबै भन्दा धेरै १ सय ६ जना नेपाली छन् । यो जेलमा रहेकाहरु सबै पुरुष छन् । त्यस्तै दुबईको अल अविर सेण्ट्रल जेलमा ४ जना महिला सहित ६८, आबुधाबी अन्तर्गत अलऐनको मनाशिर जेलमा १४ जना, सारजाहको जेलमा ३ महिला सहित ९ जना नेपाली छन् ।

अजमान जेलमा ४ जना पुरुष नेपाली छन् ।  यस्तै फुजेराहको जेलला १ जना महिला सहित २ जना र रसअलखेमामा ४ जना नेपाली रहेको दूतावासले जनाएको छ ।
यी जेलमा रहेका नेपालीसँग भेट्न दुतावासकी द्वितीय सचिव तथा सूचना अधिकारी बिष्णुकुमारी अधिकारी, जनसम्पर्क अधिकृत इरफान आलम र बिष्णु पौडेल लगायतका प्रतिनिधि पुग्नुभएको थियो ।

जाँडरक्सी, अचारमा भाङ, धतुरो र मर्चा मुख्य कारण 

धेरै नेपाली रक्सी पिएर झगडा गरेका कारण जेलमा पुगेका छन् । २ सय ७ जना नेपालीमध्ये १ सय ५५ जना नेपाली रक्सीकै कारण जेल परेको देखिएको छ । झगडासँगै रक्सी पिएर गाडी चलाउने र चलाएको गाडीले सार्वजनिक सम्पत्तिमा क्षती पुर्‍याएका कारण उनीहर जेल परेको प्रतिवेदनमा उल्लेख छ । 

तीमध्ये कतिपयले साप्ताहिक बिदामा पेप्सी र कोकाकोलाका बोतलमा रक्सी राखेर पार्क तथा समुन्द्र किनारमा बसेर पिएको अवस्थामा पक्राउ परेका हुन् । युएईमा सार्वजनिक ठाउँमा रक्सी पिउनु कानुन विपरित हो । 

यस्तै कतिपय नेपाली नेपालबाट अचारमा भाङ, धतुरो गाजा तथा मर्चा मिसाएर ल्याउने क्रममा प्रकाउ परेको भेटिएको छ । यस्तै पार्क तथा विभिन्न स्थानमा बसेर अनैतिक काम गर्नेहरु पनि पक्राउ परेका छन् ।

नक्कली कागजपत्र र नक्कली हस्ताक्षर गर्ने तथा चेक बाउन्सका कारण पनि नेपाली जेल परेको दूतावासले उल्लेख गरेको छ । जेलमा रहेका केही पैसा कमाउने लोभमा लागुऔषध कारोबारमा सलग्न भएको पनि पाइएको छ । 

 जेल पर्ने नेपाली बढे 

यसै वर्षको सुरुमा गरिएको जेल भ्रमणका बेला १२ जना महिलासहित १८५ जना नेपाली जेलमा थिए । पछिल्लो ६ महिनामा यो सङ्ख्या बढेको छ । तर यसपटक भने यो सख्या बढेर २ सय ७ जना पुगेको छ ।  त्यसअघि २०७४ साल असारमा गरिएको जेल भ्रमण क्रममा १ सय ९ जना मात्र नेपाली रहेका थिए । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया