‘द म्यान फ्रम काठमाण्डु’ चैत १ गतेदेखि प्रदर्शनमा

 पुस ५, २०७५ बिहिबार १६:४०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सिनेमा ‘द म्यान फ्रम काठमाण्डु’ को पहिलो गीत सार्वजनिक भएको छ । गीतसँगै सिनेमाको नेपाल रिलिज मिति पनि घोषणा गरिएको हो । नेपाली निर्माताले निर्माण गरेको अंग्रेजी सिनेमा भएका कारण पनि यो सिनेमाको यतिबेला सिनेमा बजारमा चर्चा छाएको छ । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सिनेमाको गीतसँगै आधिकारिक पोस्टरका साथै सिनेमाको नेपाली ट्रेलर पनि सार्वजनिक गरियो । नेपालमा यो सिनेमा चैत १ गतेदेखि प्रदर्शन गर्ने तयारी भएको बताइएको छ ।

सिनेमामा समावेश सार्वजनिक ‘आकाशै घुमेर’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार जोसे म्यानुअल र आना शर्मा प्रस्तुत भएका छन् । गीतमा जेशन कुँवर र निकिता श्रेष्ठको स्वर रहेको छ । गीतको लेखन तथा संगीत पनि जेशन कुँवरले नै गरेका हुन् । गीतमा विजय मानन्धर र पेमा धोन्डुपको कोरियोग्राफी रहेको छ । सिनेमालाई क्यूएफएक्स सिनेमाका प्रमुख नकिम उद्दिनले निर्माण गरेका हुन्।

सिनेमामा नीर शाह, आना शर्मा, शिशिर वाङ्देल, कर्मा शाक्य, आमिर गौतमसँगै अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेखलगायतको अभिनय रहेको छ । पाँच करोड लगानीमा निर्माण भएको यो सिनेमाको छायाकंन लस–एञ्जलस र काठमाडौंमा गरिएको छ।

यो सिनेमा नेपालसँगै हलिउड र बलिउडमा पनि रिलिज गर्ने तयारी भइरहेको निर्माताको भनाइ छ । नेपाली कथा अन्तर्राष्ट्रिय समुदायलाई देखाउन र सुनाउन आफूहरु उत्साहित रहेको उनको कथन छ । भारतीय, पाकिस्तानी र केही हलिउड कम्पनीले समेत नेपालको पहिलो अंग्रेजी सिनेमा वितरणमा चासो व्यक्त गरेको उनले बताएका छन् । पेमा धोन्डुप चलचित्रका निर्देशक हुन् ।

उनी निर्देशित सिनेमा ‘वीआर नो मंक्स’  (२००४)ले राम्रो समीक्षा प्राप्त गरेको थियो । तिब्बती शरणार्थी अभिभावकको रुपमा जोमसोममा हुर्किएका पेमाले त्यहाँ छँदै आफूमा कथाको विकास भएको बताए ।

सिनेमाले अतिवादी सोच भएको एक हिन्दू–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिकयात्राको कथा भन्छ । निर्देशक धोन्डुपले भने, ‘यसले धार्मिक सहिष्णुता, धार्मिक समानताको समर्थन गर्दै अतिवादको विरोध गर्छ ।’

‘सीएनएनमा एउटा आर्टिकल पढेपछि कथा जन्मिएको हो । यसबारे दुई वर्ष रिसर्च गरेँ । अनि त्यसमा नेपालीकला, संस्कृतिलाई मिश्रण गरेर फिल्मको कथा बुनिएको हो’, धोन्डुपले भने । सिनेमामा कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन, हरि पिलाइको ध्वनी, जोसे म्यानुअलको स्टन्ट कोरियोग्राफी रहेको छ ।

यो पनि पढ्नुहाेस्

एक पाकिस्तानी अभिनेता जो नेपालमा ‘पण्डित’ बने

– उज्यालो र गफगाफ डटकमको सहकार्य 
 

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया