इलाममा  ‘मेची पर्यटन महोत्सव’ को रौनक (फोटो फिचर)

 पुस ५, २०७५ बिहिबार १९:३०:५ | सुजता सुनुवार
unn.prixa.net

इलाम – प्रदेश नम्बर एकका चार जिल्ला इलाम, झापा, पाँचथर र ताप्लेजुङका समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बिहीबारदेखि इलाममा प्रथम ‘मेची क्षेत्र पर्यटन महोत्सव’ भव्यताका साथ सुरु भएको छ ।

इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिको आयोजनामा १२ दिने महोत्सवको विभिन्न जातीय झाँकीसहित सुरु भएको हो । इलाम सदरमुकामको धोवीधाराबाट सुरु भएको जातीय झाँकी सहितको र्‍यालीले इलाम बजार परिक्रमा गरी इलामको ठूलो टुँडिखेलमा प्रवेश गरेपछि महोत्सवको उद्घाटन भएको थियो ।

प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियतले महोत्सवको उत्घाटन गर्नु भएको थियो । महोत्सवको उद्घाटन गर्दै मन्त्री कुसियतले पर्यटनको विकास हुन नसक्नुको एउटै कारण राजनीतिक अस्थिरता भएको बताउनुभयो । अहिले भने प्रदेश सरकारले आर्थिक सम्बृद्धि गर्नको निम्ति पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको  दावी  समेत गर्नु भयो  ।

इलाम सदरमुकाममा रहेको ठूलो टुँडिखेलमा आगामी पुस १६ गतेसम्म चल्ने महोत्सवमा चार जिल्लाका व्यवसायीयहरुले आ–आफ्नो जिल्लामा उत्पादित सामग्रीको प्रदर्शन गरेका छन् । चार जिल्लामा उत्पादित कृषिजन्य, औद्योगिक तथा व्यावसायिक सामग्रीहरुको विभिन्न ६६ वटा स्टलहरु प्रदशर्नीमा राखिएका छन् । 

यसका साथै चार जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिको लोप हुन लागेको कला संस्कृति, जातीय खानाको परिकारहरु, दुर्लभ जीवजन्तु चौंरीगाई र पर्यटकीय क्षेत्रको प्रचारप्रसार सामग्रीसमेत राखिएका छन् ।

महोत्सवमा ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजक इलाम पर्यटन प्रवद्र्धन सरोकार समितिका सचिव देवी पौडेलले जानकारी दिनु भएको छ । उहाँले भन्नु भयो, ‘झापा, पाँचथर, ताप्लेजुङ र इलाममा पालैपालो आयोजना हुने ‘मेची क्षेत्र पर्यटन महोत्सव’ को सुरुवात इलामबाट भएको हो ।’ नेपालका विभिन्न क्षेत्रका साथै भारतको सिक्किम, दार्जीलिङ र पश्चिम बंगालबाट  पर्यटकहरु महोत्सवमा सहभागी भएका छन् ।

महोत्सवका १२ दिन नै विभिन्न कार्यक्रमहरु समेत आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवको अन्तिम दिन अर्को वर्ष महोत्सव आयोजना गर्ने जिल्लालाई महोत्सवको लोगो हस्तान्तरण गरिने आयोजकका महासचिव पौडेलले जानकारी दिनुभयो ।

महोत्सवमा साहित्यिक कार्यक्रम, सांस्कृतिक कार्यक्रम, खेलकुदका कार्यक्रमका साथै सम्मानका साथै हरेक दिन सांस्कृतिक कार्यक्रम गरिने छ । महोत्सवस्थलमा रमाइलो मेलासमेत सुरु भएको छ ।


 

अन्तिम अपडेट: चैत २६, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया