विदेशमा फाँसी कुरेका सन्तानलाई पर्खने बाआमाका कथा

 असार १, २०७५ शुक्रवार १२:२२:३ | रीतु थेबे
unn.prixa.net

काठमाडौं – दार्चुलाको धारीका कर्णबहादुर बम र संखुवासभाको मत्स्यपोखरीका डिकमाया खालिङ राईले घरव्यवहार चलाउने काइदा धेरै फरक छैन । आयस्ताको बाटो उस्तै उस्तै हो । पहाडमा खेतीपाती गर्नुपर्छ । बस्तुभाउ पाल्नुपर्छ । त्यसैबाट हुने उब्जनी र आम्दानीले दुवैका परिवारलाई वर्षदिन खानलाउन मुस्किल पर्छ । 

आर्थिक अवस्था नाजुक हुँदा थुप्रै नेपाली युवालाई झैं कर्णबहादुर र डिकमायाका छोराहरुलाई पनि सात समुन्द्र पारी पुर्‍यायो । ‘अरबे’ बन्न अलिअलि त उनीहरुको रहर र सपना पनि जोडिएकै थियो होला । 

फरक फरक समयमा कर्णबहादुरका छोरो अमरबहादुर र डिकमायाका छोरा अनिश युएई पुगे । संजोगले पश्चिम नेपालका अमर र पूर्वी नेपालका अनिशको गन्तव्य एउटै देश बन्यो । सपना एकै खालका थिए, आनासुकी कमाएर परिवारको सुख र खुशीका लागि खर्च गर्ने । 

ती दुईलाई दुखिया पनि एकै खालको परिस्थितीले बनायो । दुवै जना पराई देशमा मान्छे मारेको अभियोगमा झ्यालखानामा परे । र अदालतले दुवैलाई मृत्युदण्डको सजाय सुनायो ।  

एकै किसिमको अभियोगमा जेल परेर मृत्युदण्ड सुनाइए पनि डिकमायाका छोरा अनिश २ वर्ष अघि बाँचेर घर आइपुगे । एक पाकिस्तानी नागरिकको हत्यापछि अनिश झण्डै ३ वर्ष युएईको एउटा जेलमा बसे । पाकिस्तानी नागरिकका परिवारले ब्लडमनी स्वीकार गरेपछि जेलमुक्त हुने अवसर उनले पाए । र २०७२ असार २३ मा नेपाल आए । 

गएको चैत १७ गते संखुवासभाको चिचिला गाउँपालिका ४ मत्स्यपोखरीस्थित घरमा भेटिएकी ६१ वर्षे डिकमायाले भन्नुभयो, ‘इष्टमित्रले छोरो बचाइदिए, मलाई भाग्य भयो,’ फुस्फुसाएर एकै सासमा सुनाउनुभयो, ‘त्यसबेला मेरो जिन्दगी रोइरहेको थियो । सबैले आफ्नो खर्चमा सहयोग गरे । अहिले छोरा आइपुग्यो, खुशी छु, ढुक्क छु ।’

 
‘छोरा जेलमा म धुरुधुरु रोएर हिँडेका हो । तपाईंहरुले सहयोग गर्नुभयो । छोराको फोटो हेर्दा म कति रुन्थे,’ मृत्युदण्ड दिने फैसला भइसकेको छोरोलाई जेलबाट घर फर्काउन गरेको हारगुहार डिकमायाले भुल्नुभएको छैन । 

मृत्युको मुखमा पुगेको छोरो सकुशल घर फर्कदा को आमा खुशी नहोलान् र । छोरो फर्केको २ वर्षपछि पनि डिकमायाको अनुहारमा त्यही खुशी झल्किन्छ । परिवारका अरु मानिस घरमा छैनन् । अहिले डिकमाया छोरो अनिशसित बस्नुहुन्छ । श्रीमान् भारतको आसाममा बस्छन् । जेठा छोरा बुहारी तराईतिर । कान्छी बुहारी र नातिनी (अनिशकी श्रीमती र छोरी)का साथै एक छोरी शहरमा बस्छन् । 

‘छोरा जेलमा म धुरुधुरु रोएर हिँडेका हो । तपाईंहरुले सहयोग गर्नुभयो । छोराको फोटो हेर्दा म कति रुन्थे,’ मृत्युदण्ड दिने फैसला भइसकेको छोरोलाई जेलबाट घर फर्काउन गरेको हारगुहार डिकमायाले भुल्नुभएको छैन । 

तर अमर भने मृत्युदण्ड कुर्दै दुवईको जेलमै छन् । डिकमायालाई भेटेको १० दिनपछि अथवा गएको चैत २७ गते दार्चुलाको धारी पुग्दा अमरका बुबा कर्णबहादुर घरैमा भेटिनुभयो । 

 
बरदुवईमा रहेको इण्डियन क्लबमा भारतीय व्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न भएको आरोपमा अदालतले दुई भारतीय नागरिकसहित अमरलाई सन् २००३ मा नै मृत्युदण्डको सजाय हुने फैसला सुनाएको थियो । सँगै पक्राउ परेका ती भारतीयले अमर निर्दोष रहेको लिखित बयान पनि दिएका छन् । तैपनि अमर छुटेका छैनन् ।

छोरो जेल पर्नु अघिसम्म कर्णबहादुरको घरव्यवहार राम्रैसँग चलेको थियो । छोराछोरी हुँर्कंदै थिए । आफ्नो जागिर पनि थियो । तर बुढेसकालमा कर्णबहादुरलाई चिन्ता र अभावले गलाउँदै लगेको छ । घर सम्हाल्नुपर्ने जिम्मेवारी अहिले पनि ६८ वर्षे कर्णबहादुरकै काँधमा छ । 

हो सन् अमर २४ जनवरी २००३ देखि दुवईको जेलमा छन् । बरदुवईमा रहेको इण्डियन क्लबमा भारतीय व्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न भएको आरोपमा अदालतले दुई भारतीय नागरिकसहित अमरलाई सन् २००३ मा नै मृत्युदण्डको सजाय हुने फैसला सुनाएको थियो । सँगै पक्राउ परेका ती भारतीयले अमर निर्दोष रहेको लिखित बयान पनि दिएका छन् । तैपनि अमर छुटेका छैनन् ।

अमरका बुवा कर्णबहादुरको मनभरी पीरको भारी छ । भएका पाँचै सन्तान आफ्ना आफ्ना गुँडतिर लागे । १० वर्षदेखि पिताको मन जेलमा रहेका माइला छोरा अमरमाथि छ । हुन त अमर पनि पखेटामा प्वाँख पलाएपछि उडि गएका हुन् । तर उनलाई परिस्थितिले खाडीको देशमा पिँजडाको सुगा बनायो । 

जेलमा परेको छोरा छुटाउन उहाँले चिनेका सबैलाई भेटेर हार गुहार माग्नुभयो । हिँड्न र गुड्न सकिने जति ठाउँ धाउनुभयो । त्यसो गर्दा दार्चुला जिल्ला विकास समितिमा कार्यालय सहयोगीबाट अवकाश लिँदा उपदानवापत पाएको तीन लाख रुपैयाँ सकियो । त्यतिले नपुगे पछि एक लाख २० हजार रुपैयाँमा एक खला बारी बेच्नुभयो । खर्च सकिएपछि कति मनकारीले खाना खर्च दिए । कतिले गाडी भाडा दिए । कतिले काठमाडौंमा बस्न होटल मिलाइदिए । 

अहिले वस्तुभाउको थोरै आयस्ता र गाउँमा दुखजिलो गरेको भरमा कर्णबहादुरले घरव्यवहार चलाउनु पर्छ । तैपनि जेलमा रहेका छोरा छुटाउने दौडधुप जारी छ । कर्णबहादुर भन्नुहुन्छ ‘छोरा छुट्ने भए यो घरजग्गाको पनि मतलव छैन । यो बिक्री गर्न पनि तयार छु । छोरा चाहिँ आउनुपर्‍यो ।’

 
दुवईको जेलमा अमरको बसाई लम्बिदा दार्चुलामा उनको रिहाईका लागि भाकल गरिएका बोका छिप्पिदै बुढा हुँदैछन् । अमरले पाएको मृत्युदण्डको सजायका बारेमा धेरै खालका खबर बाक्लिदै गएका छन् । तर अमरको रिहाईका लागि घरमा पालेका बोका र जेलमा मृत्युदण्ड कुरिरहेका अमरको नियति उस्तै हुने हो कि भन्ने आशंका बाक्लिदै गएको छ । 

मर्नुअघि उहाँको एउटै धोको छ, जेलबाट छोरो छुटाएर ल्याउने र बुहारीलाई छोराको जिम्मा लगाउने । आफ्नो भन्दा धेरै बुहारीको चिन्ता छ कर्णबहादुरलाई । 

अघिपछि कहिल्यै नपुगेका कर्णबहादुरलाई छोरो विदेशमा जेल परेपछि काठमाडौं आउजाउ गर्नुपर्ने भयो । एक चोटी होइन १० चोटी उहाँ काठमाडौं ओहोरदोहोर गरिसक्नुभयो । डा. बाबुराम भट्टराई, खिलराज रेग्मी र सुशील कोइरालालाई प्रधानमन्त्री रहेका बेला उहाँले सिंहदरबार पुगेर भेटनुभयो । तर उहाँको हारगुहारले अहिलेसम्म केही लागेको छैन । 

छोरा भोलि आउला, पर्सि आउला भनेर पर्खेको १० वर्ष बित्यो । कहिलेकाहीँ कर्णबहादुरलाई लाग्छ, ‘अब आफू पनि मर्ने बेला भयो । छोरो पनि त्यसै मर्ने भयो ।’ राष्ट्रपति विद्यादेवी भण्डारी युएई गएका बेला त्यहाँका राजासित भेट गरेको खबर परिवार र गाउँलेले पनि थाहा पाए । अमर छुट्यो भनेर त्यो बेला धेरै खुसीयाली गरेछन् । तर, त्यो खुसीयाली धेरै समय टिकेन । अमर फर्केनन् । 

त्यो घटनापछि कर्णबहादुरले बेला बेला छोरोलाई सपनामा देख्न थाल्नुभएको छ । भन्नुहुन्छ ‘सपनामा कहिले खाली बस्या देख्छु । नजिक आए आए जस्तो देखिन्छ । ब्युझिँदा पनि त्यस्तै लाग्छ ।’

सपनाको देखेको छोरो बिपनामा घर आइपुग्ने कुरो भएन । हतास कर्णबहादुरलाई हिजोआज भाग्यमा विश्वास लाग्न थालेको छ । त्यसैले आजकाल उहाँ देवीदेवताको शरणमा पर्नुभएको छ । छोराका निम्ति भाकल गरेर पालेको खसी देखाउँदै कर्णबहादुरले भन्नुभयो, ‘मन्दिरमा भाकेको खसी छोरा नआइन्जेल त्यत्तिकै रहन्छ । जुन दिन आयो त्यससँगै ८ वटा खसी काटिन्छ ।’ 

देशका उच्चपदस्थ नेता, सांसद्लाई हात जोड्दा पनि छोरा फर्काउन नसके पछि कर्णबहादुरले आफ्ना कुल देवता कोल्से, केदार र ब्रह्मसित भाकल गर्नुभएको छ । जनवरी २४ का दिन दार्चुलाका अमरबहादुर बम दुवईको जेलमा परेको १४ वर्ष पूरा भएर १५ वर्ष लाग्यो । अमरको रिहाईका लागि भाकल गरेर धारी गाउँमा पालेको एउटा बोको ८ वर्ष पुगेपछि कालगतिले मर्‍यो । पहिलेको बोको मरेपछि भाकल गरेको अर्को बोको पनि अहिले ४ वर्षको भैसक्यो । 

दुवईको जेलमा अमरको बसाई लम्बिदा दार्चुलामा उनको रिहाईका लागि भाकल गरिएका बोका छिप्पिदै बुढा हुँदैछन् । अमरले पाएको मृत्युदण्डको सजायका बारेमा धेरै खालका खबर बाक्लिदै गएका छन् । तर अमरको रिहाईका लागि घरमा पालेका बोका र जेलमा मृत्युदण्ड कुरिरहेका अमरको नियति उस्तै हुने हो कि भन्ने आशंका बाक्लिदै गएको छ । 

अन्तिम अपडेट: साउन २९, २०७५

रीतु थेबे

वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्ने थेबेलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया