जनप्रतिनिधिका उदाहरणीय काम : आफू चढ्ने गाडीको सट्टा पुल र एम्बुलेन्स

 पुस ६, २०७५ शुक्रबार १०:७:४५ | मदन पौड्याल
unn.prixa.net

ओखलढुङगाको खिजीदेम्बा गाउँपालिका ९ का दोर्जी शेर्पा वडा सदस्य हुनुहुन्छ । जनप्रतिनिधि भएपछि उहाँले अरु कामसँगै दुईवटा पुल पनि बनाउनुभयो । उहाँले भत्ता र नपुग रकम थपथाप गरी २ लाख ३५ हजार लागतमा गाउँमा दुईवटा पुल बनाउनुभएको हो । काठैकाठले बनेको पुलमाथि जस्ताको छाना राखिएको छ । पुल बनेपछि चुनावमा बोलेको वाचा मात्रै पूरा भएन, खोला तर्न समेत सहज भएको वडा सदस्य शेर्पाले बताउनुभयो ।

त्यसैगरी गाउँपालिकाभित्रका युवालाई रोजगारी सिर्जना गरी चर्चामा आएको कालिकोटको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले आफ्नै तलब समेत खर्च गरी एम्बुलेन्स खरिद गर्ने घोषणा गर्नुभएको छ । बिभिन्न संघसंस्था र गाउँपालिकाबाट एम्बुलेन्स खरिदका लागि ३ लाख ७८ हजार ७ सय १५ रुपैयाँ रहेको र बमको मासिक ३० हजार रुपैयाँका दरले १६ महिनाको तलब ४ लाख ८० हजार रुपैयाँ जम्मा गरी एम्बुलेन्स किन्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।

बाँकेको खजुरा गाउँपालिका ४ का वडाअध्यक्ष तिलकवीर सुनारले डी गाउँकी प्रतिमा शर्मालाई एमबीबीएस पढ्न ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । त्यति मात्र होइन उहाँले थप सहयोग जुटाउन गाउँपालिकामा अभियान नै चलाउनुभएको छ । अभियानबाट अहिलेसम्म झण्डै ७ लाख रुपैयाँ जम्मा भएको वडाअध्यक्ष सुनारले बताउनुभयो ।

अछामका २ स्थानीय तह रामारोशन र तुर्माखाँद गाउँपालिकामा यातायात सुविधाका लागि छुट्याएको बजेट जनप्रतिनिधिले विकास निर्माणमा खर्च गर्दैछन् । रामारोशन गाउँपालिकाको दोस्रो गाउँसभाबाट गाडी किन्न विनियोजित १ करोड २५ लाख रुपैयाँ रामारोशन पर्यटन क्षेत्रको विकास र पूर्वाधार निर्माणमा खर्च गर्ने भएको गाउँपालिका अध्यक्ष झंकरबहादुर साउदले बताउनुभयो । आफू गाडी चढेर सुविधाभोगी हुनुभन्दा विकास निर्माणमा खर्च गर्दा नै राम्रो हुने उहाँको भनाइ छ ।

त्यस्तै तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले वडा नम्बर १ र २ मा सडक पु¥याउन ६० लाख रुपैयाँ खर्च हुने बताउनुभयो । सबै वडामा गाडी पुग्ने नभइकन आफूले गाडी नकिन्ने घोषणा गरेको पनि शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाउँपालिकाको सबै वडामा सडक पुगेको छैन, नागरिकले विकासको अनुभूति गर्न पाएका छैनन्, म मात्रै किन करोडौंको गाडीमा चढ्ने ?’

जुम्लाको तिला गाउँपालिका ९ का वडाअध्यक्ष शेरबहादुर बोहोराले घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता बाँड्ने गर्नुभएको छ । वडा कार्यालय पुग्न ४/५ घण्टासम्म लाग्ने भएकाले जनप्रतिनिधि नै घरघरमा पुगेपछि स्थानीयबासिन्दाले साँच्चिकै सिंहदरबार गाउँमा पुगेको अनुभूति गरेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका १ का वडाअध्यक्ष आसेफ कुँवर भुन्टुले सरकारी सुविधा नलिने भन्दै आफ्नो तलब भत्ता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिलाई वितरण गर्नुभएको छ । लोकसेवा पास गरी तलब भत्ता खाने गरी स्थानीय तहमा नआएको भन्दै उहाँले जनप्रतिनिधिले स्थानीय तहबाट तलब सुविधा लिनु अशोभनिय हुने समेत बताउनुभयो ।

जुम्लाका बोहोरा र कञ्चनपुरका कुँवरले जस्तै काठमाडौंको शंखरापुर नगरपालिका ७ का वडाअध्यक्ष राधाकृष्ण श्रेष्ठले पनि उदाहरणीय काम गर्नुभएको छ । सरकारी सेवा सुविधा नलिने मात्रै होइन उहाँले आफै घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नुभएको छ । आफ्नो कार्यकालसम्म नै घरघरमै पुगेर भत्ता वितरण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

म्याग्दीको रघुगङगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पनि तलब भत्ता शिक्षामा परिचालन गर्ने गरी कोष स्थापना गर्नुभएको छ । उहाँले मासिक ३० हजार रुपैयाँ तलब पाउनुहुन्छ । पहिलो वर्षको रकम सबै कोषमा जम्मा गरिसकेको भण्डारीले बताउनुभयो । पाँच वर्षको अवधिमा झण्डै २५ लाख रुपैयाँ कोषमा जम्मा हुनेछ । 

म्याग्दीकै मङगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आफ्नो तलबबाट किसानी आधारभूत विद्यालयलाई तीन लाख ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका २ का जनप्रतिनिधिले पनि आफ्नो तलब भत्ताबाट सरस्वती आधारभूत विद्यालयलाई भौतिक सामग्री र विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । वडाध्यक्ष यामप्रसाद गुरागाई, सदस्यहरु अरुणा राई, अग्नी गुरुङ, सीता भुषाल र पर्शुराम न्यौपानेले १५ हजार रुपैयाँ बराबरको स्वीटर किनेर विद्यालयलाई प्रदान गर्नुभएको हो । न्यानो कपडा वितरण अगाडि जनप्रतिनिधिले ५० हजार रुपैयाँ बराबरको भौतिक सामग्री खरिदमा सहयोग गरेका थिए ।

देशभरका ७ सय ५३ स्थानीय तहमा ३५ हजार ४१ जनप्रतिनिधि छन् । धेरै स्थानीय तहमा राम्रा कामभन्दा बेतिथिकै चर्चा बढी सुनिन्छ । तर मन भित्रैबाट इच्छाशक्ति भए जनप्रतिनिधिले पनि राम्रा काम गर्न सक्छन् भन्ने यी त केही उदाहरण मात्रै हुन् । अरु केही जनप्रतिनिधिले पनि यसैगरी नागरिकको मन जित्ने गरी काम गरिरहेका छन् । उनीहरु जनप्रतिनिधिका रुपमा उदाहरण समेत बनेका छन् ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

1 Comments

  • युवराज श्रेष्ठ

    Dec. 21, 2018, 1:31 p.m.

    यस्ता उदाहरणीय काम गरेर देखाउनुहोस्। अर्को पटकलाई तपाई पुनः विजयी हुनुहुनेछ। अन्य जन प्रतिनिधिहरूले पनि यसबाट पाठ सिकुन्।

  •  0 Reply

तपाईको प्रतिक्रिया