राडीपाखी र अल्लो उद्योग संकटमा

 पुस ६, २०७५ शुक्रबार १७:३८:११ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – विभिन्न ठाउँमा स्थानीयले चलाइरहेका राडीपाखी र अल्लोका घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेको छ ।

कच्चा पदार्थबाट उत्पादन गर्न सकिने राडीपाखीको उचित बजार अभावका कारण उद्योग सञ्चालन समस्या भएको हो । उत्तरी र पश्चिमी क्षेत्रमा भेडाको उनबाट उत्पादन हुने राडी, लुकुनी, घुमराडीलगायतका सामाग्रीले बजार नपाएपछि पछिल्लो समय उत्पादनमा कमी आएको छ ।

‘कुलुङ, खार्ताम्छा, दोभाने, खाटाम्म किमालुङ्ग पूर्वी जरायोटार र चरम्बीमा लामो समयदेखि उत्पादन गरिँदै आएकोे अल्लोका सामग्रीले बजार नपाएको साल्पासिलिछो गाउँपालिकाका दिक्पाल राईले बताउनुहुन्छ ।

राईले भन्नुभयो, ‘अल्लोको रेसा निकालेर सुकाउने, पकाउने कुट्ने जस्ता प्रक्रियाबाट सामाग्री बनाउनु पर्ने साथै बजार नजिक नहुँदा समस्या हुने गरेको छ । धेरै श्रम गरेर सामाग्री उत्पादन गरे पनि गाउँमा बिक्री नहुने र भोजपुर र संखुवासभासम्म पुर्‍याउँदा उचित मूल्य नपाउँदा सास्ती ब्यहोर्नु परेको छ ।

राडीपाखी र अल्लोबाट तयार पारिने घरेलु उद्योगबाट उत्पादित सामाग्रीबाट पारिश्रमिक समेत नउठेपछि उत्पादनमा कमी आएकोे उद्योग सञ्चालकहरुले बताउने गरेका छन् । भौगोलिक विकटताकाबीच ग्रामीण भेगका सर्वसाधारणले गाउँघरमै संकलन गरेको अल्लोबाट झोला, बर्की, लत्ताकपडालगायत विभिन्न सामाग्रीहरु निमार्ण गरे पनि गाउँमा बजार नभएपछि त्यसै थन्काएर राख्नुपर्ने बाध्यता रहेको छ ।

यसरी घरेलु उद्योगहरु बन्द हँुदै जाँदा भेडापालक कृषक तथा अल्लो काँडेर जिविकोपार्जन गर्नेहरुको समेत पेशा धरापमा परेको छ ।

भेडापालन व्यवसाय धरापमा

भेडाको ऊनबाट तयार पारिने राडीपाखीलगायतका समाग्रीले उचित मूल्य नपाएपछि भेडा पालक कृषकहरु समेत यो व्यवसायवाट बिचल्लित भएका छन् । ऊनको मूल्यमा समेत गिरावट आएपछि भेडापालक कृषकहरुको पेशा समेत धरापमा परेको हो ।

मैयुङक्षेत्रमा भेडा पाल्दै आएका लाक्पानेरु शेर्पाका अनुसार विगतका तुलनामा अहिले ऊनको माग हुन छाडेको छ । विगतमा ऊन प्रति केजी एक हजारका दरले बिक्री हुने भएपनि पछिल्ला समय ऊन खरिद गर्ने ठेकदार भेडीचोकमा आउन छाडेको शेर्पाले बताउनुभयो ।

भोजपुरमा पश्चिमी टेम्केमैयुङ्ग गाउँपालिकाको वडा नम्बर–९, लेखर्क वडा नम्बर–४, नागी, वडा नम्बर–२, छिनमुख र वडा नम्बर–१, तिम्मामा भेडापालक कृषकहरु रहेका छन् ।

त्यस्तै उत्तरी षडानन्द नगरपालिकाको वडा नम्बर १३ र १४ र ९ वोया, वडा नम्बर १० साङ्गपाङमा समेत भेडापालक कृषक रहेका छन् भने साल्पा सिलिछो गाउँपालिकाको वडा नम्बर ५ र ६ दोभानेमा समेत भेडा पालन व्यवसाय परापूर्व कालबाटै गरिँदै आइएको छ । यी सबै गाउँमा पछिल्ला समय भेडापालक कृषकहरुको संङ्ख्य घट्दै आएको छ ।

अल्लो तथा राडीपाखी उद्योगलाई सामूहिक उद्योगको रुपमा विकास गरिने

घरेलु तथा नगर उद्योग विकास समितिले भने अल्लो तथा राडीपाखी उद्योगलाई सामूहिक उद्योगको रुपमा विकास गर्ने योजना रहेको जनाएको छ ।

‘राडी बुन्ने र अल्लोका कपडा तयार पार्ने आधुनिक औजार वितरण गर्नका साथै तालिम सञ्चालन गरिने’ घरेलु तथा नगर उद्योग समितिका प्रमुख चेतनाथ गौतमले बताउनुभयो ।

अल्लो तथा ऊनबाट तयार पारिने सामाग्रीहरुको प्रकृति समेत मिल्ने र औजारहरुसमेत एकै प्रकारका हुने हुँदा यी दुई उद्योगलाई सामूहिक उद्योगका रुपमा विकास गरिने जनप्रतिनिधिहरुको धारणा रहेको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया