पाँच वर्षदेखि ७७ किलोवाट विद्युत उपयोग भएन

 पुस ६, २०७५ शुक्रबार १८:४:१८ | चन्द्र थापा
unn.prixa.net

अछाम – अछामका कतिपय स्थानीय तह र गाउँमा अझै विद्युत पुग्न सकेको छैन ।

कतिपय नागरिकहरु विद्युत नभएर सोलारको प्रयोग गरिरहेका छन । तर मेल्लेख गाउँपालिकाको ऋषीदहमा रहेको कासागाड लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत भने खेर गइरहेको छ ।

मेल्लेखको वडा नम्बर १ र २ ऋषी दहका एक हजारभन्दा बढी घरधुरीका ५ हजार उपभोक्तालाई चौबिसै घण्टा विद्युत उपभोग गरेर पनि विद्युत खेर गइरहेको आयोजनाले जनाएको छ । २०७० सालबाट नियमित रुपमा बलिरहेको ९२ किलोवाट क्षमताको काँसागाड लघुजलविद्युत आयोजनाबाट अहिलेसम्म स्थानीयले १५ किलोवाट विद्युत मात्रै उपभोग गरिरहेका छन ।

बाँकी ७७ किलोवाट विद्युत सदुपयोग हुन नसक्दा खोलामा बगिरहेको आयोजनाका अध्यक्ष अर्जुन धामीले बताउनुभयो । पाँच वर्षदेखि खेर गइरहेको ७७ किलोवाट विद्युत सदुपयोग हुन नसक्दा आयोजना, गाउँवासी र समग्र गाउँपालिकालाई नै घाटा भइरहेको धामीको भनाई छ ।

तत्कालीन अवस्थामा बैकल्पिक उर्जा, संसदीय कोष र विभिन्न संघ–संस्था तथा उपभोक्ताको जनश्रमदानमा कुल १ करोड ४७ लाख लागतमा निर्माण भएको जलविद्युत आयोजनाको व्यवस्थापन कमजोर भएका कारण विद्युत खेर गइरहेको जनाइएको छ । खेर गैरहेको विद्युत सदुपयोगका लागि ठोस योजना नबन्दा सबैलाई घाटा भइरहेको वडा नम्बर २ का अध्यक्ष दानबहादुर बुढाको भनाई छ ।

विद्युतका कारण गाउँमा टुकी र झरो युगको अन्त्य भएको छ भने स्थानीयलाई कम्प्युटर सिक्न, फोटो धुलाउन, फोटोकपीलगायतका इलेक्ट्रोनिक्स काम गर्न निकै सहज भइरहेको छ । तर बढी भएर खेर गएको विद्युत सदुपयोगका लागि कुनै पहल नहुँदा भने स्थानीय निकै चिन्तित छन । स्थानीयस्तरमा कुटानी पिसानी मिल, फर्निचर उद्योग, कागज तथा अल्लो उद्योग सञ्चालन गर्ने गरी विद्युत सदुपयोग गर्न सकिने भएपनि गाउँपालिकाले त्यतातिर खासै चासो दिएको छैन ।

अहिले जुन अवस्थामा छ त्यसैलाई निरन्तरता दिइने र गाउँपालिकामा राष्ट्रिय प्रशारण लाइन जोडिएपछि त्यसको व्यवस्थापन गरिने गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले बताउनुभयो । खेर गैरहेको विद्युतलाई अन्धकारमा रहेका अन्य वडाका गाउँबस्तीसम्म वितरण गर्ने गरी गाउँपालिकाले सोचिरहेको अध्यक्ष बोहराको भनाई छ ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया