जानकी मेडिकल कलेजका व्यवस्थापक फरार, विद्यार्थी ताेडफाेडमा

 असार १, २०७५ शुक्रबार १४:१०:९ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – रमदैयामा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा अध्ययनरत विद्यार्थीहरु अहिले आन्दोलनमा उत्रेका छन् ।

कर्मचारीको आन्दोलनले कलेजको पठनपाठन एक महिनाभन्दा बढी समयदेखि बन्द भएको जानकी मेडिकल कलेजमा फेरि विद्यार्थीको आन्दोलनले पठनपाठन अन्योलमा परेको हो । गएको वैशाख २३ गतेदेखि कलेज तथा अस्पतालमा कार्यरत साढे ४ सय कर्मचारी बाँकी बक्यौता तलबभत्ता माग गर्दै अनिश्चितकालीन कलेज तथा अस्पालको पठनपाठनसहित सबै सेवा ठप्प गरेर आन्दोलनमा उत्रेका छन् ।

कर्मचारीको आन्दोलनले कलेज व्यवस्थापक समेत फरार हुँदा विद्यार्थीहरु समस्यामा परेका छन् । एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत्त ६५ जना विद्यार्थी प्रयोगात्मक परीक्षाबाट समेत बञ्चित भएका छन् । उनीहरुको प्रयोगात्मक परीक्षाको समय गएको वैशाख ८ गते थियो । कर्मचारीहरुको आन्दोलनको कारण परीक्षा अनिश्चित समयका लागि स्थगित भएको थियो ।

परीक्षाबाट समेत बञ्चित अन्तिम वर्षका विद्यार्थीहरुले आफूहरुको भविष्य नै धरापमा पारेर व्यवस्थापन समेत फरार भएपछि बाध्य भएर शुक्रबारदेखि आन्दोलनमा उत्रेको बताएका छन् । उनीहरुले बिहानै जानकी मेडिकल कलेजको मूलद्वारमा टायर बालेर प्रदर्शन गर्नुको साथै कलेजको ज १ त ३२७ नम्बरको बसमा समेत तोडफोड  गरेका छन् । 

सम्बन्धीत निकायहरुले ध्यान नदिँदा त्यहाँ अध्ययनरत साढे ३ सय विद्यार्थीको भविष्य संकटमा परेको छ । व्यवस्थापन पक्ष समेत फरार हुँदा त्यहाँ होस्टेलमा बसेका विद्यार्थीहरुलाई खाने लाउने समेत समस्या हुनुको साथै विद्युत, सरसफाई समेत हुन सकेको छैन । त्यसैले विद्यार्थीहरु समेत तनावमा परेका छन् । उनीहरुले आफूहरुलाई उद्धार गरिदिन सबै पक्षसँग गुहार गरेका छन् ।

कलेजको समस्या समाधान गर्न प्रदेश नम्बर २ सरकारले पनि पहलकदमी लिएको थियो । तर सकेन । पछि व्यवस्थापन पक्ष नै फरार भएको विद्यार्थी जनाएका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया