को हुन् रवि ओड ? जसले दोस्रो नेपाल आइडलको उपाधि हात पारे

 पुस ७, २०७५ शनिबार १०:५२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

सुदूरपश्चिमको कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ सालमा तेस्रो सन्तानका रुपमा जन्मिएका हुन् रवि ओड ।

गरिब परिवारमा जन्मिएका रविलाई आफ्नो सांगितिक यात्रा अघि बढाउन निकै गाह्रो भयो । रवि बाजेको प्रेरणाले सांगितिक क्षेत्रमा अघि बढेका हुन्  । 

रविका बुवा बर्षौँदेखि भारतमा काम गरिरहनु भएको छ । रवि पनि केही वर्ष पैसा कमाउन भारत गएका थिए । तर, उनको मनले नमाने पछि उनी स्वदेश फर्किए । आफ्नो सपनालाई पूरा गर्ने कोसिसमा लागिरहे । यही क्रममा उनी नेपाल आइडलमा सहभागी बन्न पुगे । 

धनगढी अडिसनमा कमल खत्रीको आवाजमा रहेको ‘जाउँला रेलैमा’ बोलको गीत गाएर ओड नेपाल आइडलमा प्रवेश पाएका थिए। 

स्थानीय स्तरदेखि नेपाल आइडलसम्मको यात्रा 

नेपाल आईडलमा जानुपूर्व पनि स्थानीय ठाउँमा विविन्न महोत्सवमा उनी सहभागी हुन्थे । संगीतमा विषेश रुची थियो उनको । गीत गुनगुनाइरहन्थे । रविले भने ‘नेपाल आइडल त मेरो लागि मीठो सपना मात्रै थियो, तर साथीभाइ र परिवारको सपोर्टपछि आइडलमा सहभागी हुन पुगेँ ।’ 

उनी अहिले दोस्रो नेपाल आइडल बनेका छन् । गरिब परिवारमा हुर्केका रविलाई जिताउन देश विदेशका समर्थकहरुले रवि ओड जिताऔँ अभियान नै सञ्चलान गरेका थिए । देउडा गीतका साथै हरेक विधाका गीतमा पोख्त रविले हरेक पाइलामा आफूलाई उत्कृष्ट बनाउँदै लगेका छन् । 

‘हिलोमा फूलेको कमल’

रविलाई धेरैले हिलोमा ‘फूलेको कमल’को संज्ञा दिएका छन् । उनले कहिल्यै संगीत सिक्ने अवसर पाएनन् । सुदूरपश्चिमको त्यो झुपडी नै उहाँको पाठशाला थियो । घर खर्च चलाउनकै लागि उनी २०७० सालको चुनावमा उनी म्यादी प्रहरीमा पनि भर्ना भएका थिए । 

‘सानो छँदा मैले गुनगुनाएको सुन्दा आमाले भन्नुहुन्थ्यो, ‘तिमी एकदिन ठूलो कलाकार बन्नेछौ ।’ रविले निराश हुँदै भने ‘तर अहिले मेरो यो सफलता हेर्नका लागि मलाई जन्मदिने आमा यो संसारमा हुनुहुन्न । कान्छि आमाले पनि मलाई धेरै सपोर्ट गर्नुभएको छ ।’ 

दोस्रो नेपाल आइडल 

शुक्रबार ललितपुरको पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पसको मैदानमा आइडल घोषणा भएपछि रविले खुसिका आँसु झार्दै भने ‘यो मेरो मात्रै जित होइन, सबै नेपालीको जित हो । मेरा फ्यानहरुको मेहनत, साथ र सहयोगको नतिजा हो यो ।’ 

नेपाल आइडल बनेपछि उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘देश विदेशबाट हजुरहरुले म प्रति देखाउनु भएको माया, साथ र सहयोगको लागि म भित्री मनदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु, र न्यानो सम्झना छ ।’

उनले आफ्ना समर्थकहरुलाई भगवानको दर्जा दिँदै लेखेका छन् ‘हजुरहरुको यो माया अनि सपोर्ट कहिले भुल्ने छैन । हजुरहरु नै हो मेरो लागि भगवान ।’

नेपाल आइडलको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै रवि आइडल बनेका हुन् । प्रतियोगीताको फष्र्ट रनर अप पोखराका विक्रम बराल, सेकेण्ड रनर अप झापाका सुमित पाठक र झापाकै अस्मिता अधिकारी चौथो भएका थिए । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया