नागरिकता किर्ते अभियोगमा थुनामा रहेका भारतीय नागरिकको मृत्यु

 पुस ७, २०७५ शनिबार १६:५१:२१ | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – नागरिकता किर्ते अभियोगमा प्रकाउ परेर सप्तरी कारागारमा थुनुवा जीवन बिताइरहेका एक भारतीय नागरिकको ज्यान गएको छ ।

भारतको हरियाणा प्रदेशका अन्दाजी ४० वर्षीय सतिश अग्रवालको ज्यान गएको सप्तरी कारागार श्रोतले जनाएको छ । मुटुको समस्या र चिनी रोगका कारण थलिएका अग्रवालको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको थियो ।

अग्रवालको अस्पतालमा नै ज्यान गएको सप्तरी कारागारका जेलर सत्यनारायण यादवले जानकारी दिनुभयो । सुनसरीको दुहबी निवासी अग्रवाललाई सप्तरी जिल्ला अदालतको आदेश अनुसार गएको वैशाख २४ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो । उहाँमाथि गलत विवरण पेस गरी नेपाली नागरिकता लिएको विषयमा मुद्दा दर्ता भएको छ ।

भारतीय नागरिक अग्रवालले सप्तरी सदरमुकाम राजविराज नगरपालिका–१, बाट वंशजका आधारमा नेपाली नागरिकता लिएको प्रहरी श्रोतको दाबी छ । अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा गएको फागुन २३ गते परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरी  अनुसन्धान सुरु गरेको थियो ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया