नेकपा स्थायी समिति बैठक आरोप प्रत्यारोपमै केन्द्रित

 पुस ७, २०७५ शनिबार १९:४:२३ | नवराज फुयाँल
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी, नेकपाको स्थायी समिति बैठकमा नेताहरुबीच आरोप प्रत्यारोप र बचाउको चरण चलिरहेको छ ।

२९ गतेदेखि जारी बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । ४५ सदस्यीय नेकपाको स्थायी समितिमा तत्कालीन एमालेबाट २६ र माओवादीबाट १९ जना सदस्य छन् । धेरै सदस्यले बैठकमा आफ्नो भनाइ राखिसकेका छन् ।

बैठकमा बोल्ने अधिकांश नेताहरुले नेतृत्वद्वयको प्रतिवेदनले पार्टीको बैचारिक र राजनीतिक लाइन प्रष्ट नपारेको, आत्मालोचना र आलोचना स्वीकार नगरेको जस्ता विषय नसमेटिएको भन्दै प्रतिवेदन पुनर्लेखन गर्नुपर्ने माग अगाडि सारेका छन् ।

अध्यक्षद्वयको प्रतिवेदनले समग्र अवस्था समेट्न नसकेको भन्दै नेता बामदेव गौतमले छुट्टै प्रतिवेदन बैठकमा पेश गर्नुभयो । यस्तै भिम रावलले पनि अध्यक्षद्वयको प्रतिवेदन प्रति असहमति जनाउँदै लिखित रुपमा अर्को छुट्टै दस्तावेज दर्ता गराएका छन् ।

बैठकको सुरुवाती दिनदेखि नै आफ्नो धारणा राख्ने नेताहरुले सरकारको कामकारवाही प्रति असन्तुष्टि जनाउनुका साथै युनिभर्सल पिस फेडेरेसनले काठमाडौंमा गरेको सम्मेलन  र एक व्यक्ति एक पदका बारेमा कुरा उठाएका छन् ।

बैठकमा बोल्ने पार्टीका प्रवक्ता समेत रहनुभएका नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतले एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागितामा प्रश्न उठाउँदै  पार्टी अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालले आत्मालोचना गर्नुपर्ने माग पनि गरेका छन् ।

यस्तै नेताहरु बामदेव गौतम, सरेन्द्र पाण्डे, योगेश भट्टराई, भिम रावल, घनश्याम भुसाल, रघुजी पन्तलगायतले एउटै व्यक्ति सरकारमा पनि पार्टीमा पनि हुँदा दुवै तर्फको काम लथालिंग भएको भन्दै एक व्यक्ति एक पद कायम गर्नुपर्नेमा जोड दिनुभयो ।

बामदेव गौतमको फरक मतमा पनि एकजना अध्यक्ष र एकजना प्रधानमन्त्री हुनु पर्ने उल्लेख गरेका छन् । बामदेव गौतमको प्रतिवेदनप्रति इंगित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले मिल्ने भए दुईजना प्रधानमन्त्री हुने थियौँ भनेर सार्वजनिक रुपमा अभिव्यक्ति नै दिनुभएको थियो । प्रधानमन्त्रीको जवाफमा गौतमले दुई तिहाइ छँदैछ संविधान संसोधन गरेर दुवैजना प्रधानमन्त्री बनेर देखाउन चुनौति नै दिनुभयो ।

पार्टी अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्य शंकर पोखरेल र पृथ्वीसुब्बा गुरूङ दोहोरो जिम्मवारीमा छन । ओली अध्यक्षसहित प्रधानमन्त्रीको भूमिकामा हुनुहुन्छ भने पोखरेल प्रदेश ५ का मुख्यमन्त्री र पार्टीको प्रदेश इञ्चार्ज हुनुहुन्छ । यस्तै गुरूङ गण्डकी प्रदेशको मुख्यमन्त्री र पार्टीको प्रदेश इञ्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।

बैठकमा बोल्दै प्रदेश ५ का मुख्यमन्त्री एवं प्रदेश इन्चार्ज शंकर पोखरेलले बरु आफू मुख्यमन्त्री छाड्न तयार रहेको तर पार्टीको जिम्मेवारी नछाड्ने जनाउनुभएको थियो । यस्तै बैठकमा बोल्दै नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री पोखरेलले इमोशनल ब्ल्याकमेलिङ गर्न खोजेको बताउनुभएको थियो ।

पाण्डेको भनाइप्रति पार्टी महासचिव विष्णु पौडेलले आपत्ति जनाउँदै आत्मालोचना गर्न माग गर्नुभएको छ । आफ्नो गल्ती स्विकार्दै पाण्डेले बोली फिर्ता लिनुपर्ने पौडेलको माग छ । शनिबारको बैठकमा पौडेलले सरकारले सकारात्मक काम गरिरहेको भन्दै बचाउ गर्नुभएको थियो ।

यस्तै शनिबारकै बैठकमा वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको पूजा गर्नु आवश्यक नरहेको टिप्पणी गर्नुभएको छ । अध्यक्षद्वयले प्रस्तुत गरेको प्रतिवेदन आत्मप्रसंशाको पुञ्ज रहेको भन्दै नेता नेपालले त्यसलाई सच्चाउनु पर्नेमा जोड दिनुभयो ।

पार्टी प्रवक्ता समेत रहनुभएका नारायणकाजी श्रेष्ठले बैठकमा व्यक्त भएका भनाइलाई लिएर समर्थक र विरोधी भनेर कित्ताकाट गरेर सिध्याउने काम नहोस भन्दै नेतृत्वलाई सचेत समेत गराएका छन् । योगेश भट्टराईले पार्टी अध्यक्ष आफैले गुटगत राजनीति गरिरहेको आरोप लगाउनुभएको थियो ।

बैठकमा पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पुर्‍याउन नसकेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना पनि भएको छ । बैठकमा सरकारको काम कारबाही प्रभावकारी गराउन भन्दै केही नेताहरुले मन्त्रीपरिषद पुनर्गठन गर्न पनि माग गरेका छन् ।

सरकारमा सहभागी मन्त्रीहरूले भने नेतृत्वको बचाउ गरेका छन् । उर्जामन्त्री वर्षमान पुन,  पूर्वाधार मन्त्री रघुवीर महासेठ, वनमन्त्री शक्ति बस्नेत, योजना आयोगका उपाध्यक्ष पुष्प कँडेल, मुख्यमन्त्रीहरु पोखरेल र गुरुङले सरकारले राम्रो काम गरिरहेको भन्दै बचाउ गरेका छन् ।

पार्टी मुख्यालयमा जारी बैठकमा अधिकांश नेताले अध्यक्षद्वयले पेश गरेको प्रतिवेदन तथा बामदेव गौतमले पेश गरेको छुट्टै प्रतिवेदनमाथि धारणा राखेका छन् । अब नेता प्रदीप ज्ञवालीले धारणा राख्ने क्रम बाँकी रहेको छ ।

शनिबार अमेरिकाको भ्रमणबाट फर्केर बैठकमा सहभागी भएका नेता ज्ञवालीले शनिबारको बैठकमा बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिने पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

ज्ञवालीले धारणा राखिसकेपछि अध्यक्षद्वयले सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने कार्यक्रम छ । पार्टी अध्यक्षद्वयले जवाफ दिइसकेपछि प्रतिवेदन पारित गर्ने वा परिमार्जन गर्ने भन्ने विषय टुंगोमा पुग्ने छ ।

निरन्तर बैठक नबस्दा नेताहरुबीच सम्बादको वातावरण हुन नसकेकाले अहिलेको बैठकमा आरोप प्रत्यारोप देखिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।  


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया