कोरियाबाट फर्किएकाले ट्रेकिङ गाइडको काम पाउने

 पुस ८, २०७५ आइतबार १४:१२:२० | मोहन पौडेल

काठमाडौं – वैदेशिक रोजगारीका लागि कोरिया गएका नेपाली कामदारले नेपाल फर्किएपछि ‘ट्रेकिङ गाइड’को काम पाउने भएका छन् । कोरियाबाट फर्किएका कामदारलाई समाजमा पुनस्र्थापना गर्न सघाउने गरी दक्षिण कोरिया सरकारले उनीहरुलाई ट्रेकिङ गाइडको काम दिलाउन सघाउने भएको हो ।

तीन वर्षअघि सन् २०१५ मा गरिएको सर्वेक्षणले कोरियाबाट फर्किएका कामदारको पहिलो रोजाईमा ट्रेकिङ गाइडको काम देखाएपछि कोरियाको मानव संशाधन विभागले यसमा नेपाल सरकारलाई सघाउने भएको हो । 

आउँदो बुधबार नेपालका र कोरियाका संस्थाबीचमा  सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । कोरिया मानव संशाधन विकास सेवा केन्द्र (एचआरडी कोरिया) ले विश्व ओक्टा, कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाल, कोरिया साउथ इष्ट पावर कम्पनी र युएम अमहोङगील ह्युमन फाउण्डेसनसँग समन्वय गरी काम उपलब्ध गराउने जनाएको छ । 

नेपाल पर्यटन बोर्डको तथ्याङ्कले सन् २०१७ मा ३४ हजार ३ सय १ जना दक्षिण कोरियाका नागरिक नेपाल घुम्न आएको देखाएको छ । सन् २०१५ मा १८ हजार १ सय १२ आएकोमा हरेक वर्ष सङ्ख्या बढिरहेको र कोरियाबाट फर्किएका कामदारको रुची पनि ट्रेकिङ गाइड भएकाले यस्तो सम्झौता गर्न लागिएको एचआरडी कोरियाले जनाएको छ । 

एचआरडी कोरियाले ४ वर्षभन्दा बढी कोरियामा बसेर त्यहाँको संस्कृति राम्ररी बुझेका र कोरियन भाषा परीक्षा इपीएस तेस्रो श्रेणीभन्दा माथिल्लो श्रेणी ल्याएकाहरुलाई कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन फर नेपालमा कामका लागि सिफारिस गर्नेछ ।

यही सिफारिसका आधारमा कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर एसोसिएसन अफ नेपाललेले सिफारिश पाएका कामदारको समूहलाई ट्रेकिङ् गाईडको काम भएका बेला समन्वय गरी रोजगारी दिने छ । यस्तै फर्किएका कामदारलाई नेपालमै रहेका कोरियन कम्पनीहरुमा काम दिलाउन वल्र्ड ओक्टा नेपाल शाखाले मध्यस्थकर्ताको काम गर्ने भएको छ ।

कोरिया साउथ इष्ट पावर कम्पनीले फर्किएका कामदारहरुलाई दिगो रोजगारीमा लाग्न सक्ने गरी सघाउने छ । एचआरडी कोरियाले यो सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारलाई पनि अनुरोध गर्ने भएको छ । दक्षिण कोरियाको कम्पनीमा ९ वर्ष ८ महिना काम गरेपछि आफ्नो देश फर्किनुपर्ने व्यवस्था छ ।

फर्किएका कामदारका लागि विभिन्न शिक्षा र प्रशिक्षण, स्वेच्छिक स्वदेश फिर्तीबारे जानकारीमुलक कार्यक्रम, स्वदेश फर्किएपछि सफल भएका कामदारलाई कोरियामा निमन्त्रणा गरी प्रेरणादायी भेला, कोरियन कम्पनीहरुसँग बैठक, कामदार र कम्पनीहरुको लागि मध्यस्थकर्ता कार्यक्रम गरिरहेको पनि एचआरडी कोरियाले जनाएको छ । 

(यसअघि टुरिष्ट गाइड भएकोमा हामीले सच्याएका हौं ।)

अन्तिम अपडेट: बैशाख ४, २०८१

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया