उहिले प्रचण्डकाे सुरक्षामा, अहिले जडीबुटी व्यवसायमा

 पुस ८, २०७५ आइतबार १६:२६:२२ | प्रकाश धौलाकोटी
unn.prixa.net

तेह्रथुम – परदेशमा धेरै कमाइ हुन्छ भन्ने सोचले जिल्लाका धेरै युवा बर्सेनि रोजगारीका लागि विदेश जानेक्रम बढ्दो छ ।

धेरै युवाहरु विदेश जान चाहन्छन्, तर थोरै युवाहरु देशमै केही उत्पादनशील क्षेत्रमा काम गरेर जीवनयापन गर्न खोज्छन् । त्यस्तै युवामध्ये एक हुनुहुन्छ, तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–६, का विनोद अधिकारी । उहाँ तत्कालीन नेकपा माओवादीको जनमुक्ति सेनाका कम्पनी कमाण्डर समेत हुनुहुन्थ्यो । 

तर द्वन्द्व समाप्त भएर विस्तृत शान्ति सम्झौता भएपछि उहाँको दैनिकी बदलियो । अहिले उहाँले टिना जडिबुटी बहुउदेश्यीय कृषि फर्म दर्ता गरेर जडीबुटीको व्यवसाय गर्दै आउनुभएको छ ।

२०७४ सालमा फर्म दर्ता गरी व्यवसायी बन्नुभएका अधिकारीले अहिले कृषि फर्ममा थुप्रै जातका जडिबुटीहरू लगाउनुभएको छ । उहाँको फर्ममा चिराइतो, पाखनवेद, नागबेली, ठूलो ओखती, लोक्ता, मझिटो इन्द्रेणी, लोठसल्ला, सतुवा, वन लसुन, अलैँचीलगायत पचासभन्दा बढी जातका जडिबुटीहरू पाइन्छन् । 

यसका साथै चियाको नर्सरी पनि गर्ने गरेको अधिकारीले बताउनुभयो । सुरुवातमा पाँच लाख ५० हजार रुपैयाँबाट थालेको जडिबुटी खेतीमा अहिलेसम्म २८ लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको उहाँको भनाइ छ ।

आफ्नो ५० रोपनी र भाडामा लिएको १५ रोपनी जग्गामा सञ्चालित फर्मबाट उहाँले वार्षिक १० लाख रुपैयाँ मुनाफा कमाउने लक्ष्य राखेको पनि बताउनुभयो । तर अहिले कमाइ अलि कम छ । उद्देश्य अनुसार लगानी र मेहनत गरिरहे पनि आम्दानी बढ्ने क्रममा मात्रै भएको उहाँले बताउनुभयो । 

अहिले उहाँले ३ लाख चियाका विरुवा उमार्नुभएको छ । जसबाट प्रतिविरुवा १० रुपैयाँले मात्रै बिक्री भए पनि ३० लाख रुपैयाँभन्दा बढी आम्दानी हुन्छ । 
यस्तै सतुवाको ६० हजार विरुवा पनि तयारी छन् । सतुवाका विरुवा प्रतिगोटा १५ रुपैयाँका दरले बिक्री हुन्छन् । जसबाट ९० हजार रुपैयाँ आम्दानी हुन्छ । यस्तै लौठ सल्ला, पाखनवेदको समेत ठूलो खेती र वेर्ना रहेका छन् । 

माओवादी द्धन्द्धकालमा उहाँले फस्ट डिभिजन विप्लव श्रीजन स्मृति ब्रिग्रेड, इलामको दानाबारीमा ०५८ सालदेखि दुई वर्ष बिताउनुभएको थियो । २०६३ देखि २०६४ सम्म दुई वर्ष हालको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सेक्युरिटी टिमको सदस्य समेत भएर काम गरेको उहाँ बताउनुहुन्छ । 

उहाँले २०६२-०६३ को जनआन्दोलनपछि विस्तृत शान्ति सम्झौता भएपछिको सेना समायोजनबाट आफू बाहिरिएको बताउनुभयो । 
सेना समायोजनमा नपरेपछि उहाँले साधारण जीवन नै रोज्नुभयो । अहिले पनि उहाँलाई राजनीतिमा धेरै चासो छैन । थोरै राजनीति र धेरै व्यवसायिक बन्ने योजना बनाएको उहाँ बताउनुहुन्छ । 

माओवादीबाट घर फर्किएपछि उहाँले धेरै कमाउनेभन्दा पनि थोरै तर आफ्नै देशमा कमाउने सोच बनाएको बताउनुभयो । त्यही सोचेर पाँचथर स्थायी घर भएका अधिकारी मेन्छ्यायेम गाउँपालिकामा बसाइ सर्नुभयो ।

त्यसपछि उत्पादनमूलक व्यवसाय संचालन गर्ने विचारले कृषि क्षेत्रमा लागेको उहाँ बताउनुहुन्छ । नेपालमा पनि काम गरे पैसा कमाउन सकिने भन्दै आफू यही देशमा केही उदाहरणीय काम गरेर देखाउने योजनामा रहेको उहाँको भनाइ छ । 

विनोदलाई जडीबुटी खेती र व्यवसायमा श्रीमती मथुराले सघाउनुहुन्छ । आवश्यक पर्दा अन्य कामदार पनि लगाउने गरिएको अधिकारीले बताउनुभयो । 

‘घर, परिवार तथा देशभन्दा टाढा रहेर जति नै पैसा कमाए पनि मनमा शान्ति मिल्दैन,’ अधिकारी भन्नुहुन्छ, ‘अझ म त पुरानो राज्य व्यवस्था परिवर्तनका लागि लडेँ, परिवर्तन पनि आयो, तर नेताहरू माथि पुगे पनि नेपाली जनताका लागि भने खु्शीका दिन आउन बाँकी नै छन् ।’ 

व्यवसाय थालेको छोटो समयमा राम्रो आर्थिक प्रगति गरेका अधिकारी जडीबुटी व्यवसायमा सन्तुष्ट हुनुहन्छ । बिहानदेखि साँझसम्म अधिकारी जडिबुटी रोपण, हेरचाह, पानी हाल्ने तथा गोडमेलमै व्यस्त रहनुहुन्छ । ‘पैसा कमाउन जागिरै खानुपर्छ, अनि विदेशै जानुपर्छ भन्ने सोच त्याग्नुपर्छ,’ उहाँ भन्नुहुन्छ ।

चिया नर्सरीका लागि मेन्छ्यायेम गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय विर्तामोडबाट २५ हजार रुपैयाँ प्राप्त गरेको अधिकारीले बताउनुभयो । 

व्यवसायलाई अझै बढाएर लैजाने र उत्पादित वस्तुहरूलाई नेपालका स्थानीय बजारका साथै छिमेकी राष्ट्र चीन र भारतसम्म पनि बिक्री गर्न लैजाने अधिकारीको योजना छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

प्रकाश धौलाकोटी

उज्यालोका तेह्रथुम सहकर्मी प्रकाश धौलाकोटी रेडियो तेह्रथुममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया