विश्वकप रुसमा, रमाइलो झापामा (फोटो फिचर)

 असार १, २०७५ शुक्रबार १७:१०:७ | सुश्मा राजवंशी

झापा – यतिबेला फुटबलको महामेला मानिने विश्वकपले संसारका हरेक नागरिकको ध्यान तानिरहेका बेला झापामा पनि यसको रौनक छाएको छ ।

 सडक माथि टागिएका झण्डाहरु ।

गाँउदेखि बजारसम्म कपडा पसलदेखि होटलसम्म विश्वकपको रौनकता छाएको देखिन्छ । बिहीबारदेखि सुरु भएको विश्वकपको झापाका नागरिकले पनि भव्य स्वागत गरेका छन् । झापाको काँकरभिट्टा बजार पुग्दा लाग्छ विश्कपका फ्यान यहीँ बढी छन् जस्तो लाग्छ ।

काँकरभिट्टाको बजारका गल्लीका पोलमा विश्वकपमा सहभागी विभिन्न मुलुकका झण्डा अड्काइएको छ भने सडकमाथि खुल्ला आकाशमा डोरीमा लगाइएका झण्डाहरु  विवाहको मण्डपलाई सिँगारे झैँ गरी आकर्षक बनाइएको छ ।

 

आफ्नो समर्थन रहेको देशको झण्डा देखाउँदै खेलप्रेमी 

विश्वकपले जर्सीको व्यापार पनि राम्रैसँग फष्टाएको छ । बजारका हरेक पसलमा अहिले विश्वकपमा सहभागी राष्ट्रहरुको खेलाडीको जर्सी झुण्ड्याइएको देखिन्छ । झापाको बिर्तामोड बजारमा रहेको दुर्गा भगवती इम्पेक्स होलसेलका सञ्चालक प्रेमकृष्ण श्रेष्ठका अनुसार उहाँको पसलबाट दैनिक एकदेखि डेढ लाख सम्मको जर्सी अन्य व्यापारीहरुले लाने गरेका छन् ।

उहाँका अनुसार अन्य खुद्रा पसलमा पनि दैनिक ४० देखि ६० हजार सम्म जर्सी बिक्ने गरेका छन् । जर्सी प्रतिगोटा कपडाको गुणस्तर हेरी ४ सय देखि १५ सय सम्म पर्ने गरेको छ । सबैभन्दा बढी अर्जेन्टिना र ब्राजिलको जर्सी धेरै बिक्ने गरेको व्यापारीहरुको भनाई छ ।

पसलमा जर्सी छान्दै ग्राहक ।

विश्वकपको जर्सी बेचेरै युवाहरुले सामाजिक सद्भावका काम पनि गरिरहेका छन् । झापा बुद्धशान्ति गाउँपालिकाका युवाहरुले विपन्न वर्गका विद्यार्थीहरुको सहयोगार्थ जर्सी स्टल राखेका छन् । जर्सी बेचेर आएको नाफाबाट विपन्न बर्गका विद्याथीहरुलाई सहयोग गर्ने तयारी उनीहरुले गरेका छन् ।

फुटबल प्रेमीहरुले विश्वकपको मज्जा लिन विभिन्न तयारी पनि गरेका छन् । झापाको अर्जुनधारा –१०, मा विश्वकप हेर्नकै लागि फुटबल पे्रमीहरुले खुल्ला चौरमा बाँसको प्याराफिट बनाएर प्रोजेक्टरबाट हेर्ने व्यवस्था मिलाएका छन् ।

विश्वकप फुटबलको रणसंग्राम हेर्न झापाका विभिन्न स्थानमा खुल्ला ठाउँमा प्रोजेक्टर राखेर ठूलो पर्दामा फुटबलको आनन्द लुट्ने व्यवस्था मिलाइएको छ ।

अर्जुनधारामा पाराफिटमा बसेर विश्वकप हेर्दै खेल प्रेमी

 

अन्तिम अपडेट: चैत १, २०८०

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया