बस दुर्घटना छानबिन गर्न समिति गठन

 पुस ८, २०७५ आइतबार १८:४९:१ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ – दाङमा शैक्षिक भ्रमणको बस दुर्घटनाका विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।

प्रदेश नम्बर–५, दाङका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर खत्रीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समिति सदस्यहरुमा प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक गणेश चन्द, प्रहरी नायव उपरीक्षक पुष्प मल्ल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदनबहादुर कुँवर रहनु भएको छ ।

समितिले दुर्घटनाको कारण पत्ता लगाई प्रदेश प्रहरी कार्यालयलाई सुझाव दिने समितिका सदस्य पुष्प मल्लले बताउनुभयो । यसअघि पनि दुई वटा सवारीसाधन दुर्घटना भएको उल्लेख गर्दै सडकको अवस्था र चालकको लापरबाहीले दुर्घटना भएकाले सोही ठाउँमा दुर्घटना न्यूनिकरणका लागि गर्नुपर्ने कामका बारेमा सुझाव दिइने उहाँले बताउनुभयो ।

राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर–३, राम्रीमा शुक्रबार कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी तथा शिक्षक चढेको नमस्ते राप्ती यातायात प्रालिको बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु र १४ जना घाइते भएका थिए ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया